काठमाडौँ : बाढी पहिरोको बढ्दो जोखिमसँगै बढ्नसक्ने घाइतेहरुको संख्याले रगतको माग बढ्छ नै। तर यही बेलामा नेपालमा सबैभन्दा धेरै रगत आपूर्ती गर्ने नेपाल रेडक्रस अन्तर्गतको केन्द्रीय रक्तसञ्चार केन्द्रको रगत प्रयोग गर्नु स्वास्थ्यका लागि उच्च जोखिम हुने खुलेको छ।
नेपाल रेडक्रस सोसाइटीले आफ्नो आधिकारीक वेभ साइटमा गरेको दाबी अनुसार उसले वर्षमा ४० लाख युनिट रगत उपलब्ध गराउने गरेको छ। तर उसको केन्द्रले प्रोटोकल तथा मापदण्डको पालनामा गरेको गम्भीर त्रुटिका कारण त्यहाँको रगत प्रयोग गर्नु नै उच्च जोखिम हुने अध्ययन प्रतिवेदनले खुलाएको छ।
रेडक्रसमा भइरहेको अनियमितताको छानबिन गर्न समाज कल्याण परिषद्ले गठन समितिले रेडक्रस अन्तर्गतको रक्तसञ्चार केन्द्रको गुणस्तरको प्राविधिक अध्ययन समेत गराएको थियो। दुई बिज्ञले अध्ययन गरेर दिएको प्राविधिक प्रतिवेदनले अहिलेको अवस्थामा केन्द्रको रगतको प्रयोग गर्नु उच्च जोखिमपूर्ण रहेको देखाएको छ।
समाज कल्याण परिषद्ले रेडक्रसमा भएका बदमासीको छानबिन गर्न वैशाख १६ गते सञ्जय कुमार साहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। परिषद्ले नै सोही समितिलाई सहयोग हुने प्राविधिक समिति समेत गठन गरेको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिसमेत रहेको प्राविधिक छानबिन टोलीका प्रमुख डा. विपिन नेपाल र डा. रेखा मानन्धरको टोलीले केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक पाटोको अनुसन्धान गर्दा अधिकांश मापदण्ड उच्च जोखिममा देखिए।
दुवै जनाको प्रतिवेदनको आधारमा अध्ययन समितिले 'प्रतिवेदनमा केन्द्रीय रक्तसञ्चार केन्द्र उपर अध्ययन गरिएको प्रतिवेदनहरूले रक्त सञ्चार केन्द्रमा गुणस्तरीयताको विषयमा गम्भीर समस्याहरू देखाउँदै अविलम्ब समाधानका लागि सुझाव तथा सिफारिस गरेको हुँदा समाज कल्याण परिषद्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयसमेतबाट अविलम्ब उपयुक्त कारबाही हुन आवश्यक देखिएको' सिफारिस गरेको छ।
प्रतिवेदनमा ‘रगत सङ्कलन तथा वितरण मानव स्वास्थ्यको लागि अत्यन्तै संवेदनशील विषय भएको कारण गुणस्तरीयताको बारेमा प्राविधिक प्रतिवेदनहरूले औँल्याएका समस्याहरू तत्काल सार्वजनिकीकरण नगरी गोप्य राख्न र कार्यान्वयनमा जोड दिन उपयुक्त देखिने’ उल्लेख छ।
समितिको प्रतिवेदनमा केन्द्रले रक्तदाताको छनौट, रगत सङ्कलन, प्रोसेसिङ, भण्डारण र प्रयोग हुने उपकरणको अवस्थाका आधारमा उच्च जोखिम रहेको निष्कर्ष दिएको छ।
प्रतिवेदनमा केन्द्रको रगतको गुणस्तरीयताबारे उल्लेख गरिएको गम्भीर विषय देखेपछि उकेराले सो प्राविधिक प्रतिवेदन एक जानकार चिकित्सकलाई पठाएका थियौँ।
उनको प्रतिक्रिया थियो’ प्रतिवेदनमा उल्लेख भए अनुसारकै केन्द्रको अवस्था हो भने त्यहाँको रगतले ज्यान जोगाउने हैन, प्रयोग गर्दा ज्यान जाने जोखिम बढी देखियो।’
अधिकांश मापदण्डमा उच्च जोखिम
२२ वटा सूचक राखेर समितिले मापन गरेको केन्द्रको गुणस्तरको अवस्था उच्च जोखिम देख्दा केन्द्रको रगत प्रयोग गर्दा स्वास्थ्य अवस्था सुधारिने हैन थप उच्च जोखिममा पर्ने देखियो। प्रतिवेदनमा सकारात्मक नतिजा एकदम कम छ।
केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको र उच्च जोखिम रहेको उल्लेख छ।
रक्तसञ्चार सेवाको गुणस्तरमा उच्च जोखिम, रक्तदाताहरूको छनौट, रक्तदाताको स्वास्थ्य परीक्षण र रक्तदाता पहिचानमा लापरवाही गरिने भएकाले उच्च जोखिम, गलत ढङ्गबाट रगत सङ्कलन तथा प्रोसेसिङले गर्दा थप उच्च जोखिम देखाएको छ।
रक्तदान दिनेहरूको कस्तो को लिने नलिने भन्नेमा समेत केन्द्रबाट प्रभावकारी विधि अपनाउने गरिएको छैन। यसले रक्तदाताको छनौटमै उच्च जोखिम देखिएको छ।
प्रतिवेदन अनुसार रगत सङ्कलनको विधिमा गम्भीर त्रुटि गर्दै आएको केन्द्रले रगत सङ्कलन गरिसकेपछि भण्डारण र मापदण्ड पालना समेत गर्दैन।
केन्द्रमा उपयुक्त उपकरणहरूको अभाव त छँदै छ, म्याद नाघेको र काम नगर्ने औजारको कारण समेत जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रमा रहेका उपकरणहरूको समयसापेक्ष जाँच तथा मर्मत हुने गरेको छैन। यसले रगतको गुणस्तरलाई उच्च जोखिममा पारेको छ नै, गुणस्तर नियन्त्रणमा अपनाउने विधिका कारण समेत सो केन्द्र नै उच्च जोखिममा रहेको प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ।
रगत राख्ने ठाउँ नै अस्वस्थकर, फोहोर र दूषित
असार १७ गते पेस गरेको प्रतिवेदनमा प्रस्टै रगत सङ्कलन गरेपछि राख्ने स्थान अस्वस्थकर, फोहोर र दूषित र ब्लड बैङ्कको वातावरणका कारण जोखिमपूर्ण रहेको उल्लेख छ।
कर्मचारीहरूको अभ्यास समेत स्वच्छ नहुँदा त्यसले थप जोखिम बढाएको र रगत राख्ने स्थान नै फोहोर छँदै छ, रक्तसञ्चार भण्डारण तथा अभिलेख व्यवस्थापनको कमजोरीका कारण पनि केन्द्रको रगत प्रयोग गर्नु उच्च जोखिमयुक्त देखिन्छ।
गैर प्राविधिक कर्मचारीलाई प्राविधिक विषयमा काम लगाउने गरेको, दक्ष प्राविधिक कर्मचारीको अभाव, तालिमको अभाव र असक्षमताको कारण भण्डारण तथा अभिलेख व्यवस्थापन गतिलो नहुँदा उच्च जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
लापरबाही त्यति मात्रै हैन सङ्क्रमित रगतको नष्ट तथा व्यवस्थापनमा स्तरीकृत सञ्चालन निर्देशिका बमोजिम केन्द्रले कामै गरेको छैन। यसले पनि सो केन्द्र उच्च जोखिममा रहेको देखिन्छ।
अरू त अरू रक्तसञ्चारसँग सम्बन्धित अभिलेख एकदमै सचेतता पूर्वक राख्नु पर्नेमा त्यो पनि उच्च जोखिममा रहेको र रक्तसञ्चार सम्बन्धी अभिलेखै तोडमोड गर्ने गरेकाले अभिलेख समेत उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ।
मापदण्ड अनुसारका पूर्वाधार नै नभएको र म्याद नाघेका पूर्वाधार र अभ्यासका लागि "स्तरीकृत सञ्चालन निर्देशिका "अद्यावधिक गरी चलाउनु पर्नेमा निर्देशिका समेत अद्यावधिक नगरेको प्रतिवेदनमा उल्लेख छ। रक्तसञ्चार प्रयोगशालाको नियमित परीक्षण समेत हुने गरेको छैन। यसले प्रयोगशाला नै जोखिममा देखियो।
दरभाउ भन्दा रगतको शुल्क बढी
गुणस्तरको दृष्टिमा केन्द्रमा राखिएको रगत प्रयोगका लागि उपर्युक्त छैन नै केन्द्रले रगतमा तोकिएको भन्दा बढी शुल्क लिएर ठगी गर्ने गरेको समेत देखिन्छ।
प्रतिवेदनमा निर्धारित दरभाउ भन्दा बढी रकम लिई रगत बिक्री गरेको, रगत बिक्री गर्दा ७ सय ५० रुपैयाँ लिएर फिर्ता गर्दा ५ सय मात्र फिर्ता गरेर हरेक पोकामा २ सय ५० रुपैयाँ ठगी गर्ने गरेका छन्।
सेवा ग्राहीलाई मात्रै हैन, ब्लड ब्याग सापटी लिने गरेको र विवरणमा भने किनेको भनेर विल पेस गरेर केन्द्रका पदाधिकारीले भ्रष्टाचार गर्ने गरेका छन्।
रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले ३ वर्षदेखि टेन्डर नगरी सुनसरी,चितवन, भक्तपुर, मोरङलगायतका जिल्ला शाखाहरूबाट ब्लड ब्याग सापटीका रूपमा लिने तर, पछि गएर सापटी लिइएका ब्लड ब्याग खरिद गरेको भन्दै बिल बराबरको रकम समेत भुक्तानी गरेको विषय समेत प्रतिवेदनमा उल्लेख छ।
केन्द्र मातहत रहेका सबै ब्लड बैङ्कहरू अवैध छन्। अधिकांशले लाइसेन्स लिएका छैनन्। जसले लिएका छन् उनीहरूले नवीकरण गरेका छैनन्।
एचआइभी/ हेपाटाइटिस बि/ सी जाँच गर्ने किट गुणस्तरहिन
रगत सङ्कलन देखि भण्डारण सम्ममा कुनै सुरक्षाका प्रोटोकल पालना नगरेको प्रतिवेदनमा उल्लेख छ जसले गर्दा रगत सङ्कलन गर्ने कर्मचारी र दिने रक्तदाता नै उच्च जोखिममा पर्ने गरेका छन्। रगत कुन प्रकृतिको हो भन्ने बारेमा समेत गुणस्तरीय मापनमा चरम लापरबाही हुने गरेको छ।
सङ्कलन गर्दा ब्लड ग्रुप हेर्ने भए पनि अन्य पक्षको परीक्षणमा लापरबाही गरिएको देखिएको छ। जो आउँछ उसैको रगत सङ्कलन गर्दा उक्त व्यक्तिलाई कुनै रोग छ की छैन, उसको मेडिकल हिस्ट्रि समेत नकेलाई रगत सङ्कलन गर्नाले सरुवा रोग लाग्ने उच्च जोखिम रहेको छ।
रगत सङ्कलनमै चरम लापरबाही हुँदै आएकोमा सङ्कलन भइसकेपछि ८ घण्टा भित्रमा नमुना परीक्षण गराउनुपर्नेमा ढिला गर्ने गरेको देखियो। ८ घण्टा पछि गराउँदा रगतको गुणस्तर खस्किन्छ।
रगत सङ्कलन भइसकेपछि रगतमा एचआइभी/ हेपाटाइटिस बि/ सी जस्ता कीटाणु छन् कि छैनन् भनेर जाँच गर्ने किटको गुणस्तर निकै कमजोर रहेको पाइयो।
रगत राख्ने फ्रिजको तापक्रम ब्लड ब्याग सिलर लगायतका सामाग्रीले राम्रोसँग काम गरेका छैनन्। सिएलआइए मेसिनले एक वर्ष देखि काम नै गरेको छैन। सिएलआइए बायोसेफ्टि क्याबिन ब्लाष्ट फ्रिजरले राम्रोसँग काम गरेका छैनन्। यी मेसिनहरूले रगतको गुणस्तर बचाउने काम गर्छन्।
ब्लड बैङ्कले रगतको गुणस्तरीयको लागि आन्तरिक तथा बाह्य गुणस्तरीय परीक्षण गराउने गरेका छैनन्। सुरक्षित शुद्धतामा कुनै ध्यान नदिएकाले मानव स्वास्थ्यमा गम्भीर खेलबाड भएको छ।
प्रतिवेदनको सिफारिस