नेभिगेसन मेनु

खेल पूर्वाधार निर्माणमा ध्यान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 12:27

Untitled-1 (1)

सुर्खेत, कात्तिक २ गते । कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी वर्ष आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला जिल्लामा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

भएका पूर्वाधारलाई मर्मतसम्भारसहित नयाँ पूर्वाधारको विकास गर्न लागिएको हो । कुन जिल्लामा के के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा अध्ययन गरिएको थियो । दैलेख र रुकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिने कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कभर्ड हल मर्मतका लागि लागत अनुमान तयार भएको छ । रुकुमपश्चिममा कभर्ड हलका लागि करिब २२ लाखको लागत अनुमान छ । तत्काल कभर्ड हल मर्मतको काम सुरु गरिने जिल्ला खेलकुद विकास समिति रुकुमपश्चिमका अध्यक्ष शैलेश शर्माले बताउनुभयो । २०७२ मा रुकुमपश्चिममा कभर्ड हल निर्माणको काम थालिएको थियो ।

दैलेखमा बनेको कभर्ड हलको समेत मर्मत गर्न लागिएको छ । राष्ट्रिय मापदण्ड अनुसार कभर्ड हल मर्मत गरिने भएको हो । मर्मतका लागि १५ लाखको लागत अनुमान तयार भएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिनुभयो । कभर्ड हल मर्मत गरेर तयारी खेलसमेत खेलाइने छ । जुम्ला र हुम्लामा पनि खेल मैदान निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको सञ्ज्यालले जानकारी दिनुभएको छ । जाजरकोट र कालीकोटमा थप बजेटको व्यवस्था गरेर नयाँ कभर्ड हल निर्माणको प्रक्रिया अघि बढाइएको छ । पालिकास्तरमा पनि खेलकुदका संरचना निर्माण भइरहेका छन् । रुकुमपश्चिमको सानी भेरी गाउँपालिकाले पालिकास्तरीय रङ्गशाला निर्माण सुरु गरेको छ । तीन तहका सरकारको संयुक्त लगानीमा खेलकुद रङ्गशाला बनाउन लागिएको हो । प्रदेश सरकारको २० लाख र सङ्घीय सरकारको १५ लाख, गाउँपालिकाको १३ लाख लागतमा खेलकुद रङ्गशाला निर्माण गरिएको हो । पालिकास्तरीय खेलकुद रङ्गशालाको काम भइरहेको गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । २०७८ बाट खेलकुद रङ्गशालाको निर्माण थालिएको हो । डिपिआर अनुसार १३ करोडको लागत अनुमान छ ।

पैँसट्ठी प्रतिशत काम सम्पन्न

वीरेन्द्रनगरस्थित प्रदेश गौरवको रङ्गशाला निर्माणको काम पनि अन्तिम चरणमा पुग्न थालेको छ । हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्ड हलको ‘स्ट्रक्चर’ को सबै काम सम्पन्न भएको छ । फुटबल मैदानको काम पनि सकिएको छ भने प्याराफिट निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ । अहिले आन्तरिक भित्री बाटो निर्माण, पार्किङ स्थल निर्माण, व्यापारिक सटर निर्माण र मार्सल आटर्सको कभर्ड हल निर्माणको काम धमाधम भइरहेको छ ।

प्रदेश रङ्गशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । फुटबल मैदानका साथै भलिबल कभर्ड हल, एथलेटिक्स ट्र्याक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै भिआइपी प्याराफिटको दुई तले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङसहित एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने परिषद्ले जनाएको छ ।

प्रदेश रङ्गशालामै ह्यान्डबल र बासकेट बललगायत खेलका लागि आउटडोर पनि बनाइने छ । निर्माण थालिएका सबै संरचना प्रतियोगिता हुनुअगावै पूर्ण रूपमा तयारी अवस्थामा राखिने गरी तयारीमा लागेको हो । सञ्ज्यालका अनुसार प्रदेश रङ्गशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । तोकिएको समयसीमाभित्र निर्माणाधीन रङ्गशाला सम्पन्न हुने दाबी सदस्य सचिव सञ्ज्यालको छ । रङ्गशालाको वित्तीय प्रगति ६० प्रतिशत भएको जनाइएको छ । हालसम्म ९० करोड खर्च भइसकेको भइसकेको छ । रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि एक अर्ब ४७ लाख ४७ हजार छ सय रुपियाँ लागत लाग्ने छ ।

चार्डपर्वमा काम नरोकिने 

दसैँतिहारजस्ता चार्डपर्वमा समेत रङ्गशाला निर्माणको काम नरोकिने भएको छ । एक÷दुई दिन केही कामदार बिदामा गए पनि काम भने चलिरहने परिषद्का सदस्य सचिव सञ्ज्यालले जानकारी दिनुभयो । अहिले रङ्गशालामा करिब डेढ सयको हाराहारीमा कामदार छन् । तोकिएमै मितिमा काम सम्पन्न गर्नका लागि काम रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर