काठमाडौँ — नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।
‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’ मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका हुन् । त्यसैले अन्य अभिनेताभन्दा चरित्र निर्माणमा गम्भीर फरक देखिन्छन् ।
‘जात्रा’ शृंखलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्विकारेका थिए । चरित्र निर्माण गरेता पनि निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन् । ‘दर्शकले विश्वास गर्नुहुन्न कि ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले अर्कै भूमिका निर्वाह गरेको थिए,’ अभिनेता कार्कीले भने । यद्यपि उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे ।
अवकाश प्राप्त शिक्षकको भूमिकासँगै अभिनेता कार्की उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको रूपमा प्रस्तुत भए । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपछि स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्विकार्ने गर्छु,’ अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’
उनले प्रदर्शनका क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृंखला भए पनि यसको कथावस्तु फरक रहेको निर्माण पक्षले जानकारी दिएको छ । रंग पत्रकार सुशील पौडेलद्वारा लिखित ‘प्रसाद २’ मा जातीय विभेद र वर्गीय संघर्षको कथा छ । सुदर्शन थापाले निर्देशन गरेका चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल र बालकलाकार उपेश ढकालको अभिनय छ ।