नेभिगेसन मेनु

काञ्जीहाउसभित्र मरे दुई सय गाईबस्तु
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-22 13:15

cow-death2024-02-22-10-12-17

कैलालीको गोदावरी नगरपालिका–९, शेहरीमा रहेको ‘काञ्जीहाउस’भित्र थुनेर राखिएका दुई सयभन्दा बढी गाईबस्तु स्याहार नपाएर मरेका छन् । काञ्जीहाउसभित्र र बाहिर गाईका दर्जनौँ अस्थिपञ्जर यत्रतत्र छरिएको अवस्थामा छन् । हेरालुका अनुसार त्यहाँ राखिएका तीन सय आठ छाडा गाईबस्तुमध्ये करिब छ महिनायता दुई सय गाई मरेका छन् ।

छाडा चौपायाले बालीनाली खाएर नष्ट गर्न थालेपछि शेहरीका स्थानीयले खुटिया नदीको किनार नजिक लक्ष्मी महिला सामुदायिक वनको खाली क्षेत्रमा तारवार लगाएर गत साउनमा छाडा चौपाया थुनेर राखेका थिए । त्यसरी खुला ठाउँमा थुनेर राखेका चौपायाका लागि आहाराको व्यवस्थापन गरिएको छैन । हिउँदको कठ्यांग्रीदो चिसोमा खुला चौरमा थुनेर राख्दा केही गाईबस्तु चिसोले र केही रोगले मरेका हुन् । कतिपय चौपाया आहाराको कमीले पनि मरेका बताइएको छ ।

भदौयता दुई सय गाई मरे

गत भदौयता दुई सय गाई मरेको हेरालु नरबहादुर बोहराले बताए । बोहराका अनुसार काञ्जीहाउसमा अहिले एक सय आठ गाईबस्तुमात्र बाँकी छन् । ‘धेरै गाईबस्तुमा शरीरमा फोका उठ्ने र पाक्ने रोग फैलिएको थियो । रोग देखिएका गाई हप्ता दिनमै मरे’ हेरालु बोहराले भने, ‘हिउँदमा चिसोले पनि केही गाई मरेका हुन् ।’ उनका अनुसार भदौदेखि गाईबस्तु मर्न थालेका हुन् । सबैभन्दा बढी गाईबस्तु माघमा मरेका बोहराले बताए ।

गाउँमा अन्यत्रबाट ल्याएर छोडिएका चौपायाले स्थानीयलाई खेतबारीमा लगाएको बाली जोगाउन मुस्किल थियो । स्थानीय तहले व्यवस्थापनमा ध्यान नदिएपछि गत साउनमा शेहरीका स्थानीयको भेलाले सामुदायिक वनमा तारवार लगाएर चौपाया थुन्ने निर्णय गरेको थियो । त्यसरी थुनिएका गाईबस्तु चराउन प्रतिहेरालु मासिक १० हजार रुपैयाँ तलब दिएर सुरुमा छजना हेरालुसमेत राखियो । 

स्थानीयले प्रतिघर मासिक एक सय रुपैयाँ उठाएर गाई हेरालुको तलबको व्यवस्था गर्दै आएका थिए । तलब दिन समस्या हुन थालेपछि अहिले तीनजना हेरालु छन् । ठूलो संख्यामा रहेका चौपायाका लागि उचित चरन क्षेत्र छैन । न आहाराको व्यवस्थापन गरिएको छ । हेरालुले काञ्जीहाउसबाट बिहान साढे नौ बजे खोलेर जंगल छेउछाउ चराउने र बेलुकी पाँच बजे हुल्ने गरेका छन् । 

चौपायाको व्यवस्थापनमा कठिनाइ

गोदावरीका स्थानीय विराज बिष्टले छाडा चौपाया व्यवस्थापनका नाममा गरिएको लापरबाहीले ठूलो संख्यामा ‘गौहत्या’ भएको बताए । उनले स्थानीय र प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापनमा ध्यान नदिँदा यस्तो अवस्था आएको बताए ।

छाडा चौपायाको व्यवस्थापनमा कुनै निकायले चाँसो नदिएपछि गाउँले आफैले काञ्जीहाउस बनाएर राखेको शेहरीका स्थानीय डिल्लीसिंह खत्रीले बताए । ठूलो संख्यामा चौपाया मरेकोबारे भने हेरालुले यसअघि जानकारी नै नगराएको उनको भनाई छ ।

‘गाउँभरि पाँच–छ सयको संख्यामा रहेका छाडा गाईगोरुले बाली खाइदिँदा खेतको अन्नबाली भित्र्याउन नपाउने अवस्था भयो । बारीको सागपातसमेत जोगाउन मुस्किल भएपछि गाउँभरिको भेलाले तारवार लगाएर राख्ने सहमति भएको हो’ खत्रीले भने, ‘त्यसरी राखिएका गाईबस्तु चराउन हेरालु पनि राखिएको छ तर रोगले धेरै चौपाया मरेकोबारे उनीहरुले जानकारी गराएनन् ।’ स्थानीयका अनुसार केही समयअघि गाउँमा पनि लम्की स्कीन रोग फैलिएर धेरै चौपाया मरेका थिए ।

अन्यत्रबाट ल्याएर छोड्दा गाउँमा छाडा चौपायाको समस्या भएको स्थानीयको भनाइ छ । ‘अरु ठाउँबाट चौपाया ल्याएर नदी छेउमा छोडिदिँदा हामीलाई समस्या भयो, खुटियामा ढुङ्गाबालुवा लिन आउने ट्याक्टरले समेत छाडा चौपाया ल्याएर यहाँ छोड्ने गरेको छन्’ अर्का स्थानीय मदनराज भण्डारीले भने । नगरपालिकाले नदी पारी गौशाला बनाएको छ तर टीन, फलामलगायत सबै सामान चोरी भएको स्थानीयले बताएका छन् ।

दुई वर्षअघि बनाएको गौशालामा टीन, फलामलगायत सबै सामान चोरी भएको स्थानीयले बताएका छन् । ‘नगरपालिकाले लाखौँ लगानी गरेर बनाएको गौशाला अलपत्र छ’ भण्डारीले भने, ‘गौशाला बन्यो तर चौपाया व्यवस्थापन गरिएन । अहिले त्यहाँका सबै सामान चोरी भएका छन् ।’ 

शेहरी गाउँ र काञ्जीहाउस खुटिया नदी वारीपारी छन् । अरुबेला सुख्खा रहने खुटिया बर्खामा उर्लन्छ । गत बर्खामा नदी किनार नजिक तारवार गरेर थुनेर राखिएका करिब दुई दर्जन चौपाया बाढीले बगाएर लगेको बताइएको छ ।

जनप्रतिनिधी नै बेखवर

काञ्जीहाउसको वारी करिब दुई किलोमिटरको दुरीमा वडा कार्यालय छ । तर वडाध्यक्ष रामलाल रानाले काञ्जीहाउसभित्र ठूलो संख्यामा गाई मरेकोबारे आफूले अहिलेमात्र थाहा पाएको दावी गरे । ‘आज हेर्न गएका थियौँ, ठूलो संख्यामा गाई मरेका देखियो’ उनले भने, ‘उचित चरिचरन छैन, आहाराको पनि कमी रहेछ ।’ उनले बाँकी चौपायाको व्यवस्थापनका लागि नगरपालिकासँग पहल गर्ने बताए । यसअघि छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिकासँग बजेट माग गरे पनि नपाएको उनले बताए ।

काञ्जीहाउसमा ठूलो संख्यामा गाईबस्तु मरेको सार्वजनिक भएपछि अनुगमनमा गएका कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चौपाया मर्नुको कारण पत्ता लगाउन अस्थिपञ्जरको नमुना परीक्षण गर्न पशु सेवा कार्यालयलाई निर्देशन दिइएको बताएका छन् । स्याहारको अभावले वा रोगले मरेका हुन भन्नेबारे परीक्षण रिपोर्ट आएपछि थाहा हुने उनले बताए । 

कैलाली, कञ्चनपुरमा छाडा चौपाया ठूलो समस्याको रुपमा रहेको छ । छाडा चौपाया व्यवस्थापनका नाममा स्थानीय तहले वर्षेनि ठूलो रकम खर्च गरिरहेका छन् तर समस्या समाधान हुन सकेको छैन ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर