एस् ए टी भी १७ असार, काठमाडौँः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारणका लागि निर्माण गरिएको अत्याधुनिक डिपो सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
नेपाल आयल निगमले करिब ७७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको यो डिपो आगामी साउन दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
डिपोको सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न भइसकेको नेपाल आयल निगमले जनाएको छ । भौतिक संरचना निर्माण सकिएको र डिपोको परीक्षणको चरणमा पुगेको निगमका हवाई इन्धन डिपो सिनामंगल कार्यालयका प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले जानकारी दिए ।
साथै यादवले आगामी साउनको दोस्रो सातामा यो डिपोको उद्घाटन गरी सञ्चालनमा ल्याउनेसमेत बताए ।
‘असारभित्र शतप्रतिशत काम सम्पन्न हुन्छ । साउनको दोस्रो सातामा मोटामोटी उद्घाटनको तयारी छ,’ यादवले भने, ‘मन्त्रीज्यूले टाइम दिनुभयो, निगमको म्यानेजमेन्ट, एमडी सापले टाइम दिनुभयो भने साउनको दोस्रो साताबाट सञ्चालनमा ल्याउँछौँ । विशेषगरी मन्त्रीज्यूको अब टाइममा भर पर्छ ।’
२०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शिलान्यास गरेका थिए । निर्माण सुरु भएको दुई वर्षमा निर्माण सम्पन्न भएको छ । डिपो निर्माणका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्सन र समानान्तरले दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता थियो । सम्झौता गरेको ६ महिनापछि शिलान्यास गरिएको थियो ।
कति छ भण्डारण क्षमता र लागत ?
भ्याटबाहेक ६८ करोड बराबर लागतमा बनेको यो डिपोमा इन्धन भण्डारण क्षमता ३६ लाख किलोलिटर रहेको छ । १२–१२ लाख लिटरको तीनवटा भर्टिकल ट्यांक छ ।
विमानस्थलको रनवेबाट करिब ४०० मिटरको दूरीमा बनेको यो डिपो वातावरणीय प्रभाव मूल्याङ्कन गरेर प्राधिकरणले दिएको स्थानमा निर्माण गरेको हुनाले जोखिमरहित भएको दाबी छ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित स्थानमा डिपो निर्माण भएको पनि निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधियुक्त डिपो निर्माण गरिएको यसको भ्याटसहित कुल लागत ७७ करोड ८४ लाख रुपैयाँ पर्न जान्छ ।
यादव भन्छन्, ‘अटोमेसन टाइपको छ । स्मार्ट अटोमेसन टाइपको निर्माण गरिएको छ । यसमा सबै डिजिटल सिस्टम छ ।’
विमानस्थलको रनवेबाट करिब ४०० मिटरको दूरीमा बनेको यो डिपो वातावरणीय प्रभाव मूल्याङ्कन गरेर प्राधिकरणले दिएको स्थानमा निर्माण गरेको हुनाले जोखिमरहित भएको दाबी छ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित स्थानमा डिपो निर्माण भएको पनि निगमले जनाएको छ ।
के–के काम बाँकी छ ?
यादवका अनुसार भौतिक संरचना निर्माण सबै काम सम्पन्न भइसकेको छ भने त्यहाँ जडान गरेका उपकरण फ्लोमिटर लगायतको नापतौल तथा गुणस्तर परीक्षण गर्न बाँकी छ ।
‘मिटरहरू नापतौलसँग क्यालिब्रेसन गराउने, टेस्टिङ गर्ने मात्रै बाँकी छ । फिजिकल रूपमा फिजिकल रूपमा सबै बनिसक्यो । पाइपलाइन बनाएको छ नि, त्यसमा तेल हाल्नुपर्यो, कहीँ लिकेज छ कि अथवा कहीँ ग्यास्केट छ कि छैन,’ उनले भने, ‘त्यहाँ जडान भएका इक्विपमेन्ट भेइकल, फ्लोमिटरको नापतौलसँग क्यालिब्रेसन गराउनेलगायत कामहरू बाँकी छ ।’
इन्धन खपत कति छ ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले डोमेस्टिकको हवाइजहाजका लागि सिजनमा दैनिक अधिकतम ३० देखि ३५ किलो लिटर हवाई इन्धन खपत हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय हवाइ उडान दैनिक दुई पटक भयो भने दुईवटा जहाजको लागि लगभग १ सय किलोलिटर खपत हुने अनुमान छ । यो डिपोमा ३६ लाख किलोलिटर भण्डारण क्षमता छ । यसले एक महिनालाई धान्ने यादव बताउँछन् ।
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा ७ हजार ७१० किलोलिटर क्षमताको हवाई इन्धन डिपो छ । यस्तै विराटनगरमा २८० किलोलिटर, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा २८० र सुर्खेतमा ६० किलोलिटर । यस्तै धनगढीमा ४५ किलोलिटर छ ।
‘दिनको यदि दुइटा पनि इन्टरनेसनल जहाज ल्यान्ड गर्यो भने त्यहाँ भएको इन्धनले एक महिनालाई धान्छ । दिनमा चार वटा ल्यान्ड गर्दा १५ दिनलाई पुग्छ ।’
पुरानो (आन्तरिक) विमानस्थलमा रहेको डिपो ६४ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ । यहाँ १६–१६ किलोलिटरका चार वटा गर्ने अन्डर ग्राउन्ड टयांक रहेका छन् ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक विमानस्थलको हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याएर बाउजरमा सारेर जहाजमा भरिँदै आएको छ ।
यी विमानस्थलमा छन् हवाई इन्धन डिपो
हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, झापा भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज, धनगढी, सिमरा, जनकपुर विमानस्थलमा निगमको हवाई इन्धन डिपो छ ।
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा ७ हजार ७१० किलोलिटर क्षमताको हवाई इन्धन डिपो छ । यस्तै विराटनगरमा २८० किलोलिटर, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा २८० र सुर्खेतमा ६० किलोलिटर । यस्तै धनगढीमा ४५ किलोलिटर छ ।
विमान उडानको चाप भएका कतिपय विमानस्थलमा ट्यांकरबाट पनि हवाई इन्धन भर्ने गरिँदै आइएको छ । यसैगरी डिपो नभएका विमानस्थलमा हवाईजहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन उडान सुरु हुने विमानस्थलबाटै बोकेर जाने गरेका छन् ।