नेभिगेसन मेनु

‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न तीन हजार पशुलाई खोप
सम्पादक:南亚网络电视
समय:2023-06-14 14:18

cow

तनहुँ, जेठ ३१ गते । तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।

रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भइरहेको र तीन हजार एक सय पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामा मध्य आठ वटा पालिकामा पशुलाई खोप लगाइसकिएको छ । अन्य दुई वटामा पालिकामा समेत खोप लगाउने काम तीव्र भइरहेका केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सबैभन्दा धेरै बन्दीपुर गाउँपालिकामा एक हजार पशुमा खोप लगाइएको छ ।

त्यसैगरी भानु नगरपालिका, म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा चार सयका दरले करिब एक हजार दुई सय पशुमा खोप दिइएको छ । त्यस्तै, भीमादमा तीनसय, ऋषिङ्गमा तीनसय शुक्लागण्डकी दुई सय र घिरिङ्ग एक सय पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइसकेको छ । त्यस्तै व्यास र शुक्लागण्कडकी नगरपालिकामा लगाउने कार्य भइरहेको छ । श्रेष्ठले भन्नुभयो, ‘‘पशुहरू निको हुने र थपिने क्रम जारी रहेकाले करिब एक महिनाभित्र सङ्क्रमित दर न्यूनीकरण गर्ने अभियानमा जुटेका छौँ ।’’

जिल्लामा सोमबार सम्ममा एक हजार पाँच सय पशु यस रोगबाट प्रभावित भएको केन्द्रले जनाएको छ । सङ्क्रमण भएका पशुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्ने, सकेसम्म आइसोलेसन गर्ने, गाईबस्तुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप लगाएर बचाउन सकिने डा. श्रेष्ठले जानकारी दिनुभयो ।

लम्पी स्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचारका लागि कोष स्थापना गर्न माग गरिएको छ । डा. श्रेष्ठले भन्नुभयो, ‘‘कोष स्थापना गरेको अवस्थामा आकस्मिक रूपमा लाग्ने रोग तथा बाढीपहिराबाट पशुपालन किसानलाई क्षतिपूर्ति प्रदान गर्न सहज हुनेछ ।’’

समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईभैंसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीको रूपमा फैलिएको डा. श्रेष्ठले बताउनुभयो । महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ६० गाईभैंसी मरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सङ्क्रात्मक विषाणुजन्य रोग लम्पी स्किनबाट भैँसीको तुलनामा गाईगोरुमा बढी देखिएको छ ।

यस रोगको सङ्क्रमण हुँदा गाईभैंसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।

रोगको सङ्क्रमणको दर अनुसार पशुको मृत्युदर न्यून रहेको उहाँको भनाइ छ । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट यो रोग सर्ने श्रेष्ठले बताउनुभयो । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप बढिरहेको उहाँले जानकारी दिनुभयो ।

गाईभैंसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कतिपयको मृत्यु समेत हुने केन्द्रले जनाएको छ । त्यस्तै, सङ्क्रमित गाईभैंसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ । सङ्क्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवम् पानी खाने साझा ठाउँ भएमा यो रोग छिटो फैलिने हुँदा सतर्कता अपनाउनु पर्छ ।

रोग नियन्त्रण र रोकथामको जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप अभियान सञ्चालन गरिएको छ । जस अनुसार केन्द्रबाट आकस्मिक उपचार अन्तर्गत एक लाख रुपियाँको खोप खरिद गरिएको छ । रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निः सङ्क्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी पालिकासँग समन्वय गरी परिचालन गरिएको छ ।

रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गरिएको केन्द्रले जनाएको छ ।

रोग लागेको पशुलाई अलगै राख्ने, उपचार तथा उपचारमा खट्नेले नुहाएर र कपडा परिवर्तन गर्न पर्ने, ओसार पोसार नगर्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधिहरू अवलम्बन गर्न आग्रह गरिएको डा.श्रेष्ठले जानकारी दिनुभयो । भारतबाट २०७७ मा मोरङ हुँदै नेपाल छिरेको लम्पी स्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । विशेषगरी यो रोग ठुला पशुचौपाया गाई, गोरु, भैँसी, राँगोमा देखा पर्ने विज्ञहरूको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर