नेभिगेसन मेनु

अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै : प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2023-12-07 15:55

0

काठमाडौं, मङ्सिर २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको बताउनुभएको छ ।

‘‘केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणाहरूसमेत गरिएको छ । मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र कहीँ नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

‘‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु ।,’’ उहाँले भन्नुभयो, ‘‘यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवम् तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’’

यसैगरी, मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्णपाठ

राष्ट्रिय व्यावसायिक पहलले निरन्तर रूपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलनको चौथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु । साथै यस कार्यक्रमको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु ।

एडप्टिङ टू इमर्जिङ विजनेश रियालिटिज भन्ने नाराका साथ आयोजित चौथो सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दबाब सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायकसिद्ध हुने मैले विश्वास लिएको छु ।

एनबीआइले अत्यन्त समयसामयिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दोबल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा हुने वृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।

सामाजिक उत्तरदायित्व क्षेत्रको विकासको क्षेत्रमा एनबीआइले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय छ । व्यावसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको एनबीआइले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।  व्यावसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको एनबीआइले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु । सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरू अगाडि सारेको छ । तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्दछ ।

जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन् । जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् ।

मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक छ । सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु ।

यहाँहरू सबैलाई अवगत नै छ–अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु । केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु । अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणाहरूसमेत गरिएको छ । मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु । यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवम् तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।

हिजो मात्रै शासकीय सुधारको विषयमा केन्द्रित रहेर नेपाल सरकारका बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीहरूको बृहत् गोष्ठीको आयोजना गरिएको छ । त्यसबाट समेत केही महत्त्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ । शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।

कार्यक्रममा विज्ञज्यूहरूबाट प्रस्तुत कार्यपत्र तथा छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सबै लाभान्वित हुनुका साथै यसबाट प्राप्त सुझाव तथा छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दछु । दुई दिनसम्म सञ्चालन हुने यस महत्त्वपूर्ण कार्यक्रममा यहाँहरू अभिरुचिपूर्वक सहभागी हुनुहुने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । सरकार राष्ट्रिय व्यावसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउँछु ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर