नेभिगेसन मेनु

चुनावी एजेन्डा मात्रै बन्यो पुल
सम्पादक:南亚网络电视
समय:2023-04-18 16:18

Untitled-1

झन्डै एक दशकयता ठूला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरियाबक्राहा खोलाको पुल २०७९ को चुनाव सम्पन्न भएको वर्ष दिन पुग्नै लाग्दा पनि निर्माण सम्पन्न भएको छैन। 

संविधान सभा चुनावको बेलादेखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ। तत्कालीन मोरङ–२ बाट संविधान सभा सदस्य निर्वाचित चण्डीप्रसाद राईले निर्वाचन क्षेत्र विकास कोषको बजेटमार्फत पुल निर्माण सुरु भएको थियो। २०७२ सालमा निर्माण सुरु भएको पुल ८ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।

मोरङको सुनवर्षी–१ को केचना र जोगीधाप जोड्ने यो पुल बन्न नसक्दा त्यस क्षेत्रका किसानले सबैभन्दा धेरै सास्ती बेहोर्नु परेको छ। खोला वारिपारि जग्गा हुने किसानले खेतसम्म ट्याक्टर लैजान ल्याउन आठ किलोमिटर बाटो घुम्नुपर्छ। स्थानीय टीकाराम बस्नेतले भन्नुभयो, “चालिस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बन्ने भएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका थियौँ तर आठ वर्ष भयो हाम्रो खुसी हराएको।” 

उहाँले पुल नबन्दा ठूलो सास्ती बेहोर्नु परिरहेको बताउनुभयो। बस्नेतले भन्नुभयो, “केही दिनअघि पुल निर्माणका लागि कामदार आएका थिए। पुलको भत्किएको भाग टालटुल गरेर कामदार गए। १० दिनपछि आउने भनेका थिए १३ दिन भयो। कोही आएका छैनन्।” 

सुनवर्षी–१ का भक्तबहादुर बस्नेतले भन्नुभयो, “हरेक चुनावमा नेताहरू पुल बनाउने प्रतिबद्धता व्यक्त गर्छन्। यस वर्ष पनि पुल बनाइहाल्ने भने तर पुलका कामदार दुई/चार दिन काम गर्छन् र सम्पर्कविहीन हुन्छन्।” तीन करोड ८५ लाख रुपियाँमा नीलगिरि कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको पुल ठेकेदारको लापरबाहीले नबनेको स्थानीयको भनाइ छ। टीकाराम बस्नेतले भन्नुभयो, “ठेकेदारले नेताहरूले भनेको पनि मानेका छैनन्। हाम्रै अगाडि धेरै पटक नेताहरूले फोन गर्नुभयो तर ठेकेदारले टेरेका छैनन्।” 

मोरङ २(ख) का सांसद लीलाबल्लभ अधिकारीले भन्नुभयो, “हामीले पुल निर्माणका लागि बारम्बार ठेकेदारलाई दबाब दियौँ। डेलिगेसन गयौँ तर हामीलाई पनि ठेकेदारले टेरेको छैन।” आफूले सदनमा समेत कुरा उठाएको बताउँदै सरकार, निर्माण कम्पनी र नियामक निकाय जिम्मेवार र जवाफदेही नभएकाले पुल निर्माण हुन नसकेको उहाँको भनाइ छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर