काठमाडौँ — गोकर्णेश्वर नगरपालिका–९ मा स्थित गुम्बाका ४ बालबालिकामा बुधबार दादुरा संक्रमण पुष्टि भयो । एक जनामा लक्षण देखिएपछि पाँच जनाको रगत परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो ।
लक्षण देखिएका १६ बालबालिकालाई आइसोलेसनमा राखिएकाले समुदायमा फैलन नपाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । त्यहाँ रहेका अधिकांशले एउटा पनि दादुराको खोप नलगाएको पाइएको छ ।
गत पुसमा बाँकेको नेपालगन्जबाट सुरु भएको संक्रमण सुर्खेत, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, बाजुरा, चितवन, महोत्तरी, धनुषा, कपिलवस्तु, अर्धाखाँची, सर्लाही, सुनसरी र मोरङ गरी १५ जिल्लामा फैलिसकेको छ । दुई वर्षअघि ललितपुरको भैंसेपाटी र काठमाडौंको कागेश्वरीमा पनि दादुरा फैलिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषित बाँकेमा गत पुसमा दादुरा संक्रमणले एक जनाको मृत्युसमेत भएको थियो ।
‘हाल देखिएको दादुरा संक्रमणको इपिसेन्टर बाँके हो । पश्चिम नेपालबाट फैलिँदै पूर्वको सुनसरी–मोरङसम्म पुगिसक्यो, अहिले देशको राजधानीमा समेत देखियो,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले भने, ‘दसैं–तिहारसम्म महामारीकै रूप लिन सक्ने देखिन्छ ।’ संक्रमण देखिनुमा स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको कमजोरी रहेको उनको भनाइ छ ।
ईडीसीडीकै अर्का पूर्वनिर्देशक डा. जीडी ठाकुर दादुरा अत्यन्त संक्रामक भएकाले एक जनामा मात्र संक्रमण पुष्टि भए यसलाई ‘आउट ब्रेक’ अर्थात् प्रकोपका रूपमा बुझ्नुपर्ने बताउँछन् । ‘खोप लगाउन छुटेका ५ देखि १० प्रतिशत बालबालिकाका कारण पनि आउटब्रेक हुने जोखिम रहन्छ,’ उनले भने, ‘कागजमा मात्रै कभरेज भइरहेको जस्तो देखिन्छ, जसले खोप कार्यक्रम प्रभावकारी भएन भन्ने बुझिन्छ ।’ संक्रमणले देशव्यापी रूप लिन नदिन तत्काल खोप कार्यक्रम सुरु गर्नुपर्ने उनले बताए ।
सरकारले जोखिममा रहेका ९ जिल्लामा बिहीबारबाट खोप अभियान सञ्चालन गरेको छ । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । खोप शाखाका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा अभियान सञ्चालन गरिनेछ । नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र केन्द्रबारे जानकारी लिन र खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले संक्रमण अन्य जिल्लामा समेत फैलन सक्ने जोखिम रहेको बताए ।
दादुरा नेपालमा बर्सेनि फाट्टफुट्ट जिल्लामा देखिँदै आइरहेको छ । करिब ६ महिनाको अवधिमा १७ जिल्लाका ११ सय बालबालिकामा दादुरा पुष्टि भइसकेको छ । खोप शाखाका अनुसार दुई मात्रा लगाउनुपर्नेमा केही बालबालिकाले एक मात्रा खोप लगाएको र करिब ४० प्रतिशतले एउटा पनि खोप नलगाएको पाइएको थियो ।
सन् २०१९ सम्ममा दादुरा उन्मूलन गरिसक्ने नेपालको लक्ष्य थियो । लक्ष्य पूरा नहुने भएपछि सन् २०२३ सम्ममा उन्मूलन गर्ने प्रतिबद्धता जनायो । अब यो लक्ष्य सन् २०२६ सम्मका लागि सारिएको छ । बर्सेनि दादुरा संक्रमित बिरामी पुष्टि भइराख्नुले नेपालले दादुरा निवारणमा लिएको लक्ष्य भेट्नै कठिन देखिन्छ ।
खोप पहुँचमा छैनन् बालबालिका
नेपालमा दादुराविरुद्धको खोप सन् १९७९ बाट लगाउन सुरु गरिएको हो । एक डोजले कम्तीमा ८५ प्रतिशत प्रतिरक्षा शक्ति प्रदान गर्छ । दुई डोजले करिब सय प्रतिशतसम्म बालबालिका पूर्ण रूपमा सुरक्षित हुन्छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशतले खोपै लगाएका छैनन् । ९ महिनासम्म खोप लगाए पनि पूर्ण खोप लगाउने समयसम्म धेरैजसो ‘ड्रप आउट’ हुने तथ्यांकमा देखिन्छ । नेपालमा पहिलो खोप लगाउने ९५ प्रतिशतभन्दा बढी भए पनि ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् ।
खोपप्रतिको महत्त्व कम हुनु, खोप अभियान फितलो हुनु, खोपमा पहुँच नहुनुजस्ता कारण बालबालिका खोपबाट वञ्चित हुन पुगेका छन् । कोभिड महामारीले पनि धेरै बालबालिकाले खोप लगाउन नपाएको अनुमान गर्न सकिन्छ । दादुरा निवारणका लागि ९५ प्रतिशतले खोप लगाएको हुनुपर्छ । विज्ञहरूका अनुसार एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भए दादुरालाई महामारीका रूपमा लिने गरिन्छ । दादुरा–रुबेला रोगबाट पूर्णरुपमा बचाउन नियमित खोपमार्फत बालबालिकालाई ९ महिना पुगेपछि पहिलो र १५ महिना पुगेपछि दोस्रो मात्रा लगाउनैपर्छ । कारणवश खोपको कुनै मात्रा छुटेमा २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा लगाउनुपर्ने विज्ञहरूको भनाइ छ । विश्व स्वास्थ्यले संगठनले परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिनासम्म संक्रमण देखा नपरेको र ३ वर्षसम्म सोही अवस्था कायम भए दादुरा निवारण भएको मान्न सकिने बताएको छ ।
परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारी खुला सिमाना, बसाइँसराइले पनि दादुरा फैलिन सक्ने बताउँछन् । ‘ज्यालादारी गर्ने मजदुरका बालबालिका बढी समस्यामा छन्, अभिभावक कामका लागि नयाँ–नयाँ ठाउँमा गइराख्ने भएकाले खोपको पहुँचबारे थाहा नपाएको हुन सक्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि त्यसको ट्र्याकिङ गर्न गाह्रो छ । कतिपय खोप लगाउनै हिचकिचाउँछन्, त्यसैले पनि संक्रमण फैलिएको देखिन्छ ।’ यिनै कारण दादुरा निवारणमा बर्सेनि चुनौती थपिँदै गइरहेको उनले बताए । ‘संक्रामक रोगको चुनौती घना बस्तीमा बढी देखिन्छ । एउटा वडामा मात्र खोपको कभरेज राम्रो छैन भने पनि निवारण गर्न गाह्रो छ,’ उनले भने, ‘सबैले आफ्नोतर्फबाट विशेष गरी स्थानीय तहले यसमा बढी जोड दिनुपर्छ ।’
खोप शाखाका अनुसार ९ महिनासम्म खोप दिन अभिभावकहरू सचेत भए पनि १२ र १५ महिनामा लिनुपर्ने खोपको जानकारी कममा देखिन्छ । ‘पहिलो मात्रा लिइसकेपछि अर्को मात्रा मात्रा लिनुपर्छ भन्नेमा कतिपयको ध्यान जाँदैन । त्यसले खोप कभरेज कम देखिन्छ,’ अधिकृत भण्डारी भन्छन्, ‘समग्रमा हेर्दा कभरेज ९२ प्रतिशत जति छ ।’
के हो दादुरा ?
मिजल्स भाइरसका कारण दादुरा संक्रमण हुन्छ । संक्रमण छिटो फैलने दादुराबाट मृत्युदर पनि उच्च रहन्छ । १ जना संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्छन् । बालबालिका मात्रै होइन यो रोग कुनै पनि उमेरकालाई लाग्न सक्छ । अति संक्रामक भएकै कारण यसले छिट्टै महामारीको रूप लिन सक्छ । संक्रमितले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अकर्को व्यक्तिमा दादुरा सर्छ ।
बालमृत्युको कारणमध्ये दादुरा एक प्रमुख कारण मानिन्छ । रुबेला पनि ‘रुबेला भाइरस’ कै कारण हुने दादुराजस्तै संक्रामक रोग हो । यी रोग प्रायः ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलता देखिनुका साथै मृत्युसमेत हुन सक्छ । रुबेलाको असर दादुराभन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा संक्रमण भए गर्भपतन हुने, समय नपुगी वा मृत बच्चा जन्मने तथा जन्मजात विकलांगजस्तो समस्या देखापर्न सक्छ ।
संक्रमितको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण ज्वरो देखापर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखिन्छ । घाँटीको माथिल्लो भागमा धेरै दिनपछि बिबिरा निस्किन्छ । यो करिब ३ दिनमा शरीरभरि फैलिन्छ र एक सातासम्म रहनछ । भाइरसको सम्पर्कमा आएको सातदेखि अठार दिनभित्र त्यस्तो बिबिरा देखिने विज्ञहरूको भनाइ छ ।
पाँच वर्षमुनिका बालबालिका वा ३० वर्षमाथिका वयस्कमा जटिल संक्रमण देखिने डब्लूएचओले जनाएको छ । यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन देखिन्छ । मस्तिष्कमा कडा खालको सुजन वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताले मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका, कुपोषित बालबालिकालाई दादुराको संक्रमणको जोखिम बढी हुन्छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कात्तिकमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउन, पोसिलो खानेकुरा दिन, सरसफाइमा ध्यान पुर्याउन, ९ महिना र १५ महिनाका बालबालिकालाई दादुरा र रुबेला मिश्रित खोप २ मात्रा अनिवार्य लगाउन चिकित्सकहरूको सुझाव छ ।