नेभिगेसन मेनु

गुराँस हेर्न 'गुफा पोखरी'
सम्पादक:南亚网络电视
समय:2023-06-02 15:32

25660173-5856-4f3e-a527-bcaa606782b71684543036

पूर्वको गुफा पोखरी क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ। गर्मीको यो मौसममा पनि चिसो भैरहने गुफा पोखरी क्षेत्रमा राष्ट्रिय फूल हेर्न अनि तराईको गर्मी छर्न औधी रमाईलो हुन्छ। हामी पनि तराईको प्रचण्ड गर्मी छल्न र बालबालिकाहरुलाई पहाडी जनजीवन देखाउन बैसाखको पहिलो सप्ताह गुफा पोखरी पुगेका थियौं। 

पूर्व नेपालको सुन्दर हिल स्टेसन हो गुफा पोखरी। पचासको दशकदेखि गुफा पोखरीको पर्यटकीय चर्चा शुरु भएको हो। यसअघि ताप्लेजुङ जाने र मधेस झर्नेहरुको बास बस्ने थलो मात्र थियो गुफा पोखरी। मैले पनि गुफा पोखरीलाई सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले पचासको दशकमा खिचेको फोटोमै पहिलो पटक देखेको हो।

यस पटकको यात्रा तेस्रो पटक थियो मेरो। त्यो बेला डम्बरकृष्ष्णहरु आठ घण्टा हिँडेर पुगेका थिए। अहिले गाडी पुग्छ। दवाव दिने नेतृत्वको अभावले होला, बजेट अभाव देखाउदै दश वर्षदेखि बनाउन शुरु गरेको बाटो अझै तयार हुन सकेको छैन।

टुटे देउरालीबाट गुफा पोखरी जाने बाटो कालोपत्रे भएको खण्डमा धरानबाट एकै दिनमा गुफा पोखरी आउजाउ गर्न सकिने हुन्छ। भारतीय पर्यटकहरुलाई हिँउ खेलाउन सबैभन्दा नजिकै हुन्छ। सडक कालोपत्रे भएको खण्डमा बिहारी पर्यटकका लागि नयाँ र आकर्षक गन्तव्य हुन्छ गुफा पोखरी। 

आकास खुलेको बेला मनमोहक हुन्छ गुफा पोखरी। क्षितिजमा रहेका कञ्चनजंगा र मकालु हिमाल आँखै अगाडि देखिन्छन्। सुर्योदयको लालीसँगै बिहानै पोखरीमा डुबुल्की मार्न आईपुग्छन् हिमालहरु। आकास खुलेको बेला डाँडाहरु परपरसम्म देखिन्छन्। नागी डाँडा, गुरासको जंगल भएका ढापहरु, पारी नुनढाकी बजार, चैनपुर बजार देखिन्छन्। यो बेला हिमाल हेर्न, पहाड छुन, सूर्योदय हेर्न गुफा पोखरी उत्कृष्ट हुन्छ। 

गुफा पोखरी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको संगमस्थल हो। तेह्रथुम, ताप्लेजुङ र संखुवासभा तीन जिल्लामा पर्ने तीनजुरे, मिल्के र जलजले तीन वटा पहाडी क्षेत्रहरु हुन्। टिएमजे वसन्तपुरको सेरोफेरो, गुराँसको राजधानी र सभापोखरी भएको क्षेत्र हो।

तेह्रथुमको बसन्तपुर मास्तिर टुटे देउरालीबाट तीनजुरे शुरु हुन्छ।  तीनजुरेबाट नै गुराँसका जंगलहरु पनि भेटिन शुरु हुन्छन्। तीनजुरेमा रक गार्डेन र पाथीभरा माताको मन्दिर छ। मिल्के क्षेत्रमा ठूलठूला गुराँसका ढापहरु छन्। यहाँका दुई शिखर मानव उत्पत्तिसँग जोडेर प्रचलित छन्। यहाँका मेन्छ्यायाम र मेन्छ्याम नामका शिखरमा पनि युमाथान र भ्युटावर बनाईएको छ। प्रसिद्ध गुफा पोखरी यही मिल्के क्षेत्रमा रहेको छ।

जलजले प्रसिद्ध र पवित्र सभापोखरी रहेको क्षेत्र हो।

समुद्र सतहबाट २,८९० मिटर उचाँईमा रहेको गुफा पोखरीमा एउटा  पोखरी छ। डाडामा छ पोखरी। आकास खुलेर सफा भएको बेला पोखरीमा बिहानै डुबुल्की मार्न आइपुग्छन् हिमालहरु। पोखरीको कञ्चन पानीमा कञ्चनजंगा र मकालुको छायाँ सुन्दर देखिन्छ। पोखरीको उत्तर पट्टी ढिस्कोमो गुराँसको बोट छ। पोखरीको पहिचान बनेको छ गुराँसको त्यो बोट। पर्यटकले खिच्ने हरेक फोटोमा प्रायः ढिस्कोमाथि रहेको त्यो बोट छुटेको हुँदैन। 

संखुवासभाको चैनपुर नगरपालिकामा पर्छ गुफा पोखरी। नजिकै अरु दुइटा साना गाउँ छन्। सुके बजार र जोरपोखरी बजार। तीन गाँउ गरि जम्मा ४० घर छन्। अधिकांश घरमा होटल सञ्चालित छन्। होमस्टे जस्तै गरि चलेका होटलमा मिठो खाना संगै न्यानो आतिथ्यता पाइन्छ।  

अधिकांश शेर्पा र भोटे समुदायको बसोबास छ। गाँउमा लिम्बु, तामाङ र बाहुनहरु पनि छन्। शेर्पा र भोटेहरु याक र चौरी पाल्छन्। पर्यटकहरु उनीहरुले उत्पादन गर्ने चौरीेको छुर्पी र ध्यु तराईदेखि राजधानी सम्म लैजान्छन्। एक हजार दुई सय रुपैयाँमा बिक्री हुन्छ ध्यु र छुर्पि। 

वर्षाद्का तीन महिना बाहेक अरु सबै समय गुफा पोखरी घुम्न रमणीय हुन्छ। जाडोमा हिउँ पर्छ। हिउँले छपक्कै ढाक्दा हिमाल चढे झै लाग्छ। घरका छाना, नांगा डाँडा र गुराँसका बोटहरु सबै सेताम्मे हुन्छन्। चैत वैसाखमा गुराँस फुलेर वातावरण रक्ताम्मे हुन्छ। 

सुके बजारको शिरानमा दुई जुम्ल्याहा शिखर छन्। मेन्छ्याम र मेन्छ्यायाम। ती शिखरमा युमाथानसंगै महादेवथान पनि छ। महादेवथानको कथा रोेचक छ। उहिल्यै सृष्टि रचना पछि मानवहरुको खुसियाली हेर्न महादेव यहाँ आईपुगेछन्। लिम्बु युवायुवती सृष्टि रचनाको खुसियालीमा एक आपसमा हात समातेर धान नाच्दै पालम गाउँदै रहेछन्। उनीहरुको रमाईलोमा महादेव त्यही भुलिएछन्। निकै समय पछि पनि महादेव नआएको देखेर पार्वतीले ध्यानदृष्टिले हेर्दा यहाँ लिम्बु युवतीको हात समातेर महादेव नाचिरहेको देखिछन्। पार्वती पनि लिम्बु युवतीको रुपमा आएर महादेवसंगै नाच्न थालिछन् र महादेवलाई लिएर अलप भईछन्। महादेव पार्वती अलप भएको ठाउँमा महादेवथान बनाईएको छ। स्थानीयका अनुसार त्यहाँ महादेवलाई किरातेश्वरका रुपमा आराधना गरिन्छ।  

द्वन्द्वकालमा केही घरधनीहरु मधेस झरे। द्वन्द्वको रापमा सेकिन नसकेकाहरुका घरहरु घरमुली आउने आसमा जर्जर अवस्थामा पनि  ठिङ्ग उभिएका छन्। गुफा पोखरीमा पर्यटकीय चहलपहल हुन थाले पछि एक दुई घरधनी फर्किएको पनि स्थानीय प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिमा खनालले सुनाईन्।

पहिले पहिले आन्तरिक पर्यटकहरु गुफा पोखरीसम्म पुग्थे। आजभोलि तीनजुरेबाट फर्किन्छन्। गुफा पोखरी पुगेर फर्किन नभ्याइने तर तीनजुरेमा प्रसस्त गुराँस हेरेर फर्किन सकिने भएकाले बास बस्ने गरि जाने पर्यटकहरु घटेको पनि उनले सुनाईन्।

पछिल्लो समय धरान विराटनगरबाट गुराँस हेर्न अत्यधिक पर्यटकहरु तीनजुरे जाने गरेका छन्। तथापी गुफा पोखरीमै पनि शुक्रबार र शनिबार अलि भुईचो हुने गरेको हिमाले बताईन्। 

हिमाका बुवा हरिप्रसाद खनाल त्यहाँका पुराना व्यापारी हुन्। विगतमा काठको सानो घरमा होटल चलाएका उनले अहिले भने पक्की घर बनाएका छन्। उनको घरमा ६ वटा स्तरीय कोठामा पाहुनालाई सुताउने व्यवस्था छ। होटल भने पनि होमस्टे जस्तै गरि सञ्चालन गरेका छन्। स्थानीय शेर्पाहरुका पनि होटल परिवारले सञ्चालन गर्ने भएका कारण न्यानो आतिथ्यता पाईन्छ।

तेह्रथुम र संखुवासभाका स्थानीय ताप्लेजुङ पाथीभरा जादा यही बाटो आउजाउ गर्छन्। उहिले उहिले यो ठाउँमा चौरीका गोठ मात्र थिए। पहाडबाट मधेस झर्नेहरु यही गोठहरुमा बास बसेर जान्थे। मानिसको आउजाउ बढ्न थाले पछि बस्तीको विकास भयो। बस्ती विस्तारै बजारमा परिणत हुदै गयो। बजार बसेपछि सडकको आवश्यकता हुदै गयो। तर, विडम्बना पहाडका कुना कुनामा सडक पुग्दै गयो त्यहीँ सडक हुँदै पहाडबाट मानिसहरु मधेस झर्न थाले।

‘सडक आएपछि विकास आउँछ भन्थे सडक आएसंगै गाउँ रित्तिदै गयो,’ खनालले गुनासो गरे। तथापि गुफा पोखरी वरिपरि जग्गा किन्नेको लहर बढेको पनि उनै खनालले सुनाए। उनले भने, ‘बजारको धेरै जग्गा टुक्रा टुक्रा पारेर कित्ताकाट गरिएको छ।' 

गाउँमा प्रहरी चौकी, स्वास्थ्य केन्द्र, प्राथमिक विद्यालय र सुचना केन्द्र छ। विगतमा यहाँका गुराँस दाउरा बालेर मास्ने  गरिएको थियो। आइयुसिएन भन्ने अन्तराष्ट्रिय संस्थाले सचेतना जगाएपछि गुराँस संरक्षणमा स्थानीयको चासो बढेको छ। जंगलहरु समुदायमा हस्तान्तरण भएपछि गुराँस संरक्षण हुदै गएको छ। गुराँस हेर्न, गुराँसबारे अध्ययन गर्न र गर्मी छल्न गुफा पोखरी कोशी प्रदेशको उत्कृष्ट स्थल हो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर