नेभिगेसन मेनु

वर्षाले बगायो करोडौंँ खर्चिएका कच्ची सडक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-08 12:02

Untitled-1 (2)

जाजरकोट, भदौ २२ गते । कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा निर्माण गरिएका २८ वटा सडक वर्षाले कामै नलाग्ने भएका छन् । नेताको पहुँचका आधारमा चल्लालाई कनिका छरे जसरी बजेट विनियोजन गरी र वातावरणीय प्रभाव मूल्याङ्कनबिना खनिएका  सडक वर्षाका भलबाढीले बगाएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

ठाउँ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पैदल हिँड्नसमेत नसकिने अवस्था रहेको छ । बारेकोट गाउँपालिका–८ को कोल्यानी–छुतिपाल्ती–बण्डाला सडकमा ४० लाख रुपियाँ बजेट विनियोजन गरी सडक निर्माण गरिएकामा अहिले सो सडक सामान्य रूपमा हिँड्न मिल्ने अवस्थासमेत नभएको स्थानीयले बताएका छन् । बारेकोट–८ कै कोल्यानी–कान्छाबाडा–डाँडागाउँ सडक अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडागाड नगरपालिका–१२ को बल्लेहाडेइला सडकका लागि १५ लाख, बारेको–५, करुका कार्कीज्युलाका लागि ५० लाख, बारेकोट–४, रावतजिरी–भगवती माध्यमिक विद्यालयदेखि एकीकृत बस्तीसम्म सडक निर्माण गर्न १० लाख रुपियाँमा बजेट विनियोजन गरिएको थियो ।

बारेकोट–९, सक्ला खट्कटादेखि सक्लाटोलसम्म सडक निर्माण गर्न सात लाख, जुनीचाँदे–४, बिरा मेलटाकुरी–बिरा सडक निर्माण १५ लाख र नलगाड–१३ मा उखालेदेखि तल्लो हितानगाउँसम्म १५ लाखमा खनिएको थियो । चिप्लेटा–चौखेढुङ्गा–बराथान–रिमिदारा सडक बनाउन ५० लाख, लामातरा–साल्तडा–रावटेडाँडा हुँदै रात्ती खालीसम्मको सडक १० लाख खर्चेर बनाइएको थियो । 

शिवालय–२ को खनेटा–देउली सडक निर्माणमा २० लाख, नलगाड–१ को उर्मेढुङ्गादेखि जुरेली सडक निर्माण १४ लाख, नलगाड–५ को रानीखेत जिरो प्वाइन्ट भई थर्पपाटा रगुनाथ जोड्ने सडकमा १० लाख गरी २८ वटा सडक निर्माण गरिएको थियो । यीमध्ये अधिकांश सडकमा हाल गाडी चल्नु त कता हो कता पैदल हिँड्नसमेत मुस्किल रहेको स्थानीयको भनाइ छ । पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले वातावरणीय प्रभाव मूल्याङ्कनबिना हचुवाको भरमा पहुँचको आधारमा खन्दा यस्तो अवस्था आएको बताउनुभयो ।

च्याछरा सडक मर्मत

हुम्ला समाचारदाताका अनुसार कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको च्याछरा खण्डको सडक जनश्रमदानद्वारा मर्मत गरिएको छ । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार जनप्रतिनिधि, कर्मचारी, यातायात व्यवसायी र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । च्याछरामा यातायातका साधन सञ्चालनमा समस्या भएपछि जनश्रमदानबाट सडक मर्मत गरिएको हो ।

उहाँका अनुसार निर्माण व्यवसायीले सडक मर्मतमा मेसिन सहयोग गरेका थिए । मेसिनले चट्टानी भिरलाई छिचोल्ने, गारो लगाउने, सडकमा बगेको पानीलाई दुई पाइपलाइन बिछ्याएर पानी किनारा लगाउने काम गरिएको थियो । च्याछराको दुईतिर गरी करिब चार सय मिटर सडकको मर्मत गरिएपछि यातायातका साधन सञ्चालनमा सहजता भएको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर