
काठमाडौँ, वैशाख १४ गते । गोरखाको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखा दरबारसम्मको बहुप्रतीक्षित म्याराथन दौड सोमबार बिहान सुरु भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट महिला तथा पुरुष धावकहरूको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
प्रतियोगितामा ४२.१९५ किलोमिटरको पूर्ण म्याराथन मनकामनादेखि गोरखा काली मन्दिरसम्म दौडिनुपर्ने छ । साथै १० किलोमिटर (मनकामना–तीनमाने) र ५ किलोमिटर (मनकामना–जुम्लीचौतारा) दूरीका दौड पनि एकसाथ सुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक जिल्लाबाट एक–एक जना महिला र पुरुष खेलाडीले तीनै विधामा प्रतिस्पर्धा गरिरहेका छन् । विभागीय टोली वा अन्य प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई भने सहभागिताबाट वञ्चित गरिएको छ ।
म्याराथनतर्फ प्रथम हुनेले ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै १० किलोमिटर र पाँच किलोमिटर दौडका विजेताहरूका लागि पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रसिद्ध मनकामना मन्दिरदेखि ताक्लुङ, तीनमाने, घैरुङ, नाम्जुङ, काउलेभङ्गार, बुंकोट, ढुङ्गाडे, आहाले भञ्ज्याङ हुँदै गोरखा दरबार क्षेत्रसम्मको रुटमा दौड सञ्चालन भइरहेको छ ।
जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा भइरहेको प्रतियोगिताबाट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृष्ट ६ जना धावक छनोट गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख १५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।





