समितिले प्रतिवेदन बुझाए पनि घटनामा को संलग्न थियो भनेर किटान गरेको छैन । समितिले सीसीटीभीको तार काटेर चोरी गरेको जनाएको छ । समितिले यस्ता चोरीका घटना पटकपटक भएको औंल्याएको छ । ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं,’ संयोजक बरालले भने, ‘अब कारबाही गर्ने निकायले केही गर्ला ।’ चोरीका घटना पटकपटक भए पनि कारबाही नगरेको कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले गुनासो गरे । वैद्यले आफू कोषाध्यक्ष भएकाले बेलामा भने चोरीमा संलग्नलाई कारबाही भएको स्मरण गरे । २०६८ सालमा बुढानीलकण्ठको घ्याम्पो चोरी भएको थियो । ‘सीसीटीभी फुटेज रुद्रगाडेश्वरतिरबाट आएको देखियो । खोज्दै जाँदा पशुपति छेउकै घाट वैद्यकोमा काम गर्ने कामदार भएको पत्ता लाग्यो,’ वैद्यले भने, ‘उनी जेल गए ।’
मन्दिर परिसरमै नेपाल प्रहरीको पहरा गण छ । त्यसको अगुवाइ प्रहरी निरीक्षकले गर्छन् । प्रहरी निरीक्षकको अगुवाइमा अर्को सशस्त्रको सुरक्षा पनि छ । ‘कोषकै सुरक्षाकर्मीसमेत रहेको बाक्लो घेराबाट यसरी चोरी हुनु भनेको सेटिङबाट चोरी भएको प्रस्ट छ,’ वैद्यले भने । कोषबाट मन्दिर हेर्ने कर्मचारीलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाउनुपर्नेमा तिनैलाई समितिमा राखिएको छ । समितिका सदस्यमा सांस्कृतिक महाशाखाका प्रमुख, नेपाल प्रहरी पहरा गढ प्रमुख र सशस्त्रका प्रमुखलाई राखिएका थिए । ‘जो ड्युटीमा बस्दा चोरी भएको छ, उसलाई नै छानबिन समितिमा राख्दा कसरी निष्पक्ष हुन्छ ?’ वैद्यले प्रश्न गरे ।
मन्दिरमा भेटी राख्नका लागि ठाउँठाउँमा घ्याम्पो र दानपत्र बाकस राखिएका छन् । मन्दिर परिसरभित्र पशुपतिनाथको मूल मन्दिर, बासुकीनाथ, हनुमान नारायण, बुढानीलकण्ठ, नवग्रह, प्रांगणको चाँदी घ्याम्पो लगायतबाट बेग्लाबेग्लै भेटी राख्ने व्यवस्था गरिएको छ । यी बेग्लै ठाउँको गणना अलगअलग गरिन्छ । त्यसमध्ये पछिल्लो समय प्रांगणमा रहेको चाँदीको दानपत्र चोरी भएको थियो । कोषको तथ्यांकअनुसार यो दानपत्रमा वर्षमा सरदर २ लाख रकम जम्मा हुन्छ । त्यसबाहेक सुन, चाँदीलगायतका गहना पनि चढाइएको हुन्छ ।
भक्तले चढाएका भेटी दुरुपयोग हुँदै आएको गुनासो छ । परम्परागत रूपमा भट्ट र भण्डारीले बाँडफाँट गरेर लिने गरेका थिए । भेटी व्यवस्थित गर्न २०६८ सालमा ‘श्री पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्थापन नियमावली’ पारित भयो । नियमावलीले पुजारीको तलब तोक्यो । भण्डारी, बिसेट, नाइके लगायतलाई कर्मचारी जस्तै गरी तलब दिने व्यवस्था गर्यो । भट्ट भण्डारीको काम, कर्तव्य र अधिकार तोक्यो भने लिँदै आएको भेटी विकास कोष मातहात ल्यायो । भेटी बैंक दाखिला हुने व्यवस्था गर्यो । ‘देशको विकासमा भेटी जोड्न नियमावली ल्याएका थियौं,’ पूर्वकोषाध्यक्ष वैद्यले भने, ‘तर, भेटी चुहावट रोकिएन ।’
नियमावली लागू भएपछि आम्दानी बढेको छ । कोषको तथ्यांकअनुसार भेटीबाट वार्षिक १४ करोड जति आम्दानी हुने गरेको छ । नियमावली लागू हुनुअघि वार्षिक १ लाख मात्र आम्दानी हुन्थ्यो । ‘भारतको तिरुपति बाबाको जस्तै आम्दानी बढाएर पशुपतिनाथले देशकै ढुकुटी बढाउने सोच हो,’ उनले भने । भक्तले नगद र धातु अर्पण गर्ने गर्छन् । २०७५ सालमा भेटीबाट संकलन भएको १ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ कोषमा जम्मा भएको थियो । पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको पुस्तक ‘पाशुपत क्षेत्रका सम्पदा, संस्कृति र सम्पति प्रतिवेदन’ मा उल्लेख भएअनुसार दैनिक २५ देखि ३० लाख रुपैयाँसम्म भेटी उठ्छ । यस हिसाबले मासिक करिब ९ करोड रुपैयाँ जम्मा हुनुपर्ने हो । तर वर्षमा बढीमा १७ करोड रुपैयाँ मात्र उठेको तथ्यांक छ ।
यो आर्थिक वर्ष १४ करोड ७१ लाख ६७ हजार रुपैयाँ उठेको कोषको आम्दानी विवरणमा उल्लेख छ । वैद्यका अनुसार शिवरात्रिको दिन २० लाख भक्त आए भनेर कार्यकारी निर्देशकले सार्वजनिक कार्यक्रममा बोलेका थिए । त्यसअनुसार प्रत्येक भक्तले १ रुपैयाँ चढाए २० लाख हुनुपर्थ्यो । शिवरात्रिको आम्दानीमा १२ लाख मात्र देखाइएको छ ।
कोभिड महामारीले पटकपटक पशुपतिनाथ मन्दिर बन्द भयो । आर्थिक वर्ष २०७७/७८ मा ३ करोड २१ लाख ८६ हजार रुपैयाँ उठेको थियो । यो वर्ष भने १४ करोड ७१ लख ६७ हजार रुपैयाँ उठेको छ । मन्दिर बन्द भएको अघिल्लो वर्ष ११ करोड ९९ लाख २९ हजार रुपैयाँ संकलन भएको थियो । ‘भेटी बढी राखेको छ,’ कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले भने, ‘भेटी राम्रोसँग व्यवस्थापन गर्ने हो भने अझ बढ्छ ।’
पशुपतिनाथमा चढाइएका नगद र जिन्सीमध्ये अहिले नगदको मात्र व्यवस्थापन भएको छ । सुनचादी जवाहरतलगायतका गहनाका भने व्यवस्थापन गरिएको छैन । नगद त्यही दिन गनेर बैंकमा राखिन्छ । जिन्सी भने पोको पारेर राखिएको छ । ठूला रकम गनिए पनि साना रकम भने बोरामा पोको पारेर राखिएको छ । कोषका एक पदाधिकारीका अनुसार ६ बोरा पैसा कुहिएको अवस्था छ । पाँच सय/हजारका नोट गनिए पनि साना रकम भने बोरामा पोको पारेर राखिएको छ ।
पशुपतिनाथमा चढेका नगद र जिन्सी पशुपतिनाथको ढुकुटीमा व्यवस्थापन गर्नुपर्ने परम्परा छ । सुनचाँदी मन्दिर माथि रहेको मुख्य ढुकुटीमा दाखिला गरिन्छ भने मूल्यवान, कपडा, भाँडावर्तन जस्ता सामान भने बम्बई ढुकुटीमा दाखिला गर्ने परम्परा थियो । तर कोषले बम्बई ढुकुटी भत्काइसकेको छ । नियमावली लागू हुनुअघि सरकारले दैनिक दिने भेटी वर्षभरि संकलन गरिन्थ्यो । त्यसबाट सुन किनेर यही ढुकुटीमा दाखिला गरिन्थ्यो । भक्तजनले चढाएका भेटी, जिन्सी र नैवेद भने भट्ट र भण्डारीले लिने गर्थे । पालोवाला भण्डारीले हरेक महिना नगद र जिन्सीको हिसाब बुझाउनुपर्ने परम्परा थियो । लेखक कुलचन्द्र कोइरालाको पुस्तक आराध्यदेव श्रीपशुपतिनाथमा उल्लेख भएअनुसार विसं १९९० मा मूल भट्ट दामोदर भट्टका पालामा नगद साविकअनुसार बाँडेर खानू र जिन्सी ढुकुटीमा दाखिला गर्नु भनेर लेखिएको सनदपत्र भेटिएको छ । कुन समयको कसरी बाँड्ने भनेर पनि सनदपत्रमा उल्लेख गरिएको छ । बिहानदेखि भट्ट मन्दिरमा प्रवेश नगरुन्जेलको भेटी भण्डारीले पाउने उल्लेख छ । तर बिहानै चढाइएको भए पनि जलहरीमा चढाइएको भने भट्टले नै पाउने उल्लेख छ ।
पशुपतिमा श्रीअयुतचण्डी महायज्ञ
पशुपतिनाथ परिसरमा विराट् श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ सुरु भएको छ । त्यसनिम्ति गत फागुन २७ गते पशुपतिनाथ वनकाली क्षेत्रमा भूमिपूजन एवं संकल्प सुरु भएको आइतबार जारी विज्ञप्ति उल्लेख छ । आगामी वैशाख १० बाट २५ गतेसम्म महायज्ञको मूल कार्यक्रम हुनेछ । ‘अनन्त श्री महामण्डलेश्वर स्वामी श्री प्रखरजी महाराजजीको सान्निध्यतामा र मारबाडी सेवा समिति नेपालको तत्त्वावधानमा नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो,’ महायज्ञ आयोजक समितिले विज्ञप्तिमा भनेको छ ।