नेभिगेसन मेनु

रुसी सेनामा भर्ती गर्न नेपाली युवाको तस्करी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-07 13:42

passport-baramad2023-12-07-08-32-14

युद्धग्रस्त रुसको सैनिकमा भर्ना गर्ने प्रलोभनमा नेपालबाट मानव तस्करी गर्ने अभियुक्तविरुद्धको मुद्दा कमजोर हुन देखिएको छ । उनीहरूविरुद्ध किटानी जाहेरी दिने कुनै पीडित सम्पर्कमा नआएपछि मुद्दा कमजोर हुने देखिएको प्रहरीले जनाएको छ ।

एक साताअघि जिल्ला प्रहरी परिसर काठमाडौंले रुसी सैनिकमा भर्ना गर्ने प्रलोभनमा नेपाली युवा तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । किटानी जाहेरी दिन कुनै पीडित सम्पर्कमा नआएपछि उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूबाट प्रहरीले रुसी सैनिकमा भर्ना गर्न भन्दै संकलन गरिएका ४३ वटा पासपोर्ट बरामद गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिबहादुर विश्वकर्मा, सन्तोष रोका, मनीष न्यौपाने, रोजल महर्जन, क्षितिज गिरी, दिपेन परियार, सुवास लामा, गोकर्ण अर्याल, सन्तोष नेपाल, सुजाता दाहाल, ईश्वर अधिकारी र द्रोणा डाँगी छन् । जसमध्ये विश्वकर्मा, दाहाल र अधिकारी छुट्टाछुट्टै गिरोहका मुख्य नाइके हुन् ।

एसएसपी भूपेन्द्र खत्री, प्रमुख, प्रहरी परिसर काठमाडौं

रुसी सैनिकमा भर्ना गर्ने प्रलोभनमा नेपाली युवा तस्करी गर्ने घटनामा संलग्न १२ जना पक्राउ परेका छन् । उनीहरूबाट विभिन्न व्यक्तिको पासपोर्ट पनि बरामद भएको छ । तर, हालसम्म उनीहरूविरुद्ध किटानी जाहेरी परेको छैन । त्यसकारण अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढेको छ ।

विश्वकर्माको काठमाडौंमा मेनपावर कम्पनी छ । पूर्वसैनिक विश्वकर्माले पछिल्लोपटक दुई समूह गरी १८ युवालाई रसिया पठाइसकेका छन् । दाहालको काठमाडौंमा कन्सल्टेन्सी छ । उनले विद्यार्थी तथा भिजिट भिसामा नेपाली युवा रसिया पठाउँदै आएकी थिइन् । प्रहरीले उनको कन्सल्टेन्सीबाट २७ थान राहदानी बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरू रुसी सैनिकमा जान तयार भएका युवा हुन् । दाहालको साथबाट प्रहरीले १४ लाख १८ हजार पाँच सय रुपैयाँ पनि बरामद गरेको छ । अधिकारीका दाजु पनि काठमाडौंमा मेनपावर कम्पनी चलाउँछन् । उनले सोही मेनपावरबाट भिजिट भिसामा नेपाली युवा रसिया तस्कर गर्दै आएका थिए । उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिको १६ थान राहदानी र १३ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पक्राउ परेकाविरुद्ध हालसम्म किटानी जाहेरी दिन कोही सम्पर्कमा नआएको हुँदा अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिए । ‘रुसी सैनिकमा भर्ना गर्ने प्रलोभनमा नेपाली युवा तस्करी गर्ने घटनामा संलग्न १२ जना पक्राउ परेका छन् । उनीहरूबाट विभिन्न व्यक्तिको पासपोर्ट पनि बरामद भएको छ । तर, हालसम्म उनीहरूविरुद्ध किटानी जाहेरी परेको छैन । त्यसकारण अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढेको छ,’ उनले भने ।

तस्कर समूहले प्रतिव्यक्ति सात लाखदेखि आठ लाख रुपैयाँ असुलेर नेपाली युवालाई रसिया तस्करी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले हवाई र स्थल दुवै मार्ग प्रयोग गरी युवा रसिया पुर्‍याउँथे । उनीहरूले हवाई मार्गका लागि नेपाल, भारत र गल्फ मुलुक प्रयोग गर्थे । स्थल मार्गका लागि नेपाल र भारतको बाटो प्रयोग गर्थे । सैनिकमा भर्ती गर्न बन्धक बनाएर तालिम दिलाइन्थ्यो ।

त्यसपछि युद्धको अग्रमोर्चामा युवालाई खटाइन्थ्यो । यसबापत प्रतियुवा दुई लाख रुपैयाँ मासिक तलब हुने भनिएको थियो । ‘यिनीहरूले प्रतिव्यक्ति सात लाखदेखि आठ लाख रुपैयाँ असुलेर भिजिट र स्टुडेन्ट भिसामा हवाई र स्थल मार्ग प्रयोग गरी युवालाई रसिया पठाउँदै आएका थिए । सैनिकमा भर्ती गर्नुअघि तालिम दिन्थे । र, युद्धको अग्रमोर्चामा उनीहरूलाई खटाउँथे । यसबापत प्रतियुवा दुई लाख रुपैयाँ तलब हुने भनिएको थियो,’ काठमाडौं परिसरका डिएसपी अंगुर जिसीले भने ।

पीडित नै ‘होस्टायल’ 

रुसी सैनिक भर्ती हुन गएका नेपाली युवाहरू रसियामा अलपत्र परेपछि मुस्किलले नेपाल फर्के । आफूहरू पीडामा परेको र घटनाको अनुसन्धान गर्न भन्दै उनीहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगे । प्रहरीले घटनाको अनुसन्धान अघि बढायो । घटनामा संलग्न १२ जना पक्राउ परे । खबरले तस्करहरूमा खैलाबैला मच्चायो । उनीहरूले पीडितलाई सम्पर्कमा बोलाए । रसिया पठाइदिने भनेर असुलेका सम्पूर्ण रकम हतारहतार फिर्ता गरे । र, प्रहरीमा जाहेरी नदिन भन्दै धम्की दिन थाले । तस्कर समूहले दिएको धम्कीबाट डराएका पीडित अहिले प्रहरीमा उनीहरूविरुद्ध जाहेरी दिन मानिरहेका छैनन् । ‘रुसमा अलपत्र परेका पीडित हामीकहाँ आएका थिए । उनीहरूकै सूचनाका आधारमा हामीले अनुसन्धान अघि बढायौँ । १२ जना पक्राउ पनि परे । त्यसवेलासम्म तस्करका गिरोहले पीडितलाई भेटेर ‘होस्टायल’ गरिसकेका रहेछन् । अहिले उनीहरू तस्करविरुद्ध जाहेरी दिनै मानिरहेका छैनन्,’ डिएसपी जिसीले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर