गत पुस ८ गते पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासुबुहारी दुवैको ज्यान गयो । विनयी त्रिवेणी गाउँपालिका–१ खहरे जंगलमा बाघको आक्रमणबाट स्थानीय ५९ वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २९ वर्षीया विष्णु पौडेलको ज्यान गएको हो ।
दिउँसो घाँस काट्न सँगै गएका सासुबुहारी साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकैको जंगलमा खोजतलास गरेका थिए । सो क्रममा दुवैको शव क्षतविक्षत भएको अवस्थामा भेटिएको बताइएको छ ।
मृतक दुवैको कम्परा र पछाडी पट्टी ढाडमा चोट समेत देखिएकोले बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना भएको हप्ता दिन नबित्दै नुवाकोटकै हुप्सेकोट गाउँपालिका–४, शंखदेवको समीडाँडा जंगलमा स्थानीय हरि भुसालको चार वटा बाख्रा चराउने क्रममा बाघले खायो ।
यता, गत कात्तिक १७ गते बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो । मधुवन नगरपालिका–५, शक्तिपुरकी २८ वर्षीया सिर्जना भनिने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाख्रा चराउन गएकी उनी दिउँसो साढे २ बजे बेपत्ता भएकोमा साढे ३ बजे शव फेला परेको हो । यसअघि गत भदौ २२ गते मधुवन–५, धनौरास्थित जंगलमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया काली वंशीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
अपरान्ह ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गर्दा कालीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
बर्दियाकै राजनपुर नगरपालिका–१० की २५ वर्षीया ममता सुनारको गत मंसिर ३ गते बाघको आक्रमणमा परेर निधन भयो । घर नजिकै जंगलमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बर्दिया पुर्याउनेबित्तिकै मृत्यु भएको हो । सुनारसहित तीन जना घाँस काट्न गएका थिए । तर, उनलाई आक्रमण गरेको देखेपछि अन्य दुई जना डराएर बेहोस भएकाले उनीहरुको ज्यान जोगिएको थियो ।
बाघ विश्वमा नै लोप हुने अवस्थामा पुगेको दुलर्भ वन्यजन्तु हो । लोप हुन लागेको पाटे बाघको संख्या नेपालमा बढ्दो क्रममा छ । विश्वका १३ देशमा मात्र पाइने बाघका प्रजाति भारतपछि नेपालमा सबैभन्दा बढी छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा पाटे बाघको संख्या तीन सय ५५ पुगेको छ ।
सरकारले सन् २००९ मा २०२२ सम्म नेपालमा बाघको संख्या एक सय २१ बाट दोब्बर वृद्धि गरेर दुई सय ५० पुर्याउने लक्ष्य लिएको थियो । यद्यपि, सन् २०२२ को गणनाले बाघको संख्या दोब्बरभन्दा निकै धेरै देखिन्छ । विश्वमै दुलर्भ र संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाघको संख्या बढ्नु खुशीको कुरा हो । तर, बाघ र मानवबीचको द्वन्द्वले भने भयावह रुप लिन थालेको छ ।
नेपालले बाघको संख्या दोब्बर पुर्याउने असाधारण उपलब्धि हासिल गर्दै यसलाई लोप हुनबाट जोगाउन उल्लेख्नीय भूमिका त निर्वाह गरेको छ । तर, उक्त कार्यको चर्को मूल्य स्थानीय समुदायले चुकाउन परिरहेको छ ।
बाघबाट हुने आक्रमणमा वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दो छ । कैयौं घाइते भएका छन् भने बाघको डरले बस्ती नै खाली समेत भएको पाइन्छ । प्रायःजसो गाईवस्तु चराउने क्रममा, फलफूल, च्याउ टिप्न वा दाउरा खोज्न जाँदा तथा घाँस काट्न गएको बेलामा अधिंकाश मानिस बाघको आक्रमणमा पर्ने गरेका छन् ।
गत वर्ष मात्र बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा बाघको आक्रमणबाट दुई जना सामान्य र छ जना सख्त घाइते समेत भएका छन् । त्यस्तै, दुई सय ८७ पशुधनको क्षति भएको छ ।
बाघको आक्रमणको जोखिम भएको क्षेत्रमा बस्ने मानिसको वनजंगलप्रतिको निर्भरता कम गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिन्छ । तर, बाघको आक्रमणबाट मृत्यु भएमा राहत र घाइतेलाई औषधि, उपचार खर्च दिने व्यवस्था रहेकाले मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारी निकायले ध्यान दिएको देखिँदैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्की वनजंगलमा आश्रित मानिस बाघलगायत वन्यजन्तुबाट पीडित हुने गरेको बताउँछन् । भन्छन्, ‘७० प्रतिशत यस्ता घटना वनजंगलमै हुन्छन् । त्यसमा पनि वनजंगलमा आश्रित गरिबहरु बाघको आक्रमणमा परेर थप पीडित हुने गरेका छन् ।’
पशुचौपाया चराउने क्रममा, घाँस काट्न वा दाउरा खोज्न गएको बेला र रातको समयमा हिँडडुल गर्दा अधिकांश सर्वसाधारण बाघको आक्रमणमा पर्ने गरेको उनले बताए ।
‘पछिल्ला वर्षमा बाघ र बाघको आक्रमणबाट ज्यान गुमाउने दुवैको संख्या बढ्दो छ । यसले मानव र बाघबीचको द्वन्द्वको भयावह अवस्थाको चित्रण समेत गर्दछ,’ उनले भने, ‘तर, वनजंगललगायत निषेधित क्षेत्रमा जानुहुन्न भनेर मानव आफैंले नै सोच्नुपर्छ नि ।’
मानवीय हेलचेक्र्याईं वा जानीजानी जोखिम मोलेर वनजंगल पस्ने प्रवृत्तिका कारण यस्ता घटना हुने गरेको उनी बताउँछन् । प्रवक्ता कार्कीले बाघलगायत वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि निकुञ्जले विभिन्न कार्य गर्दै आएको समेत दाबी गरेका छन् ।
वन्यजन्तुलाई जंगल बाहिर आउन नदिने तथा मानवलाई बिना स्वीकृति वनजंगलभित्र छिर्न नदिने, तारबार गर्ने, वनजंगलमा आश्रित स्थानीयका लागि पनि विभिन्न विकल्पको सिर्जना गर्नेजस्ता कार्य भइरहेको उनले जनाए ।