नेभिगेसन मेनु

उपप्रधानमन्त्री श्रेष्‍ठ र बेलायती राजदूत फेनबीच शिष्‍टाचार भेट
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-01 17:29

thumb (2)

काठमाडौँ — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्‍टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भाएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिए ।

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्‍भाव रहेको र उक्त सद्‍भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए । छ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए । यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्‍ट्रबाट स्तरोन्‍नति हुने भएकोले यसलाई दिगो बनाउन मैत्री राष्‍ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए । वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि उनले स्पष्‍ट पारे ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताए । साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । जवाफमा राजदूत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्‍याउन आफ्नो प्रयास रहने बताए । उपप्रधानमन्त्री श्रेष्ठले राजदूत फेनलाई नेपाली भाषाप्रतिको लगावका लागि धन्यवाद दिँदै थप पोख्त हुन सुभेच्छा दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर