नेभिगेसन मेनु

भूकम्पपीडितको आँगनमा आएन तिहार
सम्पादक:南亚网络电视
लेखक: रासस
समय:2023-11-16 13:10

jajarkot-vukampa

जाजरकोट भूकम्पले मानवीयसँगै ठुलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया  भूमिका शाही मल्ल  र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए । 

यता आठबीसकोट नगरपालिका-१३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठुलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट-१३ हम्पाका लक्ष्मण शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।”

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका-१३ भल्माका हरिबहादुर ओलीले बताउनुभयो । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताउनुभयो ।

त्रिपाल लगाएर बारीमै चिसो रात काट्नुपर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताउनुभयो । यो वर्ष तिहारले नछोए पनि  विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गर्नुभयो । उहाँले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा  तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर