अनुसन्धान र संरक्षणमा संलग्न प्रहरी तथा संरक्षणकर्मीलाई अहिले तस्करीमा सांगठनिक अपराधका प्रविधि पत्ता लगाउनु टाउको दुखाइको विषय बनेको छ। अपराधको प्रवृत्ति र प्रकृति फरक भएसँगै थप चुनौती थपिएको छ।
काठमाडौं : पाँच वर्षअघि चीनको स्टेट काउन्सिल (मन्त्रिपरिषद्)ले एउटा नीति जारी गर्दै भन्यो, ‘चिकित्सा अनुसन्धान या उपचारका लागि गैंडा र बाघका हड्डीहरूको उपयोगलाई वैध बनाइएको छ।’ चीनले उक्त निर्णय गर्नसाथ विश्वभर त्यसको विरोध भयो। विरोधको कारण थियो,– ‘यो निर्णयले गैंडा र बाघको तस्करी बढ्छ। पारिस्थितिक प्रणालीमा असर गर्छ।’
नभन्दै नेपालसहित गैंडा पाउने मुलुकमा यसको तस्करी मौलायो। तस्करले फरक–फरक तरिका अपनाउँदै गैंडाको खाग निकाल्न गैंडा मार्न थाले। नेपालमा आर्थिक वर्ष २०७९/०८० मात्रै तीन वटा गैंडा तस्करको निसानामा परे। मारिने तीनै गैंडा चितवनका थिए। पहिले खाडल खनेर गैंडा फसाउने तस्करले अहिले करेन्ट लगाएर मारेको अनुसन्धानबाट पुष्टि भयो। पछिल्लो समय तस्करीमा संलग्न व्यक्तिले प्रविधिको प्रयोग गर्दै गैंडाको हाडखोर निकाल्न गैंडा मार्ने गरेको संरक्षणकर्मी बताउँछन्। भन्छन्, ‘यस्ले गैंडाको संरक्षणमा चुनौती थपिएको छ।’
अनुसन्धान र संरक्षणमा संलग्न प्रहरी तथा संरक्षणकर्मीलाई अहिले तस्करीमा सांगठनिक अपराधका प्रविधि पत्ता लगाउनु टाउको दुखाइको विषय बनेको छ। अपराधको प्रवृत्ति र प्रकृति फरक भएसँगै थप चुनौती थपिएको छ। तस्करहरू प्रविधिमा अभ्यस्त हुँदै नयाँ तरिकाले चोरी सिकारी गर्न थालेपछि संरक्षणकर्मीहरूले निकुञ्जहरू सुस्ताएको र तस्करहरू बाठो भएको आलोचनासमेत गर्दै आएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीका अनुसार यस आर्थिक वर्षमा तीनवटा गैंडा तस्करहरूले मारेका छन्। गत मंसिरमा सामुदायिक डिभिजनल वन चितवनमा एउटा गैंडा मारेका थिए। फेरि माघमा चितवनमा दुई गैंडा मारे। नारायणी नदीको पश्चिम किनारामा १४ वर्षको पोथी र ४ वर्षको बच्चा मरेको अवस्थामा भेटिएका थिए।
गैंडा मारिएको क्षेत्रमा एउटा मन्दिर छ। त्यहाँबाट करेन्ट जोडेर आमा र बच्चा मारेको अनुमान गरिएको छ। आमाको खाग तस्करले लगेका थिए। तर, बच्चाको खाग लगेको थिएन। बच्चाको पनि खाग पलाउन थालिसकेको थियो। वर्ष दिनपछि गैंडाको खाग पलाउन थाल्छ। बच्चाभन्दा वयस्क गैंडाहरू तस्करको तारो बन्ने गर्छन्। बुढो भएपछि खाग चमेराले खाने र खिइँदै जाने गर्छ। उक्त घटनामा बच्चाको खाग नदेखेर या एउटा मात्रै खागको माग भएर पनि तस्करले नलगेको हुन सक्ने अनुमान लगाएको कार्कीले बताए।
तर, यस घटनाले अपराधको ट्रेड सिफ्ट भएको देखिएको कार्की बताउँछन्। भन्छन्, ‘अपराधका आयामहरू फेरिएका छन्। पहिला खाल्डो खनेर स्याउलाले छोप्थे। २०३५ देखि २०४० सालसम्म यस्ता घटना हुन्थे। खाल्डोमा गैंडा खस्न लागेपछि मार्न लैजान्थे। त्यसपछि भालाको प्रयोग गरेको भेटियो। साइलेन्सरको प्रयोग गरे। त्यो गैंडालाई प्रभावकारी भएन। त्यसपछि गोली हानेर मार्न थाले। भरुवा बन्दुक आवाज आउने भएकाले तस्करका लागि समस्या बन्यो। अहिले विद्युतीय पासोमा (इलेक्ट्रिक सक) पारेर मार्ने गर्छन्।
चोरी शिकारी रोक्न सरकारको रणनीति ३२ वटा नीति एकै पटक परिवर्तन गर्ने तयारी प्रविधिलाई बढवा दिने र वन्यजन्तु अपराध ब्युरो सक्रिय बनाउने ६ हजार भन्दा बढी युवा देशैभरी परिचालन ५९२ भन्दा धेरै युनिटको स्थापना गरी निगरानी
कतिपय घटनामा कसरी मारेको भन्ने पत्ता लगाउन मुस्किल पर्छ। किनकि गैंडाको हाडखोर मात्रै पनि भेटिने गर्छन्। कार्कीका अनुसार करेन्ट लाएर मारेको धेरै घटना भएको देखिएको छैन। २०६४ सालमा पहिलो घटना भएको थियो। दोस्रो घटना माघको थियो। यी घटनाहरूले अपराधको आयाम फरक भएको प्रस्ट्याएको छ।
सन् २०२२ को गणनाअनुसार हाल नेपालमा ७ सय ५२ वटा गैंडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ गैंडा छन्। अन्य बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छन्। बाँके राष्ट्रिय निकुञ्जमा समेत बर्दियाबाट केही गैंडा पुगेको हुन सक्ने विभागको भनाइ छ। त्यसैले सबैभन्दा धेरै चोरी सिकारी चितवनमा नै हुँदै आएको छ।
विभागका अनुसार २०७९/०८० मा चितवन राष्ट्रिय निकुञ्जमा १५ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडाको मृत्यु भएको छ। तीमध्ये तीन वटाको चितवनमा चोरी सिकारीबाट मृत्यु भएको छ। त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन २०७८/०७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ३७ वटा गैंडा मरेको उल्लेख छ। त्यसमध्ये ३४ वटाको प्राकृतिक मृत्यु भएको छ। २ वटा चोरी सिकारी र एउटाको खाडलमा परी मृत्यु भएको छ।
‘अपराधका प्रकृति कहिल्यै उस्तै हुँदैनन्’
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार संगठित अपराधीले सञ्जाल विकास गरेकाले चोरी सिकार जटिल बनेको छ। यस्ता समस्या नियन्त्रणका लागि सम्बन्धित निकायको सहकार्य अत्यन्त महत्त्वपूर्ण छ। ‘एकअर्को निकायबीच सहकार्य एकदमै कमजोर छ। निकायहरूबीच समन्वय नभएसम्म, एउटाले मात्रै नियन्त्रण गर्न सक्दैन’ मल्लले थपे ‘सेना, प्रहरी, सशस्त्र, संरक्षणकर्मी, समुदाय सबै एउटै प्लाटफर्ममा आउनै पर्छ।’
आफूले काम गर्ने ठाउँलाई मात्र आफ्नो भूभागको रूपमा हेर्दा थप समस्या भएको उनले बताए। चोरी सिकारको विषयमा ऐन, कानुन, नियम जति कडा गरे पनि कार्यान्वयन नआएसम्म काम नलाग्ने टिप्पणी उनले गरे। विभागले भने जस्तै अपराधका प्रकृति र प्रवृत्ति कहिल्यै पनि एउटै नहुने उनी बताउँछन्। विभिन्न कारणले आयामहरू परिवर्तन भइरहन्छ। त्यसैले सहकार्य र संवाद अति आवश्यक हुन्छ।
नेपाल प्रहरीको डाटाबेसमा समेत वन्यजन्तु अपराध समावेश नभएकोमा उनले गुनासो गरे। मल्लले थपे ‘तथ्यांक व्यवस्थापनका लागि डाटाबेसमा काम भएको छैन। यसले ट्रेड विश्लेषण गर्न अप्ठेरो बनाएको छ।’ ३५ वर्षको अनुसन्धान जीवनमा उनले नेपालमा मारेको जनावरको सूचना लुकाउने प्रचलन देखेको बताए। वास्तविक कुरा बाहिर नआएसम्म काम गर्न जटिलता हुने बताए।
चीन, भारत र नेपालमा अपराधीको सञ्जाल
मल्लका अनुसार संगठित अपराधीले एक प्रकारको सञ्जाल नेपाल, भारत र चीनमा विकास गरेका छन्। वन्यजन्तु अंगको सबैभन्दा ठूलो बजार चीन हो। भारतमा बाघ मारेर नेपाल हुँदै चीन पुग्छ। एउटा मान्छेले यो काम गर्न सक्दैन। त्यसका लागि तीन वटा देशको अपराधीहरू तल्लो तहको बजारसम्मका लागि एक प्रकारको सञ्जाल विकास गर्छन्। वन्यजन्तु मार्ने, मारेपछि भण्डारण गर्ने, नेपालदेखि चीनसम्म पुर्याउनका लागि एउटा सञ्जाल आवश्यक पर्छ।
त्यो सञ्जाल पहिला राम्रो थिएन। अहिले प्रविधिहरूले झन् सजिलो बनाएको छ। एकअर्कामा सञ्चार गर्न प्रविधिले साथ दिएकाले गिरोहलाई थप फाइदा पुगेको छ। तीन वटा देशबाहेक पनि सञ्जालको विकास भएको छ। पाकिस्तान, भारतमा केही जनावर पाल्न वैध गरेको छ।
कति गैंडा मरे/मारिए ?
२०६५–२०७५ सम्ममा देशभर : २३२ २०७८–०७९ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा – ३७ २०७९–०८० मा चितवन र बर्दियामा : १७
कति छन् गैंडा ?
सन् २०२२ को गणना अनुसार नेपालमा गैडाको संख्या : ७५२ चितवन राष्ट्रिय निकुन्जमा : ६९४ बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा : ५८
पाकिस्तानमा बाघ पनि ल्याउन पाइन्छ। अफ्रिकाबाट आउने चेन र नेपालबाट पाकिस्तान पुग्ने चेनहरू हेर्दा यहाँबाट चीनसम्म पनि सञ्जाल विकास भएको हो। त्यसैगरी अफ्रिकाबाट नेपालसम्म पनि गिरोहका सञ्जाल विकास भएको छ। त्यसैले अनुसन्धानमा दक्ष जनशक्तिसहितको सहकार्य अत्यन्त आवश्यक रहेको उनले जनाए।
द्वन्द्वमा बढेको थियो चोरी सिकार
द्वन्द्वकालमा चितवनमा मात्रै वर्ष दिनमा ४० वटा गैंडा तस्करी भएको रेकर्ड विभागसँग छ। सन् २००२ मा चितवनमा ४० र बर्दियामा २ वटा गैंडा चोरी सिकारीमा परेका थिए। त्यसैगरी सन् २००३ मा चितवनमा २० र बर्दियामा ९ वटा गैंडा चोरी सिकारीमा परेका थिए।
हर्न ट्रिमिङदेखि साइलेन्ट गनको प्रयोगसम्म
गैंडाको हर्न ट्रिमिङ गर्ने र डार्ड गरेर चिप्स राख्ने र पोचर पत्ता लगाउने प्रविधि केन्या र साउथ अमेरिकामा गरिएको छ। त्यस्तै प्रविधि नेपालमा पनि अपनाउनु पर्ने हुन्छ। भारतमा अपराधीहरूले आवाज नआउने बन्दुकले वन्यजन्तु मार्न थालेका छन्। नेपालमा पनि त्यसैगरी मार्न सक्छन् भन्ने विषयमा सचेत रहेको कार्कीले बताए। अन्य देशमा गैंडालाई डार्ट गरेर खागमात्रै निकाल्ने प्रविधि पनि ल्याएको सुन्नमा आएको उनले बताए। अपराधीहरूले दीर्घकालीन फाइदाको रूपमा यो प्रविधि ल्याएको हुन सक्छ। खाग नङ काटेजस्तै हो। पुन : पलाउँछ। त्यसैले सतर्क भएर बस्नुपर्ने उनले बताए।
अपराधका प्याटर्न परिवर्तन भएकाले लामो समय चोरी सिकारी भएन भनेर चुप लागेर बस्ने अवस्था हुँदैन। कस्ले, कहाँ, कुन प्रविधि प्रयोग गरिरहेको छ त्यस विषयमा जानकार नभएको हुन सक्ने बताए।
के गर्दैछ सरकार ?
आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सरकारले नीति परिवर्तन गरेर काम गर्न लागेको विभागको जानकारी छ। ३२ वटा नीति एकै पटक परिवर्तन गर्न तयार रहेको र अपराध केन्द्रित कार्यक्रमहरू ल्याएको समेत बताउँछ। प्रविधिलाई अझ बढावा दिने, वन्यजन्तु अपराध ब्युरो र मातहतका सबैलाई सरकारले परामर्शका काम अगाडि बढाउन तम्तयार रहेको जनाएको छ।
त्यसैगरी समुदायमा आधारित एन्टी पोचिङ युनिट (सीबीएपीयू) मा ६ हजारभन्दा बढी युवा देशैभरि परिचालित छन्। ५ सय ९२ भन्दा धेरै युनिटहरू छन्। यी युनिटहरू सक्रिय रूपमा सञ्चालित गर्न कार्यक्रमहरू छैनन्। त्यसलाई सुधार गरेर काम गर्न विभाग लागिरहेको छ।
मानव वन्यजन्तु द्वन्द्व
कतिपय ठाउँमा मानव वन्यजन्तु द्वन्द्वका कारण पनि अपराध बढेको छ। वन्यजन्तु नमारे पनि दु : ख दिने गरेको देखिन्छ। बासस्थान साँघुरो भएपछि खाना खोज्दै जंगलबाट बाहिर निस्कँदा, अन्नबाली नोक्सान गर्ने, घरमा क्षति पुर्याउने गर्छन्। मान्छेले प्रतिक्रिया गर्दा घाउचोट लाग्ने, घाइते हुने, मार्नेसमेत हुन्छ। द्वन्द्वलाई घटाउने गरी कार्यक्रमहरू ल्याएर सुधार गर्न आवश्यक छ।
विश्व वन्यजन्तु कोषले खागबाट परम्परागत चाइनिज औषधि बनाउन प्रयोग हुने मान्यता रहेकाले चोरी सिकारी यस्ता प्रजातिमा एकदमै जोखिम रहेको उल्लेख गरेको छ। अन्नबाली खाइदिने भएकाले प्रतिशोधात्मक रूपमा मानिसहरूले मार्ने तथा आक्रमण गर्ने, जनावरहरूको बासस्थान मिच्ने, उनीहरूको बासस्थान वरिपरि कृषि भूमि बनाउने समस्या छ। त्यसैगरी मिचाहा प्रजाति मिकेनिया मिक्रान्ताजस्ता घाँसले उनीहरूको रैथाने घाँस प्रभाव पारेको छ।
बढ्दो चोरी सिकार
गत वर्ष एकसिंगे गैंडाको मृत्युको ढाँचाको विषयमा सिभिस भण्डारीले गरेको अध्ययनमा नेपालमा गैंडाका जनसंख्या सन् १९६६ पछि अत्यन्त खतराको अवस्थामा पुगेको बताएका छन्। त्यतिबेला जम्मा सय वटा गैंडा थिए। त्यसपछि गैंडाका संख्यामा वृद्धि भएर सन् २००५ मा ४ सय ९ वटा पुगे। उक्त नम्बर बढ्नुमा संरक्षित क्षेत्रको स्थापना तथा संरक्षण कानुनको कार्यान्वयनका कारण अध्ययनमा उल्लेख छ। विद्युतीय पासो र मानिसले विष लगाउँदा गैंडाका मृत्यु बढेको थियो।
विकास निर्माण तथा वन विनाशका कारण पनि उनीहरूको बासस्थान साँघुरिएको छ। त्यसैगरी प्राकृतिक जंगलमा गाईबस्तुको चरन क्षेत्र गैंडालाई थप समस्या बनेको छ। त्यसले उनीहरू संरक्षित क्षेत्रभित्र सीमित हुन पुगेका छन्। त्यसले गैंडाहरू खाना, सम्पर्क तथा आफ्नो–आफ्ना क्षेत्र बनाउँदा जुध्ने गरेका छन्। त्यसले पनि उनीहरूको मृत्यु भएको छ। कतिपय बच्चाहरू बाघका आक्रमणमा पर्दै आएका छन्। चोरी सिकारीले विशेषगरी बच्चाभन्दा वयस्क गैंडाहरू मारेको अध्ययनले देखाएको छ।
सन् २००८ देखि २०१८ सम्ममा २ सय ३२ वटा गैंडा मारिएका थिए। तीमध्ये चोरी सिकारीबाट ८० प्रतिशत गैंडा मारिएको अध्ययनको दाबी छ। आफैं जुँधेर, प्राकृतिक र बाघको आक्रमणमा परेर गैंडा पनि मर्दै आएका छन्। अध्ययनहरूले पाँच सय स्तनधारी प्रजातिहरूको उचित संरक्षण नभए २१औं शताब्दीको अन्त्यसम्म हराएर जान सक्ने आकलन गरेको छ।
संरक्षणमा चुनौती
राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी तथा २२ वर्षदेखि संरक्षणको काममा लागेका तीर्थ लामाका अनुसार कडा सुरक्षाका कारण चोरी सिकारी कमै देखिन्छ। तर, पनि यस्ता प्रजातिको संरक्षण चुनौती बनेको बताउँछन्। कतिपय घटनामा गैंडा मरिसकेपछि मात्रै थाहा पाइन्छ। विष हाल्ने, खाल्डोमा पार्ने र विद्युतीय धरापमा पारेर मरी सकेपछि मात्रै थाहा हुन्छ। जंगलभित्र काम गर्दा कहिलेकाहीँ हाडखोर मात्रै भेटिन्छ।
तर, पछिल्लो समय प्राकृतिक कारणले गैंडाको मृत्युदर बढिरहेको छ। बासस्थानको कमी हुँदा, खाना पर्याप्त नहुँदा, जुध्दा र बाघको आक्रमणबाट मरेका छन्। भालेपोथी लाग्ने बेलामा बच्चाले अवरोध गरेमा बच्चालाई समेत मार्छन्। यिनीहरूले आफ्ना दाह्रालाई हतियार बनाउँछन्। त्यसैले आक्रमण गर्छन्। अर्का संरक्षणकर्मी वीरेन्द्र महतो गैंडाको प्राकृतिक मृत्युको लेखाजोखा हुनुपर्ने बताउँछन्। महतोले भने ‘बर्सेनि ३५, ४० वटा गैंडा मर्नु चानचुने कुरो होइन। यस विषयमा ध्यान जानुपर्छ।’ द्वन्द्वकालमा जत्तिकै संख्यामा मर्नुले कालान्तारमा समस्या निम्त्याउने उनी बताउँछन्।
एकोहोरो र सोझो गैंडाको फाइदा तस्करलाई
गैंडा राति चर्न बस्ती आउने गर्छ। ६२ वटा नाकाबाट नवलपरासीतिर नारायणी तरेर गाउँ पस्ने र बिहान फेरि फर्किने गर्छन्। दिशा एकै ठाउँमा गर्ने, एउटै बाटो हिँड्ने लाटो जनावर हो गैंडा। त्यसैले गैंडा मार्न तस्करलाई सजिलो भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी तथा २२ वर्षदेखि संरक्षणको काममा लागेका तीर्थ लामाले बताए।
विभागका प्रवक्ता कार्कीका अनुसार जरायो, चित्तल, नीलगाईजस्ता दैनिक प्रयोग हुने तर बजारमा मध्यम पैसामा बिक्री हुने खालका प्रजाति पनि चोरी सिकारीको तारो बनेका छन्। त्यस्ता प्रजातिको ठूलो मात्रामा चोरी सिकारी हुँदै आएको छ। ती प्रजातिको एउटा वर्गले प्रयोग गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गिरोह विकास भएको देखिएको छ। पहिला त्यस्तो गिरोह नदेखिएको पनि कार्कीले बताए।
पहिला महँगो प्रजातिको मात्रै सिकार गर्थे। एउटा समूह जीविकोपार्जनका लागि अपराधमा संलग्न हुन्थे। अहिले प्रविधिको प्रयोगबाट पैसा लिनेहरू बढेका छन्। अपराध सञ्जालको माथि बस्नेले पैसाको लागि र तल बस्नेले जीविकोपार्जनका लागि अपराधमा संलग्न रहेको पाइएको छ। सौखका लागि वन्यजन्तुको मासु खाने समस्या चुनौतीपूर्ण बनेको कार्कीले बताए।
तस्करहरूले प्रविधि र आइडिया दु्रत गतिमा परिवर्तन गरिरहेका छन्। त्यसको पहिचान गर्न एकदमै गाह्रो छ। ‘तस्करले प्रयोग गर्ने प्रविधिको ट्याकल गर्ने गरी सरकारले प्रविधिको कसरी विकास गर्न चुनौती बनेको छ’ कार्कीले भने ‘अपराध पत्ता लगाउन कस्ता खालका प्रविधि प्रयोगमा ल्याउने विभागका लागि चुनौती बनेको छ।’