नेभिगेसन मेनु

‘लगानी अनुकूल वातावरण बनाउँछौँ’
सम्पादक:南亚网络电视
समय:2026-05-03 12:52

 

 Finance-minister-Swarim-wagle_-1213

काठमाडौँ, वैशाख २० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी व्यवसायीका लागि लगानी अनुकूल वातावरण बनाइने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

नेपालको निजी क्षेत्रसँग आफू राम्रोसँग परिचित रहेकाले अपराधमा संलग्न देखिएकालाई भने कानुनी कारबाही गर्ने उहाँको धारणा थियो । उहाँले सरकारले अपराधकर्ममा दण्डित गर्ने प्रतिबद्धता जनाउनुभयो । “निजी क्षेत्रका व्यक्तित्वसँग म परिचित र जानकार छु,” उहाँले भन्नुभयो, “तर अपराधजन्य गतिविधि सरकारलाई स्वीकार्य छैन । यो रोकिनु नै पर्छ ।” सरकारले स्पष्ट नीतिगत व्यवस्थासहित निजी क्षेत्रमैत्री युगको सुरुवात गर्न लागेको उहाँले बताउनुभयो । लगानी प्रवर्धन तथा सहजीकरणका लागि सरकारले उच्चस्तरको इमानदारिता प्रदर्शन गर्ने उहाँको प्रतिबद्धता थियो । सुशासन कायम गर्न वर्तमान सरकारले कुनै पनि सम्झौता नगर्ने उहाँको भनाइ थियो । 

सुशासन र नीतिगत व्यवस्थापनको जगमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण सिर्जना हुने उहाँको भनाइ थियो । “हामी निजी क्षेत्रमैत्री नीति निर्माण गर्दै छौँ । यसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने छ,” उहाँले भन्नुभयो । सरकारले आगामी बजेटमार्फत नेपाललाई उदार अर्थतन्त्रको दिशामा लैजाने उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रको सम्पत्तिको सुरक्षा, करको भार न्यूनीकरण गर्ने गरी नीतिगत सुधार गरिने उहाँको भनाइ थियो । नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले मार्गचित्र निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो । पाँचबर्से स्थिर सरकारमार्फत नीतिगत निरन्तरता कायम गरी देशलाई बलियो आर्थिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले राजनीतिक स्थिरता, डिजिटल प्रविधिको उपयोगिता विस्तार र कानुनी सुधारमार्फत आर्थिक विकासको आधारका रूपमा लिइने पनि जानकारी दिनुभयो । भौगोलिक कठिनाइ, संरचनात्मक अवरोध हटाएर प्रभावकारी सेवा प्रवाह कायम गर्न डिजिटल प्रविधिले महत्वपूर्ण योगदान सिर्जना गर्ने उहाँको भनाइ थियो । पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने काम सुरु भइसकेको पनि उहाँले बताउनुभयो । 

उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना र प्रभावकारी कर प्रणालीको व्यवस्थाका लागि सरकार लागिपरेको उहाँको भनाइ छ । वर्तमान सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलतामा प्रतिबद्ध भएर काम गर्ने जानकारी दिँदै उहाँले सीमित समूहको प्रभावलाई निस्तेज गर्दै स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । “विगतका कमजोरी दोहोरिन नदिन उच्च नैतिक मापदण्ड कायम गरिने छ,” उहाँले भन्नुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर