काठमाडौं । रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार अनुमोदन गरेसँगै अमेरिकी राजनीति एक नयाँ र रोचक मोडमा आइपुगेको छ । यो अनपेक्षित त थिएन तर, घटनाक्रम कसरी विकसित हुँदै जालान् भन्ने जिज्ञासा व्यापक हुँदै गएको छ ।
ट्रम्प भर्खरै एक गोलीकाण्डमा सामान्य घाइते भए । एक चुनावी प्रचार सभामा उनीमाथि गोली हानिएको थियो । सुरक्षा निकायको भनाइमा उनको हत्या गर्ने प्रयास थियो त्यो ।
गोली राजनीतिमा यसले उनीप्रतिको सहानभूति बढाएको छ । सन् २०१६ मा ट्रम्प अमेरिकी राजनीतिमा नयाँ व्यक्तित्व, नवप्रवेशीजस्ता थिए । रिपब्लिकन पार्टी र मतदाताका लागि उनी राम्ररी परिचित नहुनु एक अवसर जस्तो थियो । पार्टी र मतदाताले ट्रम्पको सोच र शैली परीक्षण गर्दैछन् भन्न सकिने ठाउँ थियो ।
सन् २०२० को चुनावमा पराजित हुँदा उनी बिदा भएको भाव पैदा भएको थियो । भलै कि उनले त्यतिखेरै २०२४ को चुनावमा फर्किने दाबी गरेका थिए ।
अब भने त्यस्तो विश्लेषणका लागि कुनै ठाउँ रहेन । ट्रम्पलाई न कसैले चिन्न बाँकी छ, न उनीबारे हुने टिप्पणी, विश्लेषण र मूल्याङ्कनका लागि खर्चिन कुनै नयाँ शब्द वा वाक्य नै बाँकी छन् ।
ट्रम्पलाई रिपब्लिकन पार्टीले अब परीक्षण हैन, समर्थन र अनुमोदन गरेको छ । भलीभाँती सबै कुरा जानेर, बुझेर नै फेरि उम्मेदवार बनाएको छ । यसको अर्थ हो रिपब्लिकन पार्टीको औपचारिक विचार, निष्ठा र समर्थन नै अब ‘ट्रम्पवाद’ हो ।
सन २०१६ मा राष्ट्रपति पदका लागि ट्रम्पले रिपब्लिकन पार्टीलाई उपयोग गरेका थिए । तर, अब ट्रम्प नै पार्टीको संस्थापन भएका छन् ।
पार्टीभित्रको प्राइमरीमा ट्रम्पसामु कोही टिक्न सकेनन् । न फ्लोरिडा गभर्नर रोन डिस्यान्टिस, न साउथ क्यारोलिनाका पूर्वगवर्नर निक्की हेली । न भारतीय मूलका युवा व्यापारी विवेक रामास्वामी नै । केही राज्यको प्राइमरीपछि यी ट्रम्पभन्दा निक्कै कमजोर देखिए । आफैँ उम्मेदवारी फिर्ताको घोषणा गरे ।
द न्यूओर्क टाइम्स स्तम्भकार डेबिट ब्रुक्सको शब्दमा सन् २०१६ मा मागा (मेक अमेरिका ग्रेट अगेन) एक नारा थियो । अब यो एक विश्व दृष्टिकोण भएको छ ।
ट्रम्पले चुनाव जित्ने सम्भावना झन्झन् बढ्दै गइरहेको छ । यसपटक जिते ट्रम्पलाई सन् २०१६ को भन्दा बढी प्रलयकारी मान्नुपर्ने छ । किनकि सन् २०१६ मा ट्रम्प आफ्नो सोच र शैलीको परीक्षण गर्दै थिए, यसपटक ट्रम्पवादको अभ्यास अनुभवी र परिपक्क हुनेछ । यसपटक अमेरिका र विश्वले अझ जबरजस्त ट्रम्पको सामना गर्नुपर्ने छ ।
सन् २०१६ यताको ८ वर्षमा त्यस्ता थुप्रै राजनीतिक घटनाक्रम विकसित भएका छन्, जसले ट्रम्पको सोच र कार्यशैलीलाई विस्तारित गरेका छन् । र, जनअनुमोदित राजनीति विचारधारा बनाएका छन् ।
सन् २०२१ जनवरी ६ को संसद् भवन आक्रमण गर्ने प्रदर्शनकारीमध्ये हजारभन्दा बढी अहिले पनि जेलमा छन् । त्यसबापत् ट्रम्पमा न कुनै पश्चाताप देखिन्छ, न ट्रम्प समर्थकमा । त्यो घटनालाई उनीहरूले कुनै लोकतन्त्रक विरोधी अपराध हैन, एक राजनीतिक विद्रोह, एक क्रान्तिको रूपमा गौरवीकरण गरेका छन् ।
प्रारम्भमा ट्रम्पमोह आप्रवासन विरोधी मनोविज्ञानको उपज थियो । अब विस्तारै एक अमेरिकी समाजको एक वास्तविकता, राजनीतिक विचारधारा, एक जीवन दर्शन बन्दैछ ।
रिपब्लिकनहरू झन् बढी उग्र र ट्रम्पवादी हुँदै गएका छन् । अब यो सोच र कार्यशैली ट्रम्पमा मात्र निहीत र सीमित छैन । आम रिपब्लिकन समर्थकमा विस्तार र सघन भएको छ ।
ट्रम्पविरुद्धका भाष्य दिनप्रतिदिन निरर्थक हुँदैछन् । ट्रम्प एक धनी व्यक्ति हुन् तर, गरिबहरूले नै उनलाई समर्थन गर्दैछन् । ट्रम्पमाथि महिला विरोधी आचरणका अनेक आरोप छन् तर, महिला नै उनका उग्र समर्थक छन् । अश्वेत र आप्रवासी अमेरिकनको एउटा हिस्सा पनि ट्रम्पवादी हुँदै गइरहेको छ ।
उपराष्ट्रपतिका लागि ट्रम्पले एक ३९ वार्षीय युवा जेडी भान्सलाई रोजेका छन् । यो छनोटले युवा मतदाता आकर्षित गर्न उल्लेखनीय मद्दत गर्ने ठानिएको छ ।
भान्समा ट्रम्पका विचारको गहिरो प्रभाव देखिन्छ । समग्रमा यस्तो लाग्छ कि रिपब्लिकन पार्टीमा रोनाल्ड रेगन युगका स्थापित प्रणाली र मान्यता समाप्त भएका छन् र यो पार्टी अब ट्रम्पवाद्वारा सञ्चालित हुन थालेको छ । जेडी भान्स भविष्यमा ट्रम्पवादका राम्रा उत्तराधिकार हुन सक्नेछन् ।
आधुनिक विश्व पुँजीवादी व्यवस्थामा अमेरिका भूमण्डलीकरणको केन्द्र र प्रमुख अभिप्रेरक मानिएको थियो । वासिङ्गटन कन्सेन्सस, संरचनात्मक समायोजन कार्यक्रम, नवउदारवाद, इतिहासको अन्त्यको घोषणा र विश्वव्यापार सङ्गठन सन् १९९० को दशकका मूल अमेरिकी धारणा थिए ।
ट्रम्पवादको उदयको अर्थ यो हुन्छ कि अमेरिका आफैँ भूमण्डलीरकणबाट असुरक्षित भयो । अहिले भूमण्डलीकरणको केन्द्र नै भङ्ग भएजस्तो लाग्दछ ।
नवउदारवाद, खुलापन र भूमण्डलीकणको अवधिमा अस्वाभाविक रूपमा बढ्दो आप्रवासनले पुराना अमेरिकीका लागि आर्थिक अवसर कम भएको भावना बढ्दै गयो । ट्रम्पवादलाई उत्प्रेरित गर्ने अमेरिकी असुरक्षाभावका दुईवटा कारण देखिन्छन् ।
एक– अमेरिकी राष्ट्रवाद र दुई आर्थिक अवसरको सङ्कुचन ।
अमेरिका संसारभरिका मान्छेको लागि सपनाको देश बनेको छ । लचिलो आप्रवासन नीतिले अमेरिका एक ‘श्वेत क्रिश्चियन’ मुलुक बाँकी नरहला भन्ने भय ट्रम्पले प्राप्त गर्ने समर्थनको मुख्य मनोवैज्ञानिक कारण हो ।
अमेरिकी राष्ट्रवादका लागि क्रिश्चियानिटी एक यस्तो रसायन हो, जसले श्वेत र अश्वेत विभाजनलाई कमजोर बनाइदिन्छ ।
ठीक यस्तै तागत आर्थिक अवसर सङ्कुचनको दोस्रो सवालमा छ । क्रिश्चियानिटीले श्वेत र अश्वेतलाई जोडेजस्तो यो मुद्दाले धनी र गरिब अमेरिकीको भावनालाई जोड्छ । धनी र गरिब दुवै अमेरिकी अहिले आप्रवासीबाट आफ्नो आर्थिक अवसर खोसिएको अनुभूति गर्दछन् । यही कारण हो कि गरिब र श्रमिक वर्गका अमेरिकी समेत ट्रम्पको पक्षमा छन् ।
डेमोक्र्याटिक पार्टीका मुख्य आधार अश्वेत र श्रमिक वर्ग थिए । अश्वेत बहुसांस्कृतिकतावाद र समावेशिताबाट, श्रमिक वर्ग ज्याला वृद्धि र सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित हुन्थे ।
आज पनि बाइडेनको समर्थन र एक मुख्य मताधार यही हो । तर, यसमाथि ट्रम्पको हमला र प्रभाव भने अब कमजोर रहेन ।
नवउदारवाद व्यक्तिवाद र बजारवादको सम्मिश्रण थियो । यो पहिचानको राजनीतिबाट पूर्णत: मुक्त थियो । बजारका लागि अन्तर्राष्ट्रिय सीमा खुकुलो पार्दै लानु यो अवधारणाको मुख्य सोच थियो ।
सन् २०१० पछि विश्वभरि पहिचान राजनीतिको एक नयाँ लहर सुरु भयो । यसबाट अमेरिका अछुतो रहन सम्भव थिएन । प्रारम्भमा पहिचानको राजनीतिभन्दा मानिस सीमान्तकृत वर्ग, लिङ्ग, समुदाय र संस्कृतिको समावेशीकरण र सशक्तीकरण भन्ने बुझ्दथे ।
राजनीतिमा अर्थ र परिभाषा समय समयमा बदलिइरहन्छन् । आज पहिचानको राजनीतिभन्दा सीमान्तकृत समुदायमुखी राजनीति मात्र बुझिँदैन । राष्ट्रको मूल पहिचानको चिन्ता पनि पहिचानकै राजनीतिको एक अंश बन्न पुग्दछ ।
डेमोक्र्याट्सहरूले अश्वेत, आप्रवासी, आदिवासी, महिला र तेस्रोलिङ्गीको पहिचानको राजनीति गरिरहेका थिए । ट्रम्पवादी रिपब्लिनले अमेरिकी पहिचान र सुरक्षाकै मुद्दा अघि सारे । भूमण्डलीकृत विश्वको नेता अमेरिका हैन, आफ्नै मौलिकता भएको अमेरिकाको मोह विस्तारित गरे ।
तसर्थ, ट्रम्पवादलाई अब एक नारा र कार्यशैली मात्र हैन, एक विचारधारा र विश्वदृष्टिकोण नै मान्नुपर्ने हुन्छ ।
एक भनाइ छ कि अमेरिकीहरूको विगत एउटै थिएन तर, भविष्य एउटै छ । तसर्थ, विगतलाई जति सुकै झगडा गरून्, जब भविष्यको कुरा आउँछ, अमेरिकी एक भइहाल्छन् ।
अधिकांश राष्ट्रहरू यस्ता हुन्छन्, जसको विगत, वर्तमान र भविष्य नै एउटै हुन्छ । साझा इतिहास, साझा मनोभावना र साझा सपनाले ती बनेका, बाँधिएका हुन्छन् । तर, अमेरिकाको इतिहासलाई एक साझा अवधारणमा ल्याउन निक्कै गाह्रो छ ।
पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका थिए– अमेरिका आप्रवासीहरूको देश हो । अघि र पछि, ढिलो र चाँडो आउनुले मात्रै सबै कुरा निर्धारण गर्दैन ।
उनी पहिलो अश्वेत र आप्रवासी पिताका सन्तान राष्ट्रपति थिए । आज ट्रम्पले दिइरहेको चुनौती ओबामा विचारको काउन्टरजस्तो लाग्दछ ।
खासमा वर्तमान राष्ट्रपति जो बाइडेन एक इमान्दार तथा निरन्तर प्रयत्नशील राजनीतिज्ञ अवश्य हुन् तर, एक प्रभावशाली र प्रतिभाशाली राष्ट्रपति भने हैनन् । बाइडेन ओबामा युगकै विरासतजस्तो लाग्दछन् । ओबामा कालमा बाइडेन उपराष्ट्रपति थिए ।
ओबामा उदारवादी अमेरिकाको पराकाष्ठा थिए । ट्रम्प अनुदारवादी अमेरिकाको पराकाष्ठा हुन् । ठीक उल्टो र कतिले त ओबामा कालको मनोवैज्ञानिक प्रतिद्वन्द्वीबाट ट्रम्पवादको उदयलाई आधार दिएको ठान्दछन् ।
अमेरिकालाई विस्तारै एक अघोषित क्रिश्चियन राज्य बनाउने कि धर्मनिरपेक्ष कायम राख्ने ? बढ्दो राजनीतिक तनाव र द्वन्द्वको अन्तर्यमा यो प्रश्न बलियोगरी उभिएको छ ।
ट्रम्पले बढाएको दबाबबीच राष्ट्रपति जो बाइडेन कमजोरजस्तो देखिन्छन् । उनीमाथि आफ्नै पार्टीभित्रबाट उम्मेदवारीको दौड परित्याग गर्न चर्को दबाब छ । जसलाई बाइडेनले बारम्बार अस्वीकार गरेका छन् ।
अब त समय निकै ढिला भइसकेको छ । बाइडेनले उम्मेदवारी त्यागको स्वघोषणा नै गर्ने हो भने पनि डेमोक्र्याटिक पार्टीले अघि सार्ने अर्को उम्मेदवारको टुङ्गो लाग्न सजिलो छैन ।