नेभिगेसन मेनु

जनकपुरधाममा छठको तयारी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-11-16 13:34

pokhari-janakpur2023-11-15-03-56-40

जनकपुरधाममा छठको तयारी सुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्न थालिएको छ।

कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ। तराईमा छठको छुट्टै महत्व रहेको डा. राजेन्द्र बिमलको भनाइ छ। मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गंगा सागर, धनुष सागर, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोई, अरगजासर, नोचा, मटकोरबा, दूधमती घाटलगायतका पोखरी, नदी, तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भिड देखिन थालेको छ। विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताए। 

यस वर्ष ३ मंसिर अर्थात् षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ।

गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ। छठको पहिलो दिन व्रतालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। 

दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभर उपवास बस्ने गर्छन्। 

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ। यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनारायण झाले जानकारी दिए। 

अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ। 

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भिड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायको भनाइ छ।

ज्योतिष शास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस वेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी एवं मानवका लागि फलकारी पनि मानिएको बाबा विभास लाभले बताए। 

छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मिठाई, अदुवा, माटोबाट बनेको हात्ती, कुर्वार, दियो, घैँटो, उखुलगायत बाँसबाट बनेका अन्य सामग्री रहने गर्छन्।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता नीरज आवाले जानकारी दिए। छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनको भनाइ छ।

चार दिनसम्म मनाइने यो पर्वमा व्रत बसेकाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गर्ने गरिन्छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुवात भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउँछन्।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ। जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकार रोशन जनकपुरीको भनाइ छ। 

उनले भने, ‘भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ।’ (रासस)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर