एस् ए टी भी १७ पौष, काठमाडौँ :"दक्षिण एसियाली साहित्य मार्फत संस्कृति जोड्दै" भन्ने मूल नाराका साथ दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक मेला २०२५ काठमाडौँको भृकुटीमण्डपमा प्रारम्भ भएको छ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेण्ट मिडिया एण्ड रिसर्च सेण्टर को आयोजना तथा चाइना अन्तर्राष्ट्रिय बुक ट्रेडिङ कर्पोरेसनको सह आयोजनामा भएको पुस्तक मेलामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, बागमती प्रदेश सभा सदस्य तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष रघुनाथ महर्जन, पोखरा महानगरपालिका प्रमुख तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घका पूर्व अध्यक्ष धनराज आचार्य, नेपाल स्थित भारतीय राजदूतावासका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाल पुस्तक व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष मातृका सिवाकोटीले दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलामा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। नेपाल व्यवसायी सङ्घले आयोजना गरेका ९ वटै पुस्तक प्रदर्शनीमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिँदै यस पुस्तक मेला सफल पार्न पनि भूमिका खेल्ने प्रदर्शक, व्यवसायी , सङ्घ, पत्रकार लगायतलाई धन्यवाद ज्ञापन गरे।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिव सागर शर्माले पुस्तक मेला आयोजनाको मूल उद्देश्य प्रस्ट पारेका थिए। दक्षिण एसियाली स्तर तथा अन्य अन्तर्राष्ट्रिय प्रकाशकलाई यस मेला मार्फत नेपाल झिकाई नेपाली प्रकाशकहरू सङ्ग फेलोसिप कार्यक्रम सञ्चालन गरी नेपाली पुस्तक तथा प्रकाशकलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नेमा उनको विश्वास थियो। मेलामा शिक्षा तथा पठन संस्कृतिको उत्थानमा सहयोग पुगाउन बालबालिकाकालागी कथा वाचन लगायत अन्य थुप्रै प्रदर्शनी रहेको पनि बताएका थिए।
चाइना अन्तर्राष्ट्रिय बुक ट्रेडिङ कर्पोरेसन उपाध्यक्ष वाङ तोङले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध अझै सुसंस्कृत पार्न र संस्कृति आदान प्रदान गर्न आफ्नो संस्थाले पुस्तक मेला आयोजनामा सहयोग गर्ने निर्णय गरेको बताएकी थिइन् । यो मेलाका क्रममा चिनियाँ संस्कृतिको अद्वितीय अनुभव गर्न सकिने बताउँदै पुस्तक मेलाको भव्य सम्पन्नताको कामना पनि गरेकी थिइन् ।
नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ्ले किताबहरू समाजका ऐना भएकाले उपस्थित सबैले किताबहरूको अध्ययन गरेर असमझदारी हटाउन तथा मैत्री सम्बन्धमा अझै गहिराई थप्न अनुरोध गरे। चीनले परापूर्वकालदेखी नै पुस्तक अध्ययनलाई ग्राह्यता दिँदै आएको र नेपाल त बौद्ध धर्मावलम्बीको दिव्य भूमि रहेकाले यहाँको हरेक क्षेत्रमा सहयोग गर्दै काँधमा काँध मिलाएर द्विपक्षीय सहकार्यमा मानव सभ्यतालाई उच्च स्तरमा पुग्न सहयोग पुगाउन दृढ रहेको जनाए।बिआरआई होस अथवा अन्य माध्यमबाट नेपाललाई सहयोग गर्न चीन हरदम तयार रहेको पनि उनले थपे। २०२५ नेपाल चीन सम्बन्धको ७०औँ वर्ष पूरा भएको वर्ष भएकाले यस वर्षलाई अझै रङ्गिन बनाउने गरी काम गर्नु पर्नेमा उनले जोड दिए। नेपालमा आयोजित यस पुस्तक प्रदर्शनीले नेपाल तथा नेपाली साहित्य तथा लेखक, प्रकाशकलाई विश्व मानचित्रमा उभ्याउन भूमिका खेल्ने बताउँदै कार्यक्रम सफलताको कामना पनि गरेका थिए।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक अध्ययनको गहनता अन्य कुनै माध्यम बाट गरेको अवलोकन भन्दा बढी हुने बताए। अन्य अध्ययनहरू गाडीमा चढेर अवलोकन जस्तो हो भन्दै उनले पुस्तक अध्ययनलाई पैदल हिँडेर जसरी मिहिन अवलोकन गर्न सकिन्छ त्यसरी नै मिहिन अवलोकन गर्न सकिने माध्यम भएको बताए। पुस्तकले समाज सुधार्न सक्ने , पुस्तक बोकेर हिँड्ने मानिसले विचार बोक्ने गरेको , समुन्नत समाजको नक्सा बोक्ने गरेको बताउँदै उनले पुस्तक पठन संस्कृतिलाई उत्थान गर्ने ध्येयले आयोजना भएको यस पुस्तक मेलाको भव्य शुभकामना व्यक्त गरेका थिए र आयोजकलाई धन्यवाद ज्ञापन पनि गरेका थिए।
विभिन्न पुस्तक,स्टेसनरी सामग्री,खेलकुद सामग्री, चिनियाँ सांस्कृतिक सामग्री तथा प्यानल डिस्कसन पनि हुने यश पुस्तक प्रदर्शनीले समग्र पुस्तक व्यापार तथा पठन संस्कृतिलाई बढावा दिन धेरै हदसम्म टेवा पुर्याउनेछ भन्ने आयोजकको विश्वास छ।