नेभिगेसन मेनु

विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै
सम्पादक:南亚网络电视
समय:2024-08-28 15:35

eagle

कपिलवस्तु — दाङको कप्तानगन्जमा डंगर गिद्धका माउहरूको व्यस्तता बढ्दो छ । उचानिम्बु सामुदायिक वनमा साजका अग्ला रूखमा २३ जोडी माउ बचेराहरूसँग वात्सल्य प्रेममा रमाइरहेका देखिन्छन् । यता कपिलवस्तुको राजपानी सामुदायिक वनमा पनि डंगर गिद्धका माउ बचेरा सँगसँगै उडिरहेका छन् । कावा खाँदै उड्न सिकाउँदै गरेको दृश्य निकै मनमोहक देखिन्छ । 

गिद्ध जोडीले ३ महिना कठिन परिश्रम गरे । अण्डाबाट निस्केका बचेरालाई पखेटा फिँजाउन सिकाए । टाढाटाढाबाट विचरण गरेर गिद्धले गोजेरो (घाँटी) मा ल्याएको मासु ओकलेर खान सिकाए । गुँडभित्रै बस्ने बचेरालाई माउले जबर्जस्ती तानेर बाहिर निकाले ।

बाहिरी संसार चिनाउँदै उड्न र आहार टिप्न सिकाए । गुँडबाट बाहिर निस्किएर उड्न सिकेपछि अहिले ती बचेराले माउसँगै उडान भरिरहेको देख्न पाइन्छ । विश्वमै दुर्लभ मानिएको डंगर गिद्ध नेपालका १३ जिल्लामा पाइन्छ । सन् २०२३/०२४ मा सबैभन्दा धेरै कपिलवस्तुमा १ सय ७० वटा गुँड भेटिएका थिए । पन्छी संरक्षण संघ (बीसीएन) ले गरेको अनुगमनमा राजापानी, भृकुटी र प्रतिभा सामुदायिक वन तथा मायादेवी साझेदारी वनमा ती गुँड भेटिएका थिए । त्यहाँ १ सय २२ जोडीले बचेरा हुर्काएको बीसीएनका परियोजना अधिकृत दिलीप चन्द ठकुरीले बताए ।

२०२३/२४ मा नवलपुरमा १ सय २२ जोडीले गुँड लगाएकोमा ८७ ले बचेरा हुर्काएका थिए । कञ्चनपुरमा १ सय १४ जोडीले गुँड लगाएकोमा ८६ वटाले बचेरा हुर्काएका थिए । दाङमा ९१ जोडीले गुँड लगाएकोमा ६८ ले बचेरा हुर्काएका थिए ।

पश्चिम तराईको वन क्षेत्र दुर्लभ डंगर गिद्धका बचेरा हुर्काउने उत्कृष्टस्थल बनेका छन् । सुरक्षाका लागि अग्ला वन क्षेत्रमा रहेका साल, असना, साज, कुसुम र सिमलका रुखमा गुँड बनाई गिद्धले बचेरा कोरलेका हुन् । डंगर ठूला रूखको १९ देखि २९ मिटर अग्लो ठाउँमा ओथारो बस्छ । डंगर गिद्धले एउटा मात्र अण्डा पार्छ ।

प्रकृतिको कुचिकार भनेर चिनिने लोपोन्मुख पन्छी गिद्ध प्रतिदिन संकटमा पर्दै गएका बेला यसको संख्या बढ्दै जानुलाई सकारात्मक मानिएको छ । बीसीएनले गर्दै आएको डंगर गिद्धको अध्ययनले तीन वर्षयता गुँड लगाउने जोडीको संख्या बढिरहेको देखाएको छ ।

२०२३/२४ मा डंगरका ६ सय ५८ जोडीले अण्डा पारेर बच्चा जन्माए पनि ४ सय ८० वटा मात्र उडाउन सफल भएको बीसीएनका गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशी बताउँछन् । उनका अनुसार १३ जिल्लामा हिमाली, सानो खैरो, हाडफोर र सेतो गिद्धका ५३ गुँड भेटिएकामा ३२ वटा बचेरा मात्र उडेको रेकर्ड छ । यस्तै २०२२/२३ मा डंगर गिद्धका ५ सय ६९ जोडीले गुँड बनाएकामा ४ सय २ जोडी बचेरा उडाउन सफल भए । अन्य प्रजातिका ५७ जोडीले गुँड लगाएकामा ३६ जोडीले मात्र बचेरा उडाएका थिए ।

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाएर बच्चा कोरल्ने गर्छन् । डंगर जस्तै सुन र सानो खैरो गिद्धले रूखमा गुँड लगाउँछन् । पहाडमा सल्लो र सिमलका रूखमा गुँड लगाउँछन् । हिमाली, हाँडफोर र सेतो गिद्धले पहाडका पहरा र खोचमा गुँड लगाएका हुन्छन् । ‘ओथारो बसेकामध्ये ७० प्रतिशत गिद्धले मात्र बच्चा हुर्काएर उडाएको देखिन्छ, कतिपयको अण्डामै बच्चा नपर्ने, बचेरा उडन सिक्दा लडेर घाइते भई मर्ने र विषादी भएका सिनोलाई आहारामा माउले बचेरालाई खुवाउँदा मर्ने समस्या हुन्छ,’ गिद्ध संरक्षण अधिकृत जोशीले भने ।

विज्ञकृष्णप्रसाद भुसालका अनुसार प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक–मंसिरतिर प्रजननका लागि जोडी खोज्छ । जोडी नै मिलेर ओथारो बस्न गुँड बनाउँछन् र बच्चा हुर्काउँछन् । पुस दोस्रो–तेस्रो साता अण्डा पारेर गिद्ध ओथारो बस्छ । ५० देखि ६० दिनसम्म ओथारो बसेपछि माघ–फागुनमा बच्चा जन्मन्छ । ‘बचेरा ३ महिनाको भएपछि माउले उड्न सिकाउँछ,’ उनले भने ।

सन् १९९० ताका भारत र नेपालमा डंगर गिद्धको संख्यामा निकै घटेको थियो । भारतमा ९९.९ र नेपाल ९१ प्रतिशत बढी लोप भइसकेको थियो । डंगर गिद्ध लोप हुने प्रमुख कारणमा पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो । संरक्षणकर्मीको पहलमा सरकारले ०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बढ्दै गएको हो । नेपालमा वयस्क डंगर गिद्धको संख्या सन् २०१६ मा बढेर २ हजार पुगेको थियो, त्यसयता भने संख्या अध्ययन भएको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर