नेभिगेसन मेनु

नदीमा रमाउने माझी
सम्पादक:南亚网络电视
समय:2025-03-24 12:39

majhi

एस् ए टी भी ११ चैत्र,काठमाडौँः नेपालका नदी किनार छेउछाउमा माझी, दनुवार र दरै जाति छरिएर रहेको पाइन्छ । बागमती प्रदेश र यसको आसपासमा यी जातिको बसोबास बढी छ । 

भूपहरि पौडेलले ‘प्राचीन नेपाल’ जर्नलमा मन्थलीका माझी शीर्षक लेखमा ‘माझी एक सरल तथा आफ्नै पसिनामा बाँचेको एक साह्रै मेहनती जाति हो’ भनेका  छन् । समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातका फूलबारी’ पुस्तकमा ‘थारू, बोटे, माझी, दनुवार र दरै आदिमा एक जातले अर्को जातसँग बिहे गर्न’ हुन्छ भनेको उल्लेख छ । उनले ‘हामी दनुवार, माझी र दरै’ शीर्षक दिएर ‘दनुवार, माझी र दरै अलि कालो वर्णका र शरीरको बनोटमा दुब्ला, पातला देखिए पनि बलिया र दह्रिला हुन्छन्’ भनेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार माझी जातिको जनसङ्ख्या एक लाख ११ हजार ३५२ (पुरुष ५४, ७८३ र महिला ५६, ५६९) रहेको छ  । प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा माझीको सबैभन्दा बढी ४१ हजार ६७१ रहेको छ । २०६८ सालको जनगणना अनुसार माझीको जनसङ्ख्या ८३ हजार ७२७ थियो । यस तथ्याङ्कले माझी जातिको जनसङ्ख्या बढ्दो रहेको देखाउँछ । 

सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी, अरुण, वरुण, तमोर, त्रिशूली, कालीगण्डकीलगायत नदी किनारमा बसोबास गर्ने माझी जातिको पुख्र्यौली पेशा माछा मार्नु र नदीमा डुङ्गा खियाउनु नै हो । नदीमा झोलुङ्गे पुलको विकाससँगै माझी जातिको पुख्र्यौली पेशामा सङ्कट थपिँदै गएको छ । 

माझीका अधिकांश पर्व र संस्कृति नदी सभ्यतासँगै गाँसिएको  पाइन्छ । नदी किनारमा बसोबास गर्ने माझी जाति जलाशय र पुल निर्माण जस्ता विकासले विस्थापित हुने प्रमुख जातिमा पर्छन् । उनीहरूको परम्परागत बसोबास नदी किनारमा हुने भएकाले सडक कोरिडोर, सिँचाइ तथा विद्युत् प्रयोजनका बाँध निर्माणले सबैभन्दा पहिला उनीहरूलाई नै समस्या हुने गरेको छ । 

नेपाल र यसका निवासी (२०४५, दोस्रो सं.) पुस्तकमा शरद्चन्द्र शर्माले “दनुवार, माझी र दरै झन्डै उस्तै जीवन पद्धति र अवस्था भएका जाति समूह हुन । यिनीहरूका अनुहार, भाषा र वेशभूषामा निकै समता पाइन्छ,” भनेका छन् । उनले “माछा मार्ने, डुङ्गा खियाउने काम गरी जीविका चलाउने माझी, बोटे र दरैलाई त झन् जलचर वा जलजीवी जाति नै हो भने पनि बाधा पर्दैन,” भनेका छन् ।

लेखक शरद्चन्द्र शर्माका अनुसार दनुवार, माझी एवं दरै नेपालका प्राचीन आदिवासीमध्येका हुन् भन्ने कुरामा शङ्का छैन । उनीहरू वनदेवी र घरभित्र आफ्नो कुलदेवतालाई मान्छन् । उनीहरूका कुलदेवतालाई चुलोको पछाडि राखिएको हुन्छ । उनीहरूमा कसैमा भानिज वा ज्वाइँलाई र कसैमा आफ्नै समुदायभित्रैको पाको व्यक्तिलाई पुरोहित मान्ने चलन छ ।

गोरखापत्र संस्थानद्वारा प्रकाशित सांस्कृतिक सौरभ (२०७४) मा धनबहादुर माझीले “माझी जाति कोशीको किनारमा बस्ने, माछा मार्ने, डुङ्गा चलाउने, मर्चा बनाउने र धेरैपछि साधारण खेतीपाती गरी जीविकोपार्जन गर्ने जाति हुन्,” भनेका छन् ।

डोरबहादुर विष्टको सबै जातको फूलबारी (२०५५ सातौँ सं.) मा “थारू, बोटे, माझी, दनुवार, दरै आदिमा एक जातले अर्को जातसँग बिहे गर्न हुन्छ । यस्तो गरेपछि जन्मेका छोराछोरीमा छोराले बाबुको जात र छोरीले आमाको जात लिन्छन् । यिनीहरूका देवतामा सबैभन्दा मुख्य वनदेवी र घरभित्रको कुलदेवता हुन्छ,” भनिएको छ । उनले पहाडमा माझी भनिने जातिलाई तराई वा भित्री मधेशमा बोटे र चितवनमा कुसहर भन्ने पनि चलन छ भनी उल्लेख गरेका छन् ।

शङ्कर कोइरालाले ‘प्राचीन नेपाल’ जर्नलको ‘कोशी प्रदेशका माझी जाति’ शीर्षक लेखमा “कोथपेतिरका माझीहरू सुँगुर पाल्दैनन् तर सेले, नवघाटतिर भने कसै कसैले पाल्न लागेको पनि देखिएको छ,” भनेका छन् । तथापि २०८१ फागुन २० गते मङ्गलबार कोथपेमा आयोजित कोशी पूजामा पुग्दा त्यहाँका प्रायः घरमा सुँगुर पालिएको पाइयो ।

केटी माग्न आँगनमा भाला

माझी जातिको बेग्लै भाषा, संस्कृति र चालचलन छ । उनीहरूका धेरैजसो संस्कृति नदी सभ्यतासँगै गाँसिएका पनि छन् । माझीको जनजीवन र जीविका नै कोशी र पानीसँग सम्बन्धित थियो । तथापि समाज विकास क्रमसँगै माझी जातिको पेशा, व्यवसाय सङ्कटमा पर्दै गएको छ । यसले भाषा र संस्कृतिमा समेत प्रभाव पारेको देखिन्छ ।

शङ्कर कोइरालाका अनुसार माझीहरूमा केटी कुनै घरमा माग्न जानु प¥यो भने पहिले कुरो हाल्छन् र केही कुरो मिल्ने छाँट भयो भने पछिबाट जाँड रक्सीको शकुन लिएर जाने चलन छ । पछि कुरा छिन्न जानेहरूले एउटा भाला लिएर गएका हुन्छन् र सो भाला केटीको घरआँगनको बीचमा गाडिदिन्छन् । त्यसको माने हो हामी केटीको कुरा छिन्न आएका छौँ ।

साथमा आएकाहरूले जाँडको शकुन लिएर घरमा पस्छन् । जाँड, रक्सीको जाफतको साथ दुवै थरीमा विवाहको वाग्दान हुन्छ । उनीहरू विवाहका लागि बुधबारलाई श्रेष्ठ मान्छन् ।

रामजी थापा (रोचक) को ‘लोकनाच सङ्क्षिप्त अध्ययन’ (२०६३) पुस्तकमा कुशपारे माझीका बारेमा चर्चा (पृ.७८) गरिएको छ । सो पुस्तकमा “केटा पक्षले केटीको टुङ्गो गर्न जाँदा जाँड, रक्सी कोसेलीस्वरूप लगेकै हुन्छन् ।” भनिएको छ । बिहेमा “बेहुली भतेर (बेहुलीको घरमा जन्ती र घरगाउँलेलाई खुवाइने भोज) को खर्च पनि बेहुलाकै हुने गर्छ । विवाहको दिन लगाउने कपडा (बेहुलीको) र गहनाहरू सबै लिएर जन्ती जानु पर्छ,” भनेर पुस्तकमा उल्लेख गरिएको छ ।

कोशी पूजा

कोशी किनारलाई आफ्नो मूल बसोबास थलो बनाउँदै आएका माझीहरू कोशी÷नदीलाई आफ्नो इष्टदेवता मान्छन् । वर्षको एक पल्ट तीन दिनसम्म धूमधामसित कोशीको पूजा गर्छन् । कतै यो पूजा दुई दिन गरिएको देखिन्छ । कोशी पूजाका बेला डुङ्गा चलाउने कार्यसमेत दुई दिन बन्द गर्छन् ।

शङ्कर कोइरालाले प्राचीन नेपाल जर्नलमा ‘कोशी किनारका  माझीहरू आफ्ना इष्टदेवता कोशीलाई नै मान्छन् । वर्षको एकपल्ट तीन दिनसम्म धूमधामसित कोशीको पूजा हुन्छ । यो फाल्गुन महिनामा शनिश्चर बार पारेर हुन्छ । यस अवसरमा दुई दिन डुङ्गा पनि चलाउँदैनन् र अरू परिआएका बाहिरफेरका काम पनि गर्न जाँदैनन् । जाँड, रक्सीको जाफत (रमाइलो भोज) हुन्छ । सुँगुरको बलि यस पूजाको अनिवार्य क्रिया मान्छन् । यसलाई अरू जातिले हेर्न गयो भने त्यसले बेइज्जत पाएर फर्कनु पर्छ । पहिलो र दोस्रो दिन सुँगुरको टाउको बगरैमा रहन्छ र तेस्रो दिन शिर उठाउने दिनको नामले विसर्जन गरिन्छ । त्यो दिन डुङ्गा चल्दछ भनी लेखेका छन् ।

तथापि कोइरालाले लेखे अनुसार अहिले कतिपय कुरा फरक पाइएको छ । अहिले माझी जातिले फागुनको तेस्रो मङ्गलबार कोशी पूजा गर्ने परम्पराको थालनी गरेका छन् । यस पटक कोथपेमा पुग्दा कोशी पूजामा पाठी बलि दिइएको पाइएको थियो । कोशी पूजा स्थलमा अन्य जातिका मानिस पुगेमा पक्रेर दण्ड (आर्थिक) दिइने र भोलिपल्ट बोलाएर भोज खुवाउने चलन पहिला भएको स्थानीयले बताए ।

कोशी पूजालाई लदी वा घाटपूजा पनि भनिन्छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने माझी जातिले माछा मार्ने र डुङ्गा तार्ने आफ्नो कार्यमा कुनै पनि अवरोध नहोस् भन्ने कामनासहित लदीपूजामा बलपुकारा गर्ने गरेको कोथपेका मिजार शेरबहादुर माझीले बताए ।

माझी समुदायका बालबालिका नदी किनारमै खेलेर हुर्किन्छन् । उनीहरूलाई समेत कुनै हानिनोक्सानी नहोस्, माछा मार्न रातबिहान कोशी किनार हिँड्नुपर्ने हुँदा भूतप्रेत नलागोस्, कोशी तर्दा, तार्दा कुनै पनि प्रकारको विध्नबाधा नहोस्, समयमा पानी परोस्, सहकाल आओस् भनेर जलदेवी, वनदेवीलगायत वरपरका देवदेवतासँग माझी समुदायले चोखोनितोसहित कोशी पूजामा पुकारा गरिने पुजारी शेरबहादुर माझीले जानकारी दिए ।

माझी जातिले कोशी र आफ्नो सम्बन्ध मामा भान्जाको रहेको बताउँछन् । देशका विभिन्न नदी किनारमा छरिएर रहेका माझी जातिले कोशी पूजा मनाउन थालेको पाइन्छ । कतिपय स्थानीय तहले कोशी पूजाका अवसरमा सार्वजनिक बिदा दिन थालेका छन् ।

गोरखापत्र संस्थानद्वारा प्रकाशित सांस्कृतिक सौरभ (२०७४) मा धनबहादुर माझीले लदीपूजा (कोशीपूजा) बारे लेखेका छन्, “माझी जातिको जीवनवृत्ति वा बाँच्ने आधार नै कोशी र खोलामा आधारित भएकाले यो पूजा गर्ने गरेका हुन् । माझीहरूले वर्षा, बाढी, भेलमा डुङ्गा चलाउनु पर्दा डुङ्गा पल्टिने डर हुने भएकाले कुनै खतरा नहोस् भनेर यो पूजा गरेका हुन् ।”

सो लेखमा माझीले लेखेका छन्, “माझी समुदायमा यो पूजा गर्दा भूतप्रेतको डर त्रास हुँदैन भन्ने मान्यता छ । कुनै पनि समयमा माछा मार्नु, रातदिन खोला कोशीमा हिँड्नु पर्दा सुरक्षा हुन्छ भनेर पनि यो पूजा गरिएको हो । यो  पूजा गर्दा बाली राम्रो हुन्छ, समय समयमा पानी पर्छ भन्ने माझी समुदायले विश्वास गर्ने गर्छन् ।”

कोथपेका माझी समुदायमा कोशी पूजाअघि भूमिपूजा गर्ने गरिन्छ । भूमेपूजा गर्नुअघि उनीहरू पूर्वतर्फ फर्काएर स्याउलाले बारबेर पारी थान बनाउँछन् । सो थानमा देवीदेवताको थापना गर्छन् । भूमेपूजामा बोका बलि दिने परम्परा छ । भूमेपूजामा देउग्वा (चामलको रोटी), टोटलाको फूल, कुखुराको अण्डा अनिवार्य चाहिन्छ । चामलको पिठोलाई पानीमा पकाइने रोटी नै देउग्वा हो । प्रसादका रूपमा देउग्वा चढाउने गरिन्छ ।

कोथपेका माझी समुदायले भूमेपूजा गर्दा पश्चिमतर्फ अर्को एउटा थान पनि थापना गर्छन् । त्यसलाई उनीहरू ‘ठिलगोठे’ बुझाएको भन्छन् । हरेक पूजापर्वमा ‘ठिलगोठे’ बुझाउनु पर्दछ । नत्र गाउँलेलाई दुःख दिने, वस्तुभाउ मर्ने जनविश्वास रहेको छ ।

डाक्ने, पाल्ने, फाल्ने अर्थात् सराद

शङ्कर कोइरालाका अनुसार माझीहरूको अन्त्येष्टि क्रिया एउटा सराद गरेपछि खत्तम हुन्छ । यो क्रिया सोह्रश्राद्धमा एउटा बुधबार गएपछि अर्को बुधबारमा थालिन्छ र तीन दिनमा सकिन्छ । सानो नानीको पनि सराद गर्ने चलन छ । यो तीन दिनलाई डाक्ने, पाल्ने, फाल्ने भन्ने चलन छ ।

कोइरालाले ‘कोशी प्रदेशका माझी जाति’ शीर्षक लेखमा “मर्नेको घरमा खुब जाँड बनेको हुन्छ । बाख्रो र राँगो काट्ने प्रथा छ । चेलीबेटी जम्मा गरिन्छ । गाउँका सबै प्रायः बूढाबूढी केटाकेटी भेला भएर घरआँगनमा मादल बजाएर नाच्ने गाउने गर्छन्,” भनेका छन् ।

कोइरालाले लेखेका छन्, उनीहरू (माझी) पितृलाई ‘पितर’ भन्छन् । यिनमा कुनै काममा पनि तोर्मा बटार्ने चलन छैन । कुखुराको मासु, अण्डा, बाख्राको मासु, जाँड डोकोमा हालेर ठाउँमा राखेपछि पितृको आह्वान हुन्छ । बाहिर मादल घन्किरहेको हुन्छ । मृतकको छोरा नाति त गुफा जस्तै घरभित्र बस्छन् । फलाक्नेले फलाकिरहन्छ । जसको आँगनमा पितृप्रवेशको आह्वान कार्य गरिन्छ ऊ पनि आँगनमा चोखीनितीसँग बसेको पाइन्छ र जब उसको आँगमा कम्पन आउँछ र उल्टोसित पछाडि हिँड्न थाल्छ उसलाई उनीहरू ‘पितर’ आएको भनेर प्रसन्न हुन्छन् ।

रोचक विश्वास

माझीको घरमा ढिकी हाल्ने चलन छैन । ओखलीको मात्र प्रयोग गर्छन् । ढिकी फाप्तैन भन्ने धारणा प्रचलित छ । बाहुनहरूले दिएको खानेकुरो खासगरी मासको दाल खानुपर्दा टोपी फुकालेर ग्रहण गर्छन् । डुङ्गा एउटै सिङ्गै मुढो खोपेर बनाउँछन् । जसलाई घाटमा घिसारेर ल्याउँदा बाजा बजाउँदै ल्याउँछन् । रमाइलो जात्रा जस्तै लाग्छ । डुङ्गाको शिर पुच्छर हुन्छ । डुङ्गा चलाउँदा शिर भाग अघि लगाइन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर