
एस् ए टि भी, श्रावण २ गते, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटघाट गर्नुभएको छ। बुधवार मन्त्री भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको उहाले सामाजिक सञ्जाल एक्स मार्फत बताउनु भएको छ ।

परराष्ट्रमन्त्री देउवाको कार्यकक्षमा भएको भेटबारे जानकारी दिँदै उहाले लेख्नु भएको छ, ‘माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ’ ।
राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी पनि भइरहेको जानकारी दिनु भएको छ । ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं,’ उहाँले लेख्नु भएको छ ।
यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गर्नुभएको थियो भने आजै नेपालका लागि अमेरिकाका राजदुत डिन आर. थम्पसनले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ।

