नेभिगेसन मेनु

नवलपुरका मीनबहादुरको मेवाखेतीबाट लाखौँ आम्दानी, २२ जनालाई रोजगारी
सम्पादक:南亚网络电视
समय:2025-04-22 11:45

mewa kheti

एस् ए टी भी ९ वैशाख, काठमाडौँः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीसँगै पछिल्लो समय मेवाखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलो भएको छ। मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन्।

तीन बिघामा मेवाखेती गरेका महतोले हालसम्म ६० टन मेवा बिक्री गरिसकेका छन्। मेवा बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। मेवा बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ। उत्पादन भएको मेवा मुख्य रूपमा वीरगन्जमा बिक्री हुन्छ। वीरगन्जका व्यापारीले उनले उत्पादन गरेको मेवा मागअनुसार लैजाने गरेका छन्। केही मेवा काठमाडौँ पनि बिक्री भएको महतोले बताए।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट मेवा बिक्री सुरु गरेका हुन्। असोजबाट फल पाक्न थालेपछि अहिलेसम्म लगातार बजारमा पठाइरहेका छन्। ‘मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाको माग थियो, तर त्यता पठाइनँ, वीरगन्जमै खपत भएको छ,’ उनले भने।

मेवा प्रतिकेजी ३० देखि ४० रुपैयाँमा बिक्री हुने गरेको महतोले बताए। मेवाखेतीमा करिब १३ लाख रुपैयाँ खर्च भएको र यो याममा हालसम्म करिब ५ लाख रुपैयाँ नाफा कमाएको उनले बताए। फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनको भनाइ छ। उक्त समयसम्म करिब २०–२१ लाख रुपैयाँको मेवा बिक्री हुने उनको अनुमान छ। यसले आम्दानी पनि बढाउने उनले बताए।

मेवाखेतीबाट उनले आम्दानी मात्र कमाएका छैनन्, स्थानीय २२ जनालाई कामको आधारमा ज्याला दिएर रोजगारी पनि दिएका छन्। मेवा रोपेदेखि गोडमेल, टिप्ने र प्याकेजिङ गर्ने कामदारले करिब ९ लाख रुपैयाँ ज्याला बुझेको उनको भनाइ छ। कम्पोस्ट मल र बीउमा मुख्य खर्च हुने उनले बताए। सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने भएकाले केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी हुन थाल्ने भएकाले मेवाखेती गाह्रो पेसा नभएको उनको भनाइ छ।

अहिले रोपेका बिरुवाबाट असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको योजना छ। हालका बिरुवाले अर्को याममा पनि फल दिने भए पनि साना फल्ने भएकाले अर्को वर्ष नयाँ बोट रोप्नुपर्ने उनले बताए। उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन्।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले ३ लाख रुपैयाँसम्म अनुदान दिएको महतोले बताए। मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए, जसबाट पनि राम्रो आम्दानी भएको उनले बताए। खरबुजाखेती अहिले पनि जारी राखेका महतो पछिल्लो समय मेवाखेतीमा बढी सक्रिय छन्। कावासोती–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि उदाहरण बनेका छन्। 

सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्व देशमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। ‘मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन, केही त गर्नैपर्छ,’ उनले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर