नेभिगेसन मेनु

कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा
सम्पादक:南亚网络电视
लेखक: राजधानी
समय:2024-01-11 13:26

kuwait-1024x682

काठमाडौं । कुवेतबाट सन् २०२३ मा ४२ हजार ८ सय विदेशीलाई देश निकाला गरिएको छ । त्यहाँको निर्वासन प्रशासनले गत वर्ष देशको कानुन उल्लंघन गर्ने अभूतपूर्व संख्यामा विदेशीलाई देश निकाला गरेर कीर्तिमान कायम गरेको सुरक्षा स्रोतले खुलासा गरेको छ ।

एकै वर्ष ४२ हजार ८ सयलाई देश निकाला

सन् २०२३ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मको अवधिको तथ्यांकले २५ हजार १ सय ९१ पुरुष र १७ हजार ७ सय १ महिला गरी जम्मा ४२ हजार ८ सय ९२ विदेशीलाई देश निकाला गरेको देखाएको छ । जसमध्ये २४ हजार ६ सय ९ पुरुष र १७ हजार ६ सय ५६ महिलासहित ४२ हजार २ सय ६५ जना प्रशासनिक निर्वासित थिए भने ५ सय ८२ पुरुष र ४५ महिला गरी ६ सय २७ जना न्यायिक निर्वासित थिए ।

स्रोतले निर्वासनमा यो उल्लेखनीय वृद्धिको श्रेय पहिलो उपप्रधानमन्त्री र आन्तरिकमन्त्री शेख तलाल अल–खालेदको निर्देशन र निरीक्षणद्वारा निर्देशित सुरक्षा सेवाहरूले सञ्चालन गरेको सक्रिय सुरक्षा उपाय र अभियानलाई दिएको छ । आवास कानुन र अन्य नियमहरू उल्लंघन गर्नेहरूलाई कारबाही गर्न गृह मन्त्रालयको प्रतिबद्धतामा जोड दिँदै स्रोतले आप्रवासीहरूलाई कानुनको पालना गर्न र कुनै पनि उल्लंघनबाट टाढा रहन आग्रह गरेको छ ।

कतिपय दूतावासहरूले सराहनीय सहयोग प्रदर्शन गरे पनि अन्यले राहदानी वा यात्रा कागजातहरू जारी गर्ने कार्यमा ढिलाइ गरेको भन्दै आलोचनाको सामना गर्नुपरेको थियो । यो विशेषगरी ती व्यक्तिका लागि सान्दर्भिक थियो, जसको राहदानी म्याद सकिएको थियो, प्रायोजकहरूले राखेका थिए वा हराएका थिए ।

कानुन उल्लंघन गर्नेहरूलाई पक्रने कार्यहरू देशभर तीव्र गतिमा जारी रहने कुवेतको गृह मन्त्रालयले जनाएको छ । रेसिडेन्सी मामिला अनुसन्धानको सुरक्षा विभागहरूका अनुसार आप्रवासीहरूले उनीहरूको बसोबासको म्याद सकिएको वा श्रम कानुनको उल्लंघनको कारणले देश निकाला गरिएको जनाएको छ ।

कुवेतमा कुवेती नागरिकभन्दा धेरै विदेशी नागरिकको संख्या रहेको छ । जम्मा जनसंख्याको ६० प्रतिशत विदेशी नागरिक छन् भने ३८ देखि ४२ प्रतिशत मात्रै कुवेती नागरिकको बसोबास रहेको छ । विदेशी नागरिकमा सबैभन्दा धेरै एसियन मुलुकका नागरिक रहेका छन् ।

कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिमाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समयसीमामा पनि नफर्किएकाविरुद्ध कडा कदम चाल्दै गिरफ्तार कार्य जारी राख्ने जनाएको छ ।

पछिल्लो समय कुवेतमा लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीहरूलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदै आएको बताइएको छ । विभिन्न पेसा गरी कुवेतमा करिब १ लाख नेपाली कामदार कार्यरत रहेका पाइन्छ ।

‘कुवेतमा गैरकानुनीलाई ठाउँ छैन’

कानुनको उल्लंघन गर्नेहरू र अवैध कामदारहरूलाई गिरफ्तार गर्ने अन्तर्गत १ देखि ५ जनवरीसम्मको अवधिमा हजारभन्दा बढी प्रवासीलाई पक्राउ गरिसकिएको त्यहाँको अरेबिक पत्रिका अल–कबास दैनिक रिपोर्टले जनाएको छ ।

पक्राउ परेका अधिकांशलाई कानुनद्वारा निर्वासन केन्द्रमा पठाइएको छ । त्यहाँका पहिलो उपप्रधानमन्त्री र आन्तरिकमन्त्री शेख तलाल अल–खालेदले देशलाई अवैध कामदारबाट मुक्त गर्न अभियान जारी राख्न निर्देशन दिए । अर्कोतर्फ सामान्य ट्राफिक महाशाखाले फहाहिल क्षेत्रका धेरै लापर्बाही र अरूको ज्यान जोखिममा पार्नेलाई ट्राफिक अदालतमा रिफर गर्ने घोषणा गरेको छ । कुवेतले कानुनको कुनै पनि उल्लंघन गर्नेलाई छुट नदिने र कुवेतमा गैरकानुनीलाई ठाउँ नरहेको जनाएको छ ।

यसैबीच, रेसिडेन्सी अनुसन्धान अधिकारीहरूले कुवेतस्थित फहाहिल, मंगफ, फरवानिया, सुवैख, हवाल्ली, खैतान, अल–हसावी र काब्दमालगायतका स्थानमा सुरक्षा अभियानका क्रममा आवास र श्रम कानुन उल्लंघन गरेको आरोपमा विभिन्न मुलुकका २ सय ८९ विदेशीलाई पक्राउ गरेको जनाएको छ ।

कुवेतस्थित आवास मामिला अनुसन्धान सामान्य प्रशासन, अनुसन्धान विभाग, नियन्त्रण तथा समन्वय विभाग, उल्लंघनकारी अनुगमन विभाग र आर्थिक तथा प्रशासनिक सेवा विभागले संयुक्त रूपमा निरीक्षण अभियान सञ्चालन गरेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर