एस ए टी भी , २२ कार्तिक २०८१ काठमाण्डौंः रन फर कमन प्रस्पेरिटी भन्ने नाराका साथ पोखरामा तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड प्रतियोगीता आयोजना हुने भएको छ। कार्तिक २४ गते हुने प्रतियोगीताको लागि अहिले पूर्व तयारीको काम भईरहेको छ।
पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरमको आयोजनामा भईरहेको प्रतियोगीताको मार्गदर्शकको रूपमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद- गण्डकी, जिल्ला खेलकुद विकास समिति-कास्की, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, कुनमिङ विदेशी मामिला कार्यालय, कुनमिङ खेल महासंघ र कुनमिङ पिपल्स एसोसिएसन फर फ्रेण्डशीप विथ फरेन कन्ट्रिज रहेका छन्।
साथै, हिमालयन टुरिजम फोरम- पोखरा, चीनको युनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र कुनमिङ माउन्टेनियरिङ एण्ड एड्भेन्चर एसोसिएसनले प्रतियोगीता कार्यान्वयनको नेतृत्त्व गर्नेछन् भने फेदिखोला गाउँपालिका, पोखरा पर्यटन परिषद, होटल संघ पोखरा, पोखरा चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, पोखरा युवा परिषद, नेपाली युवा उद्द्यमी मञ्च-पोखरा च्याप्टर, लायन्स क्लब अफ पोखरा सेन्टिनियल, नेपाल-चाइना जनमैत्री संघ, पोखरा ओभर्सिज चाइनिज संघ र पोखरा पूर्व खेलाडी संघले सह-नेतृत्त्व गर्नेछन्।
कूल उन्नाइस लाख अट्तिस हजार एक सय नेपाली रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगीतामा टिम समुह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्द्यार्थी दौड र ह्याप्पी रन दौड गरी चार प्रकृतीका दौड हुनेछन्। प्रतियोगीतामा नेपाल तथा बाहिरबाट सबै गरेर करिब १२०० प्रतियोगीले सहभागीता जनाउने छन्।
बुद्ध एअर आधिकारिक एअरलाइन्स, प्राइम अजोड इन्स्योरेन्स आधिकारिक इन्स्योरेन्स, आधिकारिक वेभरेज साझेदारमा वार हर्स भिटामिन वेभरेज तथा आधिकारिक पानी साझेदारमा रेबट स्प्रिङ मिनरल वाटर रहेको यस प्रतियोगीतामा स्वास्थ्य साझेदारमा मनिपाल अस्पताल रहनेछ। प्रतियोगीता कार्तिक २४ गते बिहान ०७ः३० बजे सुरु हुनेछ।
आज पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगीतामा सहभागिता जनाउन चाइनाको कुनमिङ्बाट १३४ सदस्यीय खेलाडी तथा समर्थकको जम्बो टोली आज पोखरा आउँदै गरेको जानकारी गराउँदै यस प्रतियोगिताले पोखरा तथा नेपालको पर्यटनमा सहयोग गर्दै नेपाल तथा चीनको सम्बन्धलाई अझ सुमधुर बनाउन टेवा पुर्याउने उल्लेख गरे। सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रतिनिधी, नेपाल स्थित चिनियाँ राजदूतावासका प्रतिनिधीले वक्तव्य प्रस्तूत गर्दै कार्यक्रम सफलताको कामना सहित यसले नेपालको पर्यटनमा पार्ने सकरात्मक प्रभाव बारे टिप्पणी गरेका थिए।