सलहेश फूलबारी प्रत्येक वैशाख १ गते नयाँ वर्षको वार्षिकी मेलामा मात्रै सीमित हुनपुगेको छ। मधेश प्रदेशको धार्मिक पर्यटीय स्थलका रूपमा विकास हुनुपर्ने चर्चा भए पनि त्यस रूपमा गति लिन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
लहान नगरपालिका १२ र २२ नम्बर वडास्थित नौ बिघा क्षेत्रमा फैलिएको सलहेश फूलबारी मेला भर्न लाखाैँको सङ्ख्यामा नेपाल र भारतका भक्तजन आउने गर्छन्। फूलबारी मेला हेर्न एक दिन आएर अर्को दिन सुनसान हुने गर्छ। फूलबारीमा पर्यटक नरोकिने हुँदा यसले पर्यटन क्षेत्रमा खासै उपलब्धि हुन नसकेको लहान–१२ का स्थानीय बासिन्दा बताउँछन। स्थानीय दशमीलाल चौधरी भन्नुहुन्छ, “सलहेश फूलबारीको धार्मिक ऐतिहासिक पक्षलाई समेटेर पर्यटकीय हिसाबले विकास गर्ने हो भने राम्रो आम्दानी हुने सम्भावना भए पनि चर्चामा मात्रै सीमित छ।”
सलहेश फूलबारी अहिलेसम्म केही नेता र अगुवाका लागि दुहनो गाईजस्तो भएको तथा सङ्घ र प्रदेशबाट आउने बजेट सलहेश क्षेत्रको विकासभन्दा स्थानीय कार्यकर्ता पाल्ने कार्य भइरहेको स्थानीय बासिन्दाको आरोप छ। सङघ, प्रदेश र स्थानीय सरकारले सलहेश क्षेत्रको धार्मिक सांस्कृतिक र ऐतिहासिक पक्षलाई उजागर गरेर इमानदारीसाथ प्रयास नगर्दा एक दिने मेलामा मात्रै सीमित हुन पुगेको लहान–२२ का रामविहारी यादवले बताउनुभयो। सलहेशको गरिमा र महिमा बखान गरेर सपना बाँड्ने होइन, काम गरेर देखाउनुपर्ने समय आएको उहाँले बताउनुभयो।
वतावरणविद् दिनेश यादवका अनुसार सलहेश फूलबारीको धार्मिक पर्यटनका रूपमा मात्रै होइन, वातावरणीय दृष्टिले सुन्दर स्थल रहेको छ।
पारिस्थितिकीय प्रणालीअनुसार सिमसार क्षेत्रभित्र हारम जातको ठूलो वृक्षदेखि सानो वृक्षलगायत दर्दमेदा र पुत्रजीवकलगायत महत्वपूर्ण औषधीय गुण भएका वनस्पतिको भण्डार नै रहेको सलहेश फूलबारीमा अहिलेसम्म विभिन्न समयमा पटके अनुसन्धान गर्ने विज्ञहरू आए पनि ठोस योजना ल्याउन सकेका छैनन्।
सलहेश फूलबारी वरिपरि रहेको सिमसार क्षेत्रभित्र आर्सेनिकरहित शुद्ध जल भण्डारको ठूलो स्रोतबाट सिँचाइ तथा खानेपानीका रूपमा प्रयोग नगर्नु, पर्यटकीय हिसाबले बृहत् गुरुयोजना बनाएर कार्यक्रम आउनुुपर्नेमा आएका बजेटसमेत पारदर्शी रूपमा खर्च गरेर ठोस रूपले कार्य नहुनुले अहिलेसम्म जनकपुरधामको जानकी मन्दिरपछि दोस्रो धार्मिक पर्यटकीय रूपमा वर्षैभरि आम्दानीको स्रोत हुने सलहेश फूलबारीप्रति सरोकारवालाको ध्यान केन्द्रित नहुनु बिडम्बना नै हो, उहाँले भन्नुभयो।
सलहेशसँग जोडिएको लहान–२४ स्थित मानिकदह, लहान–१८ स्थित पकडियाढ, लहान–२० स्थित ब्रह्मथान, लक्ष्मीपुरपतारी गाउँपालिकामा रहेको पतारी पोखरी र सिरहा नगरपालिकास्थित सलहेशको जन्मस्थल मैसोथालाई जोडेर सलहेश सर्किट योजनाअन्तर्गत निर्माण भइरहेको सडकको कार्य पनि द्रुत गतिमा भइरहेको छैन।
सलहेशसँग जोडिएका यी धार्मिक स्थलमा पर्यटक दुई चार दिन बस्न सक्ने धर्मशाला, सलहेशसँग जोडिएका मूर्ति र अन्य मनोरञ्जनात्मक पार्क तथा बगैँचाको निर्माण हुन आवश्यक रहेको प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, “सलहेश फूलबारीसँग जोडिएको धार्मिक स्थललाई पर्यटक टिकाउने हिसाबले विकास गर्न आवश्यक छ। यसका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्छु।”
सलहेशको जन्म समय कालबारे एक मत देखिँदैन। कसैले २५ सय वर्षअघिका बुद्धकालीन भन्छन् भने कसैको मतमा नेपालका राजा नरेन्द्र देव (६४५–६८१)का समकालीन भनिन्छ।