रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका शिक्षित क्षेत्रको रूपमा परिचित छ । बागमती नदी तथा झाँझ र डोरी खोलाले घेरिएको यो पालिकाका बासिन्दा बर्सेनि बाढीको डुबान र जग्गा कटानको समस्या झेल्दै आइरहेका छन् । बाढी नियन्त्रण तथा रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गरी पालिकालाई सुरक्षित बनाउनुपर्ने, शक्तिपीठका रूपमा रहेको दुर्गा मन्दिरलगायतका धार्मिक एवं पर्यटकीय स्थानको प्रवर्धन तथा संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउनुका साथै स्थानीय बासिन्दाको भावनाबमोजिम विकास निर्माण अभियानमा लाग्नुभएका गाउँपालिकाका अध्यक्ष शम्भु सिंहसँग गोरखापत्रका गौर समाचारदाता सञ्जयकुमार मिश्रले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :
तपाईंले कार्यभार ग्रहण गरेको एक वर्षभन्दा बढी समय बितिसकेको छ । काम गर्न कतिको सहज छ ?
पदभार ग्रहण गरेपछिको एक वर्ष निकै कठिन तथा सङ्घर्षपूर्ण थियो । माओवादी केन्द्रबाट विजयी भए पनि बहुमत नहुँदा जनप्रतिनिधिबिच तालमेल तथा दलगत राजनीतिका कारण सात महिनासम्म गाउँ सभा हुन सकेन । गाउँ सभाका लागि निकै पहल गर्दा पनि सफल हुन सकेका थिएनौँ तर त्यहीबेला सङ्घ र प्रदेश सभाको चुनाव आयो । गठबन्धनमा हामी पनि भएकाले दलका नेताहरूलाई भनेर तथा आफ्नो स्वविवेकले गाउँ सभा गर्न सफल भयौँ । त्यसपछि योजनावद्ध अनुसार काम गर्न नसकिए पनि कम समयमा शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधारलगायत हरेक क्षेत्रमा नीतिगत रूपले काम गरिरहेको छु ।
के कस्ता विकास निर्माण कार्ययोजना सम्पन्न गर्नुभएको छ ?
गाउँपालिकाको समृद्धिका आधार कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकास, दिगो विकास तथा सुशासनको प्रत्याभूति हुने उद्देश्यले शिक्षाबाट गरिब, असहायलगायत कुनै पनि बालबालिका बञ्चित नहोस् भन्ने लक्ष्यका साथ कक्षा १२ सम्म निःशुल्क शिक्षा गरेको छु । स्वास्थ्यमा सामान्यतर्फ ७० प्रतिशत निःशुल्क, प्रसूति अथवा महिलाको उपचारमा शतप्रतिशत निःशुल्क, कृषितर्फ किसानलाई विद्युत् प्राधिकरणको समन्वयमा पालिकाको लगानीमा विभिन्न वडामा विद्युतीय पोल, बोरिङ, कृषि मिटर जडान तथा त्यसको बिल पालिकाले तिर्ने, बिउबिजन निःशुल्क वितरण, मलखाद अनुदानमा वितरण तथा पशुको निःशुल्क बिमा गरेको छु । यस वर्षदेखि किसानलाई शतप्रतिशत सुविधा दिने व्यवस्था गरेको छु । भौतिक संरचनातर्फ लामो समयदेखि अलपत्र रहेका सडकको जीर्णोद्धार तथा सडक ढलान, विद्यालय भवन निर्माण तथा ७० प्रतिशत मठमन्दिरको संरक्षण, संवर्धन, प्रवर्धन पर्यटकीय स्थानमा परिणत गर्न मन्दिर जीर्णाेद्धार गरेको छु ।
बर्सेनि बाढी डुबान र कटानबाट जोगाउन के कस्तो उपाय अपनाउनुभएको छ ?
बाढी कटान, डुबान यो पालिकाको सबभन्दा ठुलो समस्या रहेको छ । यो पालिका टापु नै रहेको छ । पूर्वमा बागमती नदी, जसको दुवैपट्टि बाँघ छ । पश्चिम तथा दक्षिणमा झाँझ खोला तथा उत्तरमा डोरी खोला छ । चारैतिर बस्तीभन्दा सय सय मिटरको दुरीमा नदी खोला छ । झाँझ खोलाले वडा नं. १ देखि ५ सम्म डुबान हुन्छ । खेतीपाती नष्ट गर्छ । जबसम्म झाँझ खोलाको दुवै छेउ बाँध निर्माण हुँदैन तबसम्म हाम्रो पालिका सुरक्षित हुँदैन । पालिकाको कुनै आन्तरिक स्रोत छैन । यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार गरी तीनवटै सरकारको सहकार्यको आवश्यकता छ । सङ्घीय मन्त्रीसँग पनि प्रस्ताव राखेको थिएँ, निकास निकाल्ने भन्नुभएको छ । झाँझ खोलामा बाँध निर्माण गरी पालिकालाई सुरक्षित बनाइएपछि राजदेवी नगरपालिका, गौर नगरपालिका तथा यमुनामाई गाउँपालिका सुरक्षित हुन्छ । दुर्गाभगवती गाउँपालिकालाई बाढीमुक्त पालिका बनाउन एउटा अभियान नै चलाउँछौँ ।
मत्सरी गाउँको सिङ्गो बस्तीले जग्गाधनी पुर्जा पाएको छैन, के गर्दै हुनुहुन्छ ?
मत्सरी र बडहर्वावासीलाई जग्गाधनी प्रमाण पुर्जाका विषयमा पालिकाबाट सूचना जारी गरेका थियौँ । भूमि आयोग तथा पालिकाको सहकार्यमा रेडक्रसद्वारा उपलब्ध गराइएको जग्गामा बसोबास गर्ने सबैलाई जग्गाधनी प्रमाण पुर्जाका लागि स्थानीय प्रशासन, रेडक्रस, नापी तथा मालपोतको संयुक्त टोलीलाई निवेदन दिएका छौँ । यो प्रक्रियालाई अगाडि बढाएर मेरो कार्यकालमै लालपुर्जा वितरण गर्छौं ।
सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन कस्तो पहल गर्नुभएको छ ?
काम विशेषले पालिकामा आउने नागरिकलाई छिटोभन्दा छिटो सरल र सहज रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएको छु । कामको सिलसिलामा कुनै किसिमको ढिलासुस्ती र अनियमितता सह्य हुने छैन । भ्रष्टाचाररहित रूपमा सेवा प्रवाह गर्न सबै वडा कार्यालय र पालिका कार्यालयमा निर्देशन दिएको छु । जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गरिरहेका छौँ ।
सबभन्दा पुरानो पिपरा बजारको विकास विस्तारका लागि कस्तो योजना छ ?
पिपरा बजार निजी जग्गामा छ । जबसम्म नेपाल सरकार, पालिकासँग सम्झौँता हुँदैन तबसम्म निजी जग्गामा पालिकाले लगानी गर्न मिल्दैन । भर्खर जग्गावालासँग अनुमति, सहमति तथा सम्झौँतामा एउटा शौचालय निर्माण गरेको छु । जसले बजारमा किनमेल गर्न आउने उपभोक्ता तथा सेवाग्राहीलाई सहज भएको छ ।
काम गर्ने क्रममा समस्या तथा चुनौतीहरू कत्तिको छ ?
काम गर्ने मान्छे हुँ म । एउटा समाजसेवीका रूपमा रहँदै आएको छु । विपक्षीहरूले मविरुद्ध विभिन्न षडयन्त्र गरेर काममा अवरोध गर्ने प्रयास गरिरहेका छन् । ममाथि १६ वर्षअघि निराधार मुद्दा लगाइएको थियो । त्यो मुद्दामा मविरुद्ध प्रमाण नपुगेपछि सरकारी वकिलले मुद्दा नचल्ने निर्णय उतिबैला गरिसकेको छ तर जिल्ला प्रहरी कार्यालयको लापरबाही र विपक्षीको मिलेमतोमा मलाई बदनाम गर्न, चरित्र हत्या गर्ने षड्यन्त्र स्वरूप फरार अभियुक्तका रूपमा प्रचार गरियो । त्यो षडयन्त्रबारे कानुनी बाटोमा जाने तैयारीमा थिएँ तर त्यस विषयमा जिप्रकाले छानबिन समिति गठन गरेको छ । कसले किन र कसरी षडयन्त्र गरेको हो, छानबिन भएपछि सत्यतथ्य बाहिर आउँछ । म अहिले पनि भन्छु जनप्रतिनिधि, वडाध्यक्ष, सदस्य, पराजित भएका विभिन्न प्रत्यासी सबै मिलेर पालिकाको विकासमा एकजुट होऔँ । सबै आफ्नो नीति तथा कार्यव्रmम लिएर आउनुस्, संवाद गरौँ । आफ्नो गाउँ आफैँ बनाउँ भन्ने नीतिका साथ अगाडि बढौँ ।
गाउँपालिकाको विकासका लागि के के पहल गर्नुभएको छ त ?
यहाँ एउटा ठुलो विडम्बना छ । तीनै तहमा गठबन्धनको सरकार छ । हाम्रो पालिका कस्तो सौभाग्यशाली छ । यसै क्षेत्रबाट सङ्घीय सांसद माधवकुमार नेपाल, मधेश प्रदेश भौतिक तथा योजनामन्त्री कृष्णाप्रसाद यादव, प्रदेश सांसद नागेन्द्र साह तथा समानुपातिकबाट प्रदेश सांसद इन्दु साह हुनुहुन्छ तर जनताले सङ्घीयताको अनुभूति गर्न पाएनन् । जुन गतिले विकास हुनुपर्ने हो त्यो गतिले विकास हुन सकेको छैन । तीनवटै सरकारमा समन्वयको खाँचो रहेको मैले अनुभूति गरेको छु । गाउँ सभाबाट जुन योजना आएको छ त्यसैमा प्रदेशबाट पनि योजना ल्याइएको छ । यो कुन खालको विकास हो, कुन खालको गठबन्धन हो, ठुलो विडम्बना छ । तीनवटै सरकारको समन्वय र सहकार्यमा विकास कार्य हुने हो जनताले अनुभूति हुने गरी विकास हुन्छ ।