नेभिगेसन मेनु

अनुगमन फितलोले कालोबजारी झन् बढ्दाे
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-29 13:32

sdfbsdf

काठमाडौं,  असोज १२ गते । चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ । 

सरकारी निकायले बजार अनुगमन गर्ने गरे पनि यो नामको मात्र अनुगमन भएका कारण कालोबजारी झन् बढ्दै गएको उपभोक्ताहरुको आरोप छ । बजारमा हिजोआज चिनीको कृत्रिम अभाव सृजना गरेको छ तर सरकारी निकायले कडाइका साथ अनुगमन गर्न नसक्दा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । 

अनुगमनलाई निर्मम र कडा बनाउनुपर्ने सुझाव उपभोक्ताको छ । दशैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको मूल्य अचाक्ली महँगिएको छ । बजारमा चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँ पुगेको छ । जब सरकारी संस्था साल्ट ट्रेडिङ्ले चिनीको मूल्य प्रतिकेजी ९७ रुपियाँ मात्र कायम गरेको छ । चिनी मात्र होइन अन्य उपभोगका सामानमा पनि मूल्यवृद्धि भएको छ । 

बिहीबार मात्र काठमाडौंको कुलेश्वरमा रहेको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा गुह्येश्वरी ट्रेडिङकाे गोदाममा ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो । 

स्थानीय तहलाई बजार अनुगमनसम्बन्धी कानुनतः अधिकार प्रदान गरे पनि अनुगन प्रभावकारी नहुँदा उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो सेवा सुविधा बढाउने तर जनताको उपभोक्ता स्वास्थ्यप्रति ध्यान नदिनाले समस्या आएको आरोप लाग्दै आएको छ । कीर्तिपुर पाँगाबजार चोकमा रहेको पाँगा किराना पसल सञ्चालन गरेका सुरज महर्जन बजारमा चिनीको खरिद मूल्य बढेकाले १४० रुपियाँमा चिनी बिक्री गर्नुपरेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले चिनी खरिद गर्दा नै होलसेलमा महँगो छ । त्यसैले चिनीको मूल्य पनि बढेको छ । मेरो लगायत सबै खुद्रा पसलमा चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँ छ ।”  उहाँका अनुसार एक साता यता बजारमा चिनी पाउन पनि समस्या हुँदै गएको छ ।  

महर्जनले भन्नुभयो, “दशैँ, तिहार जस्ता ठूला चाडपर्वहरु आउँदा सधै बजारमा चिनीका अभाव हुन्छ । एक साता भयो होलसेलमा चिनी खरिद गर्न जाँदा चिनी छैन भन्दै थोरै मात्र दिन्छन् ।” 

चार सय टन चिनी मौज्दात 

सरकारसँग अहिले चार सय टन चिनी मौज्दात छ । साल्ट ट्रेडिङ् कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चार सय टन चिनी मौज्दात नै छ । कर्पोरेसनको बिक्री केन्द्रहरुमा प्रतिकेजी ९७ रुपियाँमै चिनी बिक्री भइरहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “साल्ट्र ट्रेडिङ् कर्पोरेसनसँग चार सय टन चिनी मौज्दात छ । कर्पोरेसनका बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा चिनी बिक्री भइरहेको छ ।”  प्रतिव्यक्तिले दुई केजी मात्र चिनी खरिद गर्न सक्ने उहाँले बताउनुभयो । 

२० हजार टन चिनी खरिद हुँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ् कम्पनी लिमिटेडले २० हजार टन चिनी खरिद गर्दै छन् । दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा चिनी अभाव हुनसक्ने भएकाले यी कम्पनीहरुलाई चिनी खरिदको लागि अनुमति दिएको छ ।

साल्ट्र ट्रेडिङ् कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १०÷१० हजार टन चिनी खरिद गर्न सक्ने गरी सरकारले अनुमति प्रदान गरेको छ । 

साल्ट ट्रेडिङ् कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चिनी खरिदका लागि औपचारिक अनुमति आइसकेकाले केही दिनमै ग्लोबल टेण्डर आह्वान गरेर खरिदको प्रक्रिया थालिनेछ । 

यस्तै खाद्य व्यवस्ता तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार चिनी खरिदको प्रक्रिया केही दिनमै सुरु हुनेछ । सकेसम्म सुपथ मूल्य पसल सञ्चालन अगावै चिनी खरिद गर्न सकेको खण्डमा आम सर्वसाधारणलाई सहुलियत मूल्यमै चिनी विक्री गर्न सकिने उहाँको भनाइ छ । 

असोज २१ देखि सहुलियत पसल सञ्चालन 

सरकारले असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार असोज २१ गतेदेखि दशैँ, तिहार , छठजस्ता चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुनेछन् । 

वस्तुको महँगीलाई नियन्त्रण गर्ने योजनासहित प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता प्रदान गर्नका लागि सुपथ मूल्य पसल सञ्चालना ल्याउन लागिएको उहाँको भनाइ छ । 

उपत्यकामा १३ टोलीले अनुगमन गर्दै 

काठमाडौं उपत्यकामा १३ टोलीले बजार अनुगमन गर्दै आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार उपत्यकाभर बजार अनुगनका लागि १३ टोली खटिएको छ । 

एउटा टोलीले बजारमा चिनीको भण्डार अवस्था र मूल्यको अध्ययमा खटिएको छ  भने बाँकी बजार अनुगमनको लागि ने खटिएको उहाँको भनाइ छ । बजार अनुगमन प्रत्येक समयमा भइरहे पनि दशैँ, तिहार जस्ता ठूला पर्वमा बढी हुनसक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको उहाँले बताउनुभयो । 

बजार अनुगमनलाई कडा बनाउनुपर्छ

उपभोक्ता संरक्षण मञ्च नेपालका सचिव हरि मैनालीका अनुसार सरकारले बजार अनुगमन प्रक्रियाको लागि गरेको जस्तो मात्र भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गरेको बजार अनुगमन प्रक्रियाको रुपमा मात्र छ । कडाइका साथ अनुगमन नगर्दा उपभोक्ताले महँगी खेप्नुपरेको छ ।”

सरकारको उपस्थिति बिना बजारको महँगी नियन्त्रण हुन नसक्ने भएकाले सरकारले नै बजारमाा आफ्नो उपस्थिति बढाउनुपर्ने उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर