नेभिगेसन मेनु

फिस्टुलाका बिरामी उपचारबाहिर
सम्पादक:南亚网络电视
समय:2025-05-30 12:04


fistula upachar

एस् ए टी भी १६ जेष्ठ, काठमाडौँः महिलामा हुने पिसाब चुहिने रोग प्रसव फिस्टुलाका धेरै जसो बिरामी उपचारको पहुँचबाहिर छन् । यो रोगको उपचार हुन्छ र भए पनि उपचार कहाँ हुन्छ र कति खर्च लाग्छ भन्ने जानकारी नहुँदा तथा समाजमा हुने हेयको भावले गर्दा उनीहरू उपचार पहुँचबाहिर रहेका हुन् । 

नेपालमा यस रोगका बिरामी करिब तीन हजार ६०० जना छन् तर उपचारमा आउनेको सङ्ख्या १५० देखि १६० जना मात्र रहेको फिस्टुला उपचार केन्द्रका चिकित्सक डा. सुवेक्षा देवा श्रेष्ठले बताउनुभयो । सुर्खेतस्थित फिस्टुला उपचार केन्द्रका अनुसार धेरैजसो फिस्टुलाका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । चिकित्सक श्रेष्ठले नेपालमा बिरामीको सङ्ख्या हजारमा रहेको तर उपचारमा आउनेको सङ्ख्या सयको अनुपातमा रहेको बताउनुभयो । 

फिस्टुला बिरामीको उपचार पाटन अस्पताल काठमाडौँ र सुर्खेतस्थित प्रदेश अस्पतालको फिस्टुला उपचार केन्द्रमा मात्रै हुने गर्छन् । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतको सहकार्यमा सुर्खेतमा फिस्टुला उपचार केन्द्र सञ्चालनमा छ । काठमाडौँमा वार्षिक १०० जनाको र सुर्खेतमा ५० देखि ६० जनाको उपचार हुने गरेको भन्दै उहाँले अझै पनि धेरैभन्दा धेरै यस रोगका बिरामी उपचारमा आउनै नसकेको बताउनुभयो । यस रोगका बिरामी निको नहुन्जेलसम्म उपचारलगायत सम्पूर्ण खर्च र एक जना कुरुवालाई खर्च निःशुल्क हुने गर्छन् । तर पनि उपचारमा आउन नसक्दा धेरै बिरामी रोग पालेर बस्न बाध्य रहेको उहाँले जनाउनुभयो । 

बालविवाह छिट्टै सुत्केरी हुँदा, गरिबी तथा कुपोषण, हानिकारक प्रचलनलगायतका कारणले प्रसव फिस्टुला हुने गर्छ । सुर्खेतस्थित फिस्टुला उपचार केन्द्रमा सन् २००९ देखि हालसम्म ५३० जनाको पहिचान भएको र त्यसमध्ये ४७७ जनाले उपचार पाएर निको भएको डा. श्रेष्ठले बताउनुभयो । गाउँबस्तीमा प्रसव फिस्टुलाका बिरामी धेरै रहेको, उपचार हुनेबारे जानकारीसमेत नभएको हुँदा गाउँबस्तीमा सचेतना जगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

यस्तै प्रदेश अस्पतालका निमित्त निर्देशक डा. गणेश थापाले यस रोगको जति छिटो पहिचान भयो, उति छिटो निको हुने जनाउनुभयो । काठमाडौँपछि सुर्खेतमा मात्रै उपचार केन्द्र भएको र यहाँको सेवाबारे जानकारी दिनुपर्ने तथा गाउँबस्तीमा पुगेर यसको उपचार सम्भव छ भनेर सचेना जगाउनुपर्ने सुझाव दिनुभयो । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम निर्देशक ललितबहादुर सारूले फिस्टुला उपचार केन्द्रबाट पश्चिम नेपालका साथै भारतका बिरामीले पनि उपचार सेवा पाउन सफल भएको बताउनुभयो । केन्द्रमा उपचार गराउन प्युठानदेखि आउनुभएकी चुमीदेवी पुनले ३० वर्षदेखि आफूले यो रोग सहेर बसेको बताउनुभयो । जिल्ला जिल्लामा खोजबिन गर्नेक्रममा थाहा पाएपछि आफू सुर्खेतमा उपचार गराउन आएको उहाँको भनाइ छ । उपचार राम्रो भएर निको भई घर फर्कने उहाँमा विश्वास छ । यस्तै भारतको बराइचदेखि सैदुन खातुन उपचार गराउन सुर्खेत आउनुभएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर