
काठमाडौं, भदौ १८ गते । बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि चीनले पठाएको तेस्रो चरणको आपत्कालीन राहत सामग्री बोकेको विमान काठमाडौं आइपुगेको छ।
नेपालको अनुरोधअनुसार चीनले पठाएको उक्त राहत सामग्रीमा बेली ब्रिज तथा महामारी रोकथाम र नियन्त्रणका सामग्रीलगायत आपत्कालीन उद्धार तथा पुनःस्थापनामा आवश्यक सामग्री समावेश छन्।
यसअघि चीनले नेपालमा दुई चरणमा राहत सामग्री पठाइसकेको छ। दोस्रो चरणअन्तर्गत ड्रोन, डीएनए पहिचानका लागि आवश्यक उपकरण तथा रसायन, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरणलगायत सामग्री नेपाल ल्याइएको थियो।
दोस्रो चरणको राहत सामग्रीसँगै चिनियाँ डीएनए पहिचान विशेषज्ञको टोलीसमेत नेपाल आएको थियो। बाढी तथा पहिरोमा सम्पर्कविहीन भएका व्यक्तिको पहिचान तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन थप डीएनए विशेषज्ञ टोलीसमेत नेपाल ल्याइएको छ।
तेस्रो चरणमा आएको बेली ब्रिजलगायत सामग्रीले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त सडक तथा पुलको अस्थायी पुनःस्थापना र प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल विपद्ग्रस्त क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक अझै सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्य पनि जारी छ।


















