नेभिगेसन मेनु

श्रीलङ्का टापुमा रोकिएन कटान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-22 13:49

Untitled-1

वराहक्षेत्र, भदौ ५ गते । सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेको छ । टापुमा कटान हुने क्रम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो ।

प्राधिकरण इटहरी वितरण केन्द्रले बुधबार १४ वटा बिजुलीको पोल, त्यसमा लगाइएको तार र ट्रान्समिटर सारेको वितरण केन्द्रका कर्मचारी (विद्युत् इलेक्ट्रिसियन) खुजराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार सप्तकोशी नदीभित्र रहेको तीन वटा हाइटेन्सन लाइनका टावर जोखिममा रहेको छ । एउटा हाइटेन्सन टावर पानीले कटान गरी लडाइसकेको र अरू दुई वटा पोल गाडिएको स्थानमा कटान गरेको छ । कटानमा परेका टावरहरू ढल्केबर, भोक्राहा विद्युत् सबस्टेसनमा ल्याउने बिजुलीका टावरहरू हुन् । 

पूर्वी पहाडी जिल्लामा केही दिनअघि लगातार परेको पानीका कारण कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने टापुमा कटान गर्ने व्रmम रोकिएको छैन । नदीमा पानीको बहाव घटे पनि कटान भने जारी छ । कोशीमा पानी घटेसँगै कटानले उग्र रूप लिएको स्थानीय बासिन्दा अनिल चन्द्रवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशीको पानी घट्दा कटान बढी हुन्छ । पानीको रेत कम पानीमा हुने हुँदा कटान बढी हुने गरेको छ । गरैयाको अजुवा टोलको अगाडि कोशी नदीले डेढ किलोमिटर कटान गरिसकेको छ ।” 

चार दशकदेखि बिजुलीको पहुँचभन्दा टाढा रहेका टापुवासीले दुई वर्षदेखि बिजुली प्रयोग गर्दै आएका थिए । पूर्वअर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको पालामा बिजुली पुगेको थियो । टापुमा बसोबास गर्दै आएका नकुल चन्द्रवंशी भन्नुहुन्छ, “टापुवासीलाई यो वर्षामा जहिल्यै त्रास भइरहने भयो । हरेक वर्ष वर्षाको चार महिना कहिले कट्छ झैँ हुन्छ ।”   

कटान भएसँगै श्रीलङ्का टापु क्षेत्रका दर्जनभन्दा बढी घर जोखिममा पर्दै गएको स्थानीय सन्तोष मण्डलले बताउनुभयो । श्रीलङ्का टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । कोशीले पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापु क्षेत्रका सात सय घरपरिवार बाढीको जोखिममा छन् ।

वराहक्षेत्र नगरपालिका–६ र ९ एवं बेलका–२ र ३ टापुमा पर्छ । कुल १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टापुमा सात हजारभन्दा बढीको सङ्ख्यामा बसोबास रहेको वराहक्षेत्र नगरपालिका–६ का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर