
काठमाडौँ, चैत २६ गते । नयाँ वर्ष २०८३ साललाई लक्षित गर्दै दुई चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएका छन् । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको छ ।
चलचित्र ‘राम नाम सत्य’ मार्फत नयाँ अनुहार आयुषसिंह ठकुरी र खुसी कार्कीले अभिनय यात्रा सुरु गर्दै हुनुहुन्छ । चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनील थापा, सुधीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई नृत्य निर्देशक माइकल चन्दले निर्देशन गर्नुभएको छ । सामाजिक सन्देशसँगै पूर्ण मनोरञ्जक बनाउने कोसिसका साथ चलचित्रमा आफूले काम गरेको निर्देशक चन्दले जानकारी दिनुभयो । सामाजिक सन्देशसँगै मनोरञ्जन दिने सम्पूर्ण तìवलाई चलचित्रमा समावेश गरेको निर्देशक चन्दले बताउनुभयो । चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।
यसै गरी निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी वैशाख १ गते प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चलचित्रको कथामा चित्रण गरिएको छ । चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्साउँछ ।
निर्देशक घिमिरेका अनुसार, “पहाड एकदमै सुन्दर ठाउँ हो तर पछिल्लो समय युवा पलायन भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइँ सरेका छन् । हेर्दाहेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।” भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक घिमिरेको कान्छी छोरी पञ्चमी घिमिरे यसै चलचित्रमार्फत अभिनेतृका रूपमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रमा प्रमोद प्रधानले छायाङ्कन, रञ्जितसिंह गजमेरले सङ्गीत निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेले दृश्य सम्पादन गर्नुभएको छ ।





