
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । साउदी अरबको राजधानी रियादस्थित एक विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। अमेरिकाको सैन्य सहयोग र अत्याधुनिक हतियारको ठूलो भण्डार रहेको साउदी अरबको राजधानीमै भएको यस घटनाले देशको हवाई सुरक्षा क्षमतामाथि प्रश्न उठाएको छ।
साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले पूर्वी साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलनजिक पनि शनिबार एक क्षेप्यास्त्र खसेको जनाएको छ। गठबन्धनले रियादमा भएको आक्रमणका लागि यमनका हूती विद्रोहीलाई जिम्मेवार ठहर गर्दै घटनालाई ‘युद्ध अपराध’ भनेको छ। गठबन्धनले आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएको छ।
पछिल्ला केही सातादेखि हूती विद्रोहीले साउदी अरबका हवाई अड्डा तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरिरहेको विवरण सार्वजनिक भएका छन्। केही दिनअघि पनि हूती विद्रोहीले यस्तै प्रकृतिका आक्रमण गरेको दाबी गरेका थिए।
साउदी अरब अमेरिकाको प्रमुख सैन्य साझेदार हो। उसले लडाकु विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अन्य अत्याधुनिक सैन्य उपकरणमा ठूलो लगानी गरेको छ। तर, ठूलो सैन्य शक्ति र महँगो हतियार हुनु मात्रै हरेक आक्रमण रोक्न पर्याप्त नहुने देखिएको छ।
हूथी विद्रोहीले तुलनात्मक रूपमा कम लागतका ड्रोन तथा क्षेप्यास्त्र प्रयोग गरेर साउदी अरबको सुरक्षा प्रणालीलाई चुनौती दिँदै आएका छन्। सस्ता हतियारबाट गरिने आक्रमण रोक्न महँगा प्रतिरक्षा क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। एकैपटक धेरै दिशाबाट आक्रमण भएमा खतरा पहिचान गर्ने र प्रतिकार गर्ने प्रणालीमाथि थप दबाब पर्छ।
त्यसैले साउदी अरबको चुनौती हतियारको संख्या मात्रै होइन, बदलिँदो युद्ध रणनीतिअनुसार आफ्नो हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनु पनि हो।
अमेरिकी सञ्चारमाध्यम सीएनएनको विश्लेषणअनुसार, यमनमा इरानसमर्थित हूती विद्रोहीको बढ्दो प्रभाव र साउदी अरबमाथिका आक्रमणले रियादलाई जवाफी कारबाहीका सीमित विकल्पबीच निर्णय गर्नुपर्ने अवस्थामा पुर्याएको छ।
यमन मामिलाका विशेषज्ञ तथा वासिङ्टनस्थित जोखिम परामर्शदाता मोहम्मद अल(बाशाले सीएनएनसँग कुरा गर्दै साउदी अरबले ठूलो स्तरको जवाफी कारबाही गर्न सक्ने सम्भावना बढ्दै गएको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


















