नेभिगेसन मेनु

लुम्बिनीबाट महासचिव गुटेरेसको आह्वान- विश्वभर भइरहेका द्वन्द्व अन्त्य गरौँ
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-31 18:52

Guterress2023-10-31-02-32-32

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान गरेका छन्। 

बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि बोल्दै उनले विश्वभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान गरे। ‘शान्ति र मानवता अपरिहार्य विषय हो, मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ। यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ,’ गुटेरेसले भने। 

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरे। इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आह्वान गरे।

युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गर्दै उनले युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनजस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकाले शान्ति स्थापनाका लागि लाग्न सबैलाई आग्रह गरे।

संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको उनले बताए। भगवान् गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए। उनले लुम्बिनी मायादेवी मन्दिरअगाडि वृक्षरोपणसमेत गरेका थिए। 

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मात्र नभएर शान्ति र सदभावको केन्द्र रहेको बताए। 

महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सदभावको सन्देश प्रवाह गरेको बताए । संयुक्त राष्ट्रसंघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको बताए।  

महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु–भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामालगायतले स्वागत गरेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर