नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारमा १३ प्रकारका जोखिम औँल्याएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । नेपालमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाए पनि हालसम्म यसको जोखिमबारे अध्ययन भएको थिएन । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले पहिलोपटक क्रिप्टोकरेन्सीको जोखिम विश्लेषण गर्दै प्रतिबन्ध कायमै राख्नुपर्ने निष्कर्ष निकालेको हो ।
कानुनमै व्यवस्था गर्ने तयारी
क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउन कानुनमै व्यवस्था गर्न पूर्वतयारीस्वरूप राष्ट्र बैंकले जोखिम विश्लेषण गरेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन र विदेशमा लगानी प्रतिबन्ध लगाउने ऐनलाई संशोधन गरेर क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउने राष्ट्र बैंकको तयारी छ । उनले भने, ‘संसारभर कतै पनि क्रिप्टोकरेन्सीको ब्याकिङ छैन । मूल्यमा तीव्र उतारचढाव आउँदा कसले जिम्मा लिने भन्ने नै यकिन छैन । यसलाई खुला राख्नु अन्तर्राष्ट्रिय मान्यता र विदेशी विनिमयसम्बन्धी कानुनविपरीत हुने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।’ यसअघि पटक–पटक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी अवैध रहेको राष्ट्र बैंकले जानकारी गराउँदै आएको र अब कानुनमै व्यवस्था गर्न आवश्यक भएको उनको भनाइ छ ।
आर्थिक असन्तुलनको जोखिम
क्रिप्टोकरेन्सी कारोबारबाट समग्र आर्थिक असन्तुलन बढ्ने जोखिम रहेको केन्द्रीय बैंकको विश्लेषण छ । क्रिप्टोकरेन्सीको कारोबारमा वित्तीय मध्यस्थकर्ता नहुने कारण यस्तो कारोबार प्रयोगकर्ता–लगानीकर्ताबीचमा मात्र केन्द्रित हुन्छ । साथै, क्रिप्टोकरेन्सीको लगानी–स्वामित्वसमेत सट्टेबाजी प्रकृतिको भएकाले यसले लगानीमा अत्यधिक जोखिम रहने राष्ट्र बैंकले जनाएको छ । यसले क्रिप्टोकरेन्सी कारोबारबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम रहने केन्द्रीय बैंकको ठहर छ ।
कानुनविपरीत भएकाले नियन्त्रण आवश्यक : बमबहादुर मिश्र, डेपुटी गभर्नर, राष्ट्र बैंक
विदेशी विनिमय (नियमित गर्ने) ऐन र विदेशमा लगानी प्रतिबन्ध लगाउने ऐनलाई संशोधन गरेर क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउने राष्ट्र बैंकको तयारी छ । संसारभर कतै पनि क्रिप्टोकरेन्सीको ब्याकिङ छैन । मूल्यमा तीव्र उतारचढाव आउँदा कसले जिम्मा लिने भन्ने नै यकिन छैन । यसलाई खुला राख्नु अन्तर्राष्ट्रिय मान्यता र विदेशी विनिमयसम्बन्धी कानुनविपरीत हुने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।
वित्तीय स्थायित्वको जोखिम
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै प्रतिकूल असर पर्न सक्ने केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वका तीनवटा प्रमुख चुनौतीमध्ये एक भनेर उल्लेख गरिएको छ ।
मौद्रिक नीति कार्यान्वयनमा चुनौती
क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा अर्थतन्त्रमा मुद्रा विस्थापनको जोखिमसमेत रहने केन्द्रीय बैंकको आकलन छ । मुद्राप्रदाय तथा ब्याजदरमाथि केन्द्रीय बैंकको नियन्त्रण गुम्न सक्ने जोखिम रहने अध्ययनको निष्कर्ष छ । क्रिप्टोकरेन्सीको प्रयोग मुद्राप्रदायमा गणना हुँदैन । क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकाले मौद्रिक नीतिको संयन्त्रलगायतमा नकारात्मक असर पर्न सक्ने विश्लेषण केन्द्रीय बैंकको छ ।
विदेशी विनिमय सञ्चितिसम्बन्धी जोखिम
हाल नेपालले विदेशबाट प्राप्त गर्ने आम्दानी विदेशी मुद्रामा प्राप्त भई विदेशी विनिमय सञ्चितिमा गणना हुने गरेको छ । क्रिप्टोकरेन्सीलाई सञ्चित मुद्राका रूपमा स्वीकार नगरिएको हुँदा सोको प्रचलनबाट विदेशी विनिमय सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्ने उल्लेख छ । नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपालबाहिर बस्ने नेपालीलाई विभिन्न प्रलोभन–प्रभावमा पारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो लगानीले देशको अर्थतन्त्रमा नै समस्या निम्तिन सक्ने जोखिम रहने केन्द्रीय बैंकको निष्कर्ष छ । क्रिप्टोकरेन्सीको कारोबार–लगानीबाट पुँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट आउने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकाले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने उल्लेख छ । जोखिमलाई विश्लेषण गर्दै केन्द्रीय बैंकले यस्तो कारोबारमाथि प्रतिबन्ध कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
सम्पत्ति शुद्धीकरणको जोखिम
क्रिप्टोकरेन्सी कारोबार गर्नेको पहिचान गोप्य रहने भएकाले ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण तथा आतंककवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिने विश्लेषण प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ मा अमेरिकी डलर १४ अर्बबराबरको अपराध क्रिप्टोकरेन्सीमार्फत भएको तथ्यांक ६ जनवरी २०२२ को वाल स्ट्रिट जर्नलमा प्रकाशित छ । क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिम बढ्ने राष्ट्र बैंकको निष्कर्ष छ ।
लगानीको असुरक्षा हुने जोखिम
एफटिएक्सजस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो विनिमय प्रणाली टाट पल्टनुले समेत क्रिप्टोकरेन्सीमा हुने लगानी अत्यधिक जोखिमपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, पछिल्लो समयमा भएको टेर्रायुएसडी र लुनाजस्ता क्रिप्टोकरेन्सीको पतनले समेत लगानी जोखिमपूर्ण हुने देखाउँछ ।
ठगी तथा कर छलीसम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने केन्द्रीय बैंकको विश्लेषण छ । फाइनान्सियल स्ट्याबिलिटी इन्स्टिच्युटको अप्रिल २०२१ को प्रतिवेदनअनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा क्रिमिनल्ली एसोसिएटेड बिटक्वाइन एड्रेसबाट मात्र अमेरिकी डलर ३.५ अर्बको कारोबार भएको देखाएको छ ।
विदेशी मुद्रामाथिको नियन्त्रण गुम्ने
हाल नेपालमा विदेशी सार्वभौम मुलुकले जारी गरेका तथा अन्य मुलुकमा सर्वस्वीकार्य रहेका विदेशी मुद्रा (जस्तै : अमेरिकी डलर, युरोपियन युरो, भारतीय रुपैयाँ आदि)माथिको पहुँचसमेत नियन्त्रित रहेको छ । विदेशी सरकारले जारी गरेको नगद विदेशी मुद्रासमेत नेपाली नागरिकले तोकिएको सीमासम्म मात्र राख्न सक्ने व्यवस्था छ । भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला दरका नोटहरू नेपालमा प्रतिबन्धित छन् । तसर्थ, हाल नेपालले विदेशी विनिमयउपर नियन्त्रित व्यवस्था अवलम्बन गरेको परिप्रेक्ष्यमा क्रिप्टोकरेन्सी कारोबारबाट विदेशी विनिमयमाथिको नियन्त्रण (नियमन) गुम्न सक्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ ।
विकासशील राष्ट्रलाई हानिकारक
क्रिप्टोकरेन्सीबाट निम्तिने जोखिमलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय मुद्राकोषले एल स्यालभ्याडरलाई क्रिप्टोकरेन्सीको कानुनी ग्राह्यता खारेज गर्न २५ जनवरी २०२२ मा सुझाव दिएको छ । साथै, संयुक्त राष्ट्रसंघको युएनसिटिएडीले विकासशील राष्ट्रहरूलाई हानिकारक हुने उल्लेख छ ।
वित्तीय मध्यस्थता नहुनेसम्बन्धी जोखिम
क्रिप्टोकरेन्सीले विद्यमान वित्तीय मध्यस्थताविना भुक्तानीसम्बन्धी कार्य गर्ने हुँदा वित्तीय संस्थाले गर्ने निक्षेप परिचालन तथा साख सिर्जनालगायतका कार्यमा समेत नकारात्मक असर पर्ने उल्लेख छ । यसले वित्तीय संस्थाको औचित्यमाथि प्रश्न खडा हुने प्रतिवेदनमा भनिएको छ ।
मुद्रा निष्कासन गर्ने कानुनलाई चुनौती
क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट जारी भएको हुँदा सार्वभौम राज्यबाट निष्कासन हुने गरेको मुद्रासम्बन्धी व्यवस्थामा चुनौती खडा गर्ने उल्लेख प्रतिवेदनमा उल्लेख छ । क्रिप्टोकरेन्सीको प्रचलनले अर्थतन्त्रमा स्वतः एकभन्दा बढी मुद्रा प्रणाली प्रचलनमा रहने भनिएको छ । नेपाल राष्ट्र बैंक ऐनले नेपालभित्र मुद्रा निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई एकाधिकार दिएको छ । नेपालमा क्रिप्टोकरेन्सी जारी हुँदा ऐनको उक्त व्यवस्थाको पालना नहुने जोखिम छ ।
विदेशमा लगानी प्रतिबन्ध कानुनविपरीत
विदेशी विनिमय (नियमित गर्ने) ऐन र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । नेपालले पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था अङ्गीकार गरेको परिप्रेक्ष्यमा क्रिप्टोकरेन्सीको प्रयोगबाट त्यस्तो पुँजीगत कारोबारमाथिको नियन्त्रण गुम्न जाने जोखिम रहेको उल्लेख छ ।
ग्राहक संरक्षणसम्बन्धी जोखिम
केन्द्रीय बैंकका अनुसार क्रिप्टोकरेन्सीको कारोबारबाट ग्राहक संरक्षणमा पनि असर गर्ने देखिन्छ । क्रिप्टोकरेन्सीबाट नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरू असुरक्षित हुने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।