बितेको डेढ दशकमा अपेक्षाकृत भौतिक विकास नभए पनि विद्युत्, सडक, सिँचाइजस्ता क्षेत्रमा सन्तोषजनक प्रगति छ । यसबीचमा ठूला विद्युत् आयोजना, अन्तरदेशीय प्रसारण लाइन, उत्तर र दक्षिणमा रहेका दुई छिमेकी देश जोड्ने लोकमार्ग निर्माणजस्ता विषयले नागरिकलाई केही आस गर्न सक्ने ठाउँ दिएको छ । निर्माण सम्पन्न भएका र बन्दै गरेका केही ठूला आयोजना :
पेट्रोलियम पाइपलाइन
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘मोतीहारी–अमलेखगन्ज पाइपलाइन’ साढे तीन वर्षअघि नै पूरा भइसकेको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर बिछ्याइएको पाइपलाइन २४ भदौ ०७६ देखि सञ्चालनमा आएको हो । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको कामले पनि तीव्रता पाइरहेको छ ।
चोभार सुक्खा बन्दरगाह
काठमाडौंको चोभार सुक्खा बन्दरगाह ०७८ देखि सञ्चालनमा आएको छ । नेपाल र विश्व बैंकबीच जेठ ०७० मा भएको सम्झौताअनुसार ०७५ मा निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा तीन वर्षपछि असार ०७८ मा निर्माण सकिएको हो ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सञ्चालनमा आएको ७२ वर्षपछि जेठ ०७९ मा दोस्रो विमानस्थलका रूपमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पुस ०७९ मा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।
वीरगन्जमा नेपालकै पहिलो आइसिपी
यसबीचमा नेपालकै पहिलो वीरगन्ज एकीकृत भन्सार जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ । सन् २०१० मा निर्माण सुरु गरिएको यो आयोजना एक अर्ब ४० करोड रुपैयाँ लागतमा सन् २०१८ मा सञ्चालनमा आएको छ ।
विराटनगर आइसिपी
विराटनगरको एकीकृत जाँचचौकी (आइसिपी) पनि सञ्चालनमा आएको छ । ०७६ माघदेखि उक्त आइसिपी सञ्चालनमा आएको हो । भारतको सहयोगमा बनेको आइसिपी सञ्चालनमा आएपछि विराटनगरबाट हुने वैदेशिक व्यापार सहज हुँदै आएको छ ।
जनकपुर–जयनगर रेल सेवा
नेपाल–भारत सीमापार रेलमार्ग तथा रेल सेवाका रूपमा जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा आएको छ । १९ चैत ०७८ मा रेल सेवाको उद्घाटन भएको हो ।
सोलु दूधकोसी जलविद्युत्
निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना ०७४ सालमा निर्माण सुरु भएर २७ माघ ०७९ देखि सञ्चालनमा आइसकेको छ । कुल क्षमता ८६ मेगावाट रहेको यो आयोजना साहस ऊर्जा कम्पनीले १४ अर्ब लागतमा स्वदेशी लगानीमा बनाएको हो ।
चार सय केभीको ढल्केबर सबस्टेसन
यस अवधिमा देशकै ठूलो र स्वचालित ढल्केबर विद्युत् सबस्टेसन पनि बनेको छ । चार सय केभी क्षमता भएको उक्त सबस्टेसन माघ ०७७ देखि सञ्चालनमा छ । यसलाई काठमाडौंको स्युचाटारबाटै कन्ट्रोल गर्न सकिन्छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन
यस अवधिमा नेपाल–भारत पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन चार सय केभी (ढल्केबर–मुजफ्फरपुर) पनि बनेको छ । फागुन ०७२ मा उद्घाटन गरिएको उक्त प्रसारण लाइनको क्षमता चार सय केभी डबल सर्किट रहेको छ । १२ सय मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिने यही प्रसारण लाइनमार्फत नेपाल–भारतबीच विद्युत् व्यापार भइरहेको छ ।
नौ सय मेगावाटको अरुण तेस्रो
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छ । ०७५ सालमा एक खर्ब ४४ अर्ब अनुमानित लागतमा निर्माण सुरु गरिएको निर्यातमा आधारित उक्त आयोजनाबाट नेपालले नि:शुल्क २१.०९ प्रतिशत बिजुली पाउनेछ । ०८१ सालमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको यो आयोजनाबाट नेपालले एक खर्ब ५० अर्ब रुपैयाँ रोयल्टी र ७७ अर्ब रुपैयाँ आयकर पाउनेछ । कम्पनीले आयोजना सञ्चालनमा ल्याएको २५ वर्षपछि नेपाल सरकारलाई नि:शुल्क हस्तान्तरण गर्नुपर्नेछ ।
मध्यपहाडी लोकमार्ग
राष्ट्रिय गौरवको आयोजनाका रूपमा मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । पूर्वदेखि पश्चिमसम्मका अधिकांश पहाडी जिल्लाहरूलाई जोड्ने यो आयोजना १,८७९ किलोमिटर लम्बाइको छ । करिब १३ सय किलोमिटर कालोपत्रे भइसकेको यो आयोजना आव ०६४/६५ देखि निर्माण सुरु भएको थियो । कुल ८४ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना आव ०८४/८५ भित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
हुलाकी राजमार्ग
तराईमा हुलाकी राजमार्गका रूपमा अर्काे पूर्व–पश्चिम राजमार्गसमेत बनेको छ । तराईका भित्री बस्तीलाई छुँदै अघि बढ्ने उद्देश्यसहित सुरु गरिएको हुलाकी राजमार्गको निर्माण आव ०६४/६५ मा सुरु भएको हो । आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ छ ।
कालीगण्डकी करिडोर
यो अवधिमा कालीगण्डकी करिडोरको निर्माण पनि अन्तिम चरणमा पुर्याइएको छ । यसलाई गैँडाकोट–राम्दी–मालढुंगा र बेनी–जोमसोम–कोरला गरेर दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । हालसम्म दुवै खण्डको ट्र्याक खुलिसकेको छ र अधिकांश ठाउँमा कालोपत्रे पनि भइसकेको छ । यो आयोजनाको निर्माण आव ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य छ ।
कर्णाली करिडोर (हिल्सा–सिमिकोट)
आव ०६९/७० देखि निर्माण सुरु गरिएको कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमिकोट खण्ड ६ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमानसहित निर्माण भइरहेको छ । आयोजना ०८२/८३ सम्ममा सम्पन्न गर्नुपर्नेछ ।
कोसी करिडोर
कुल एक सय ६२ किलोमिटर लामो हुने कोसी करिडोरको हालसम्म एक सय ५० किमि ट्र्याक खुलिसकेको छ । त्यस्तै, ५५ किमि ग्राभेल र आठवटा पुल निर्माण सम्पन्न भएका तथा दुईवटा पुल निर्माण चरणमा रहेका छन् । आव ०६५/६६ मा निर्माण सुरु गरिएको यो आयोजना आव ०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
चक्रपथ सडक विस्तार
काठमाडौं उपत्यका भित्री चक्रपथको कोटेश्वर–एकान्तकुना–कलंकी खण्डको ११.६ किलोमिटर सडक पनि विस्तार ०७५ सालमै सम्पन्न गरिएको थियो । सोहीअन्तर्गत कलंकी चोकमा अन्डरपास सडकसमेत बनाइएको छ । अहिले चिनियाँ अनुदानमै चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धरा)को ८.४ किमि सडक विस्तार गरिँदै छ ।
बिपी राजमार्ग
काठमाडौंलाई पूर्वी नेपाल र मधेसलाई छोटो दूरीमा जोड्ने बिपी राजमार्ग पनि तयार भएको छ । जापान सरकारको सहयोगमा बनेको उक्त सडक ०७२ मा नेपाललाई हस्तान्तरण गरेको थियो । एक सय ६० किलोमिटर लम्बाइको यो सडक ०५२ सालदेखि निर्माण सुरु भएको थियो ।
नागढुंगा सुरुङ
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् नागढुंगा टनेलको पनि निर्माण सुरु भएको छ । केही महिनामै ब्रेक थ्रु हुने योजनामा रहेको यो सुरुङमार्ग विशेष गरी पश्चिमतर्फबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई लक्षित गरेर बनाउन लागिएको हो । नौबिसेको सिस्ने खोलाबाट सुरु हुने यो सुरुङ काठमाडौंको सतुंगलनजिकको बस्नेत छापमा जोडिनेछ । यसमा मेन र सहायक गरेर दुई सुरुङ हुनेछन् । मुख्य सुरुङमार्गको कुल लम्बाइ ६.६८ किमि रहेको छ । त्यस्तै, सहायक सुरुङमार्गको लम्बाइ २.५५ किमि छ । जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले डिसेम्बर ०२२ देखि निर्माण सुरु गरेको यसको निर्माण जुलाई ०२४ भित्र नै सम्पन्न गर्ने योजना रहेको छ ।
कोठियाघाट पुल
देशकै सबैभन्दा लामो मोटरेबल पुलका रूपमा बर्दियाको कोठियाघाट पुल निर्माण भएको छ । उक्त पुल कर्णालीको भँगालो गेरुवा नदीमा बनेको हो । कात्तिक ०६७ मा निर्माण सुरु भई असोज ०७१ मा निर्माण सम्पन्न भएको यो पुलको लम्बाइ एक किलोमिटर १५ मिटर रहेको छ ।
महाकालीमा पक्की पुल
कञ्चनपुरको महाकली नदीमा चार लेनको पक्की मोटरेबल पुल पनि बनेको छ । ०७४ बाट सुरु गरिएको उक्त आयोजनाको निर्माण भदौ ०७९ मा सम्पन्न भएको हो । यो पुल बनेपछि कञ्चनपुरको दोधारा–चाँदनीमा बन्न लागेको सुक्खा बन्दरगाहका साथै त्यहाँका बासिन्दालाई महेन्द्रनगर आउन सजिलो भएको छ ।
मेलम्ची खानेपानी
मेलम्ची खानेपानी आयोजना पनि सञ्चालनमा आएको छ । काठमाडौंमा खानेपानी आपूर्तिका लागि यो आयोजना ०६६ सालमा निर्माण सुरु गरी ०७७ मा सञ्चालनमा आएको हो । यो आयोजना ३१ करोड २० लाख अमेरिकी डलरमा निर्माण भएको हो । यद्यपि, बाढीपहिरोलगायतका प्राविधिक समस्याका कारण यो आयोजना सञ्चालनमा चुनौती भइरहेको छ ।
गोदावरी सम्मेलन केन्द्र
यसबीचमा ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि तयार भएको छ । गोदावरी सनराइज सम्मेलन केन्द्र वैशाख ०७८ देखि सञ्चालनमा आएको हो । सहरी विकास मन्त्रालयले कात्तिक ०७६ मा उक्त सम्मेलन केन्द्रको निर्माणमा सुरु गरेको थियो । यसमा ८१ करोड रुपैयाँ खर्च भएको थियो । यस सम्मेलनमा तीन हजार सिट रहेको छ । यसको निर्माण भएपछि अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न सहज हुने देखिन्छ ।
सिँचाइ क्षेत्रमा बनेका आयोजना
सिँचाइतर्फ पनि यसबीचमा थुप्रै प्रगति भएका छन् । सिँचाइमा सहयोग पुग्ने गरी देशका विभिन्न ठाउँमा सानादेखि ठूला सिँचाइ आयोजना बनेका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजना, बागमती सिँचाइ आयोजना, पालुङटार–कुन्डुटार सिँचाइ आयोजना यसका उदाहरण हुन् । साथै, यसबीचमा केही ठूला सिँचाइ आयोजनाको निर्माण पनि अघि बढेको छ । त्यसमा ६ वटा राष्ट्रिय गौरवका आयोजना समावेश छन् । यसबीचमा सिक्टा, महाकाली–बबई, भेरी–बबई, सुनकोसी–मरिन डाइभर्सन र रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवमा राखेर अघि बढाइएको छ ।
सिक्टा सिँचाइ आयोजना
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पनि आंशिक रूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि, यो आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छैन । आव ०६२/६३ देखि निर्माण सुरु गरिएको यो आयोजना आव ०८९/९० सम्ममा निर्माण सम्पन्न गर्ने गरी सिँचाइ विभागले प्रस्ताव अघि बढाएको छ । बाँकेको राप्ती नदीमा बाँध निर्माण गरी राप्तीपश्चिम दायाँतर्फ ३३ हजार सात सय ६६ हेक्टर र राप्तीपूर्व बायाँतर्फ नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य आयोजनाको छ । यसमा अनुमानित लागत २७ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
भेरी–बबईको सुरुङ निर्माण
भेरी–बबई डाइभर्सन सिँचाइ आयोजनाअन्तर्गतको सुरुङ तयार भएको छ । सिँचाइ आयोजनामा नदी डाइभर्सनका लागि नेपालमा बनेको यो पहिलो सुरुङ हो । भेरीको पानी बबईमा खसाल्न बनाइएको यो सुरुङको लम्बाइ १२.२१ किलोमिटर छ । २० कात्तिक ०७४ देखि थालिएको सुरुङ निर्माणका लागि नेपालमै पहिलोपटक अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरिएको यो आयोजनामा ०७७ भदौमा सुरुङको काम सम्पन्न भएको थियो । १० अर्ब ५६ करोड ९७ लाखमा निर्माण भएको सुरुङबाट भेरीको पानी प्रतिसेकेन्ड ४० घनमिटरका दरले बबई नदीमा खसाल्न सकिन्छ । यद्यपि, आयोजनाको अरू काम चुस्त गतिमा अघि बढेको छैन । सुर्खेत, बर्दिया र बाँके जिल्लाको ऊर्जा, सिँचाइ र जलाधार संरक्षणमा योगदान पुर्याउने उद्देश्यसहित आव ०६७/६८ मा यसको निर्माण अघि बढाइएको थियो ।
बबई सिँचाइ आयोजना
यस अवधिमा राष्ट्रिय गौरवको बबई सिँचाइको पनि प्रगति राम्रो देखिएको छ । ०४५/४६ मा नै यसको निर्माण सुरु भएको थियो । तर, लामो समयसम्म यसको निर्माणले गति लिएको थियो । तर, अहिले यसको भौतिक प्रगति ६७.५० प्रतिशत हाराहारी छ । बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित अघि बढाएको यसको निर्माण ०८२/८३ भित्र सक्ने लक्ष्य छ । यसका लागि १८ अर्ब ९६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
रानीजमरा कुलरिया सिँचाइ आयोजना
यस अवधिमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको प्रगति पनि राम्रो देखिएको छ । कैलाली जिल्लाको ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सेवा उपलब्ध गराउने उद्देश्यसहित आव ०६७/६८ मा यस आयोजनाको निर्माण अघि बढाइएको थियो ।
अपर तामाकोसी जलविद्युत्
चार सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना सञ्चालनमा रहेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश यो आयोजना ०६७ सालमा निर्माण सुरु भए पनि असार ०७८ देखि मात्र सञ्चालनमा आएको हो । ८४ अर्ब लागतको यो आयोजना पूर्णतः स्वदेशी लगानीमा बनेको हो ।