सिमरौनगढ हाम्रो देशको एउटा प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हो । यसको प्राचीन गौरव र गरिमा अत्यन्त सम्पन्न, समृद्ध, सभ्य तथा सुसंस्कृत रहेको सर्वविदितै छ । यसलाई मिथिला, डोय विदेह र तिरहुतको राजधानी पनि मानिएको छ ।
भौगोलिक अवस्थिति
सिमरौनगढ नेपालको दक्षिणी भागमा अवस्थित बारा जिल्लामा रहेकोे एक प्रख्यात ऐतिहासिक एवं पुरातात्त्विक स्थल हो । लगभग २६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस नगरको औसत उचाइ करिब ३०० मिटरसम्म रहेको छ । यस क्षेत्रको प्राचीन इतिहास निकै गौरवपूर्ण रहेको छ । मध्यकाल अर्थात् एघारौँ शताब्दीदेखि सुरु भई चौधौँ शताब्दीको पूर्वाद्र्धसम्ममा यो नगर उन्नतिको चरम सीमामा पुगेको देखिन्छ । त्यस युगमा यस नगरले जुन ख्याति प्राप्त ग-यो, त्यो त्यसबेला नेपालका अन्य कुनै नगरले प्राप्त गर्न सकेका थिएनन् ।
एघारौँदेखि चौधौँ शताब्दीसम्मको यसको पृष्ठभूमि अत्यन्त रोचक तथा महत्वपूर्ण रह्यो । जुन नगरको ध्वंसाविरोष आज कर्नाटक राजवंशको अभ्युदय तथा अवसान एवं तुक आक्रमणकारीको बर्बरताको नग्न नृत्यको मुकसाक्षी भएर रहेको छ– मोहनप्रसाद खनाल : सिमरौनगढको इतिहास : पृ.१ ।
ऐतिहासिक पृष्ठभूमि
प्रचीन सिमरौनगढ जलवेष्टित, वनवेष्टित थियो, जसको अवशेष आज पनि देख्न सक्छौँ । यो दक्षिण भारतको कर्नाटकवंशीय राजाको राधजानीका रूपमा सुप्रसिद्ध र सुपरिचित स्थान रहेको थियो । कर्नाटकवंशी राजा नान्यदेवले एघारौँ शताब्दीमा यसलाई आफ्नो राज्यको राजधानी बनाएका थिए । नान्यदेवका अतिरिक्त गङ्गादेव, नरसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव र हरिसिंहदेवले यहाँ शासन गरेका थिए । यिनीहरूले २२९ वर्षसम्म यहाँ शासन गरेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ ।
यी शासकहरूको शासनकालमा तिरहुत राज्यमा हिन्दु धर्म र दर्शनको निकै प्रचार एवं प्रसार भएको बुझिन्छ । सिमरौनगढका राजाहरू धर्म, दर्शन र संस्कृतिका संरक्षक थिए भने साहित्यकार र विद्वान्हरूका आश्रयदाता पनि । तसर्थ यो शासनकाल गौरवशाली, महिमाशील र वैभवशाली परम्परा निर्वाह गर्नमा सक्षम थियो । तिब्बती बौद्धयात्री धर्मस्वामीले तिरहुत राज्यको राजधानी सिमरौनगढलाई एउटा स्वतन्त्र हिन्दुराज्यका रूपमा चर्चा गरेका छन् । प्राचीनकालदेखि नै मिथिला प्रदेश (पश्चिम गण्डकीदेखि पूर्व कोशीसम्म) हिन्दुको पावन तीर्थस्थलका रूपमा स्थापित र सुपरिचित रहेको छ । अद्यापि यो प्रदेश हिन्दु धर्म र संस्कृतिको विश्वप्रसिद्ध केन्द्र रहेको छ ।
मध्यकाल अर्थात् एघारौँ शताब्दीदेखि सुरु भई चौधौँ शताब्दीको पूर्वाद्र्धसम्ममा यो नगर उन्नतिको चरम सीमामा पुगेको देखिन्छ । त्यस युगमा यस नगरले जुन ख्याति प्राप्त गर्यो, त्यो त्यसबेला नेपालका अन्य कुनै नगरले प्राप्त गर्न सकेका थिएनन् ।
प्राचीनकालमा नेपालमा तीन राज्य संस्कृतिको प्रभुत्व र वर्चस्व थियो । पहिलो– खस संस्कृति; जसमा गोर्खा राज्यको संस्कृति आउँछ । दोस्रो– नेपाल मण्डलको संस्कृति; जसमा नेवारी संस्कृति आउँछ । तेस्रो– तिरहुत संस्कृति; जसमा मैथिली संस्कृति आउँछ । यी तीनवटै संस्कृति नेपाली संस्कृतिमा समाहित भएको पाइन्छ । आजको बृहत् नेपाली संस्कृति यी तीनवटै संस्कृतिको सङ्गमस्थल हुन पुगेको छ ।
सिमरौनगढको सांस्कृतिक, धार्मिक र पुरातात्त्विक तथा ऐतिहासिक महत्वलाई मुगल शासक गयासुद्दीन तुगलकले तहस–नहस पारेका थिए । गयासुद्दीनका उत्तराधिकारीले बचेखुचेको सांस्कृतिक सम्पदालाई पनि ध्वस्त नै पारेका थिए । मुगल सेनाको आक्रमणबाट सिमरौनगढ सुरक्षित रहन सकेन । सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीको बाटो नेपाल आउँदा मुगल सेनाले यी स्थानमा स्थापित हिन्दु मठ–मन्दिर तहस–नहस पार्दै सिमरौनगढलाई त ध्वस्त नै पारेका थिए ।
सप्तरीको सखडादेवीको मन्दिर र मूर्तिया (सर्लाही)को महादेव मन्दिरलाई ध्वस्त पार्दै यिनीहरू पश्चिमतिर लम्किए । पश्चिमतिर लाग्दा पनि बाटामा पर्ने मन्दिरका मूर्ति तोडफोड गरे । विजयोन्मादमा उन्मत्त मुगल सेनाको लक्ष्य थियो– तिरहुतको राजधानी सिमरौनगढ । यस राजधानी सहरलाई जितेर त्यहँँका राजालाई बन्दी बनाए । दिल्लीका मुगल शासकका प्रतिनिधिले १३ वर्षसम्म यहाँ शासन गरेको कुरा इतिहासमा उल्लेख छ ।
आजको सिमरौनगढ
सिमरौनगढ बाराको सदरमुकामदेखि ३५ कि.मि. दक्षिण–पूर्वमा रहेको छ । सिमरौनगढ धार्मिक, ऐतिहासिक पुरातात्त्विक र सांस्कृतिक दृष्टिकोणबाट आज पनि रमणीय एवं दर्शनीय ठाउँ भन्न सकिन्छ । नेपालको पर्यटन मानचित्रमा यसलाई महत्वपूर्ण ठाउँका रूपमा देख्न सकिन्छ । यहाँ कतिपय महìवपूर्ण ठाउँ छन्, जसलाई पर्यटकीय हिसाबबाट विकसित गर्न सकिन्छ र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसलाई पर्यटन स्थलका रूपमा विकसित गरेको खण्डमा मात्र यसको धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक स्वरूपलाई सुरक्षित राख्न सकिनछ । नत्र भने यसको प्राचीन गौरव–गरिमा नष्टप्रायः हुन बेर छैन । अहिले नै यसको प्राचीन सांस्कृतिक सम्पदामा ग्रहण लागिसकेको कुरा यस स्थलमा भ्रमण गर्ने जोसुकैलाई पनि अनुभूत हुन थालेको छ । यहाँको सांस्कृतिक सम्पदाको अवशेष तथा बहुमूल्य वस्तुको संरक्षण हुने कुनै लक्षण देखिएको छैन । यहाँ प्राप्त असङ्ख्य बहुमूल्य देवीदेवताका मूर्ति बेपत्ता पारिएका छन् । कतिपय मूर्ति आज पनि क्षत–विक्षत रूपमा यत्रतत्र फालिएका छन् । अधिकांश मूर्ति देश–विदेशका विभिन्न ठाउँमा पुगिसकेका छन् । केही मूर्ति (बढीमा दसवटाजति) अहिले कलङ्की मन्दिर परिसरमा बन्द गरेर राखिएका छन्, जसको साँचो नेपाल सरकार, पुरातìव विभागसँग रहेको छ ।
यहाँ आउने मानिस ती मूर्तिको निरीक्षण गर्न पाउँदैनन् । बाहिरबाट चियाएर हेर्नसम्म पाउँछन् । यसलाई व्यवस्थित र सुरक्षित पारेर एउटा सङ्ग्रहालयका रूपमा स्थापित गर्न सकिन्छ र आगन्तुकसित केही शुल्क लिएर यसलाई अवलोकनीय स्थल बनाउन सकिन्छ । यसबाहेक यहाँ कतिपय दर्शनीय स्थल छन्, जसलाई विकसित, व्यवस्थित र सुरक्षित गरेर दर्शनीय बनाउन सकिन्छ ।
यहाँस्थित केही दर्शनीय महत्वपूर्ण स्थलहरू
कङ्काली मन्दिर : यो मन्दिर प्राचीन इशरा पोखरीको किनारमा अवस्थित छ । यस मन्दिरभित्र प्रतिस्थापित कङ्काली माईको मूर्ति करिब तीन फिट अग्लो छ । कालो चिल्लो ढुङ्गामा कुँदिएको यस मूर्तिको हात र खुट्टा भग्नावस्थामा छ भने कम्मरको भाग पनि दुई टुक्रामा काटिएको छ । यस मन्दिरको धार्मिक दृष्टिकोणबाट धेरै महत्व छ । दुर्गा पूजाको पावन अवसरमा देशभित्रबाट मात्र होइन, छिमेकी देश भारतबाटसमेत भक्तजन यहाँ आउँछन् । यो मन्दिर शिखर शैलीमा निर्मित भएकाले कलात्मक पनि छ । मन्दिरको ठीक अगाडि आठ बिघाजति क्षेत्रफल ओगटेको इशरा पोखरी छ, जसको प्राचीनता असन्दिग्ध छ । यसको पश्चिम–दक्षिण किनारमा पक्का घाट निर्माण गरिएको छ । यस पोखरीमा सिलचर चरा असङ्ख्य उडेको देख्न सकिन्छ । चराप्रेमी पर्यटकका लागि यो दृश्य मनोहर एवं मनोरम लाग्न सक्छ । यहाँ नौका विहारको व्यवस्था गरेर पर्यटकलाई आकृष्ट गर्न सकिन्छ ।
यहाँको सांस्कृतिक सम्पदाको अवशेष तथा बहुमूल्य वस्तुको संरक्षण हुने कुनै लक्षण देखिएको छैन । यहाँ प्राप्त असङ्ख्य बहुमूल्य देवीदेवताका मूर्ति बेपत्ता पारिएका छन् । कतिपय मूर्ति आज पनि क्षत–विक्षत रूपमा यत्रतत्र फालिएका छन् ।
रानीवास परिसरमा निर्मित रामजानकी मन्दिर : यो क्षेत्र सिमरौनगढको मुख्य बजारबाट एक किलोमिटरमा अवस्थित छ । सिमरौनगढका राजा नरसिंहदेवकी रानी यस स्थानमा बसोबास गरेको हुनाले यसको नामकरण रानीवास गरिएको हो भन्ने जनविश्वास छ । जङ्गबहादुर राणाले पनि यस ठाउँको भ्रमण गरेकाले र उनकी रानीले यहाँ एउटा मन्दिर बनाउने इच्छा गरेकीले उनका छोरा जितजङ्गले आफ्ना पिताको यादमा वि.सं. १९३५ मा रामजानकीको मन्दिर निर्माण गरेका थिए । यस मन्दिरको निर्माण पनि शिखर शैलीमा भएको छ ।
रानीवासको प्राङ्गणमा यस मन्दिरको निर्माणले यस क्षेत्रको ऐतिहासिक र धार्मिक महत्व स्वतः बढ्न गएको छ । रानीवासको ठीक पछाडिपट्टि एउटा कमलपोखरी पनि छ तर सुरक्षित अवस्थामा नभएकाले यो क्षेत्र छिटै नै भग्नावशेषमा परिणत हुने आशङ्का छ ।
तण्डुल पर्वत : कङ्काली माई मन्दिरको दक्षिण–पूर्वमा सुरक्षा पर्खालमुनि सयौँ मिटरसम्म फैलिएको माटोको एउटा ढिस्को छ, जसलाई खनेर हेरियो भने डढेको चामलजस्तो माटोसँगै मिसिएको अवस्थामा आज पनि भेटिन्छ । यो एउटा रहस्यमय कुरो छ, जुन पुराताìिवक उत्खननको पर्खाइमा छ । जनश्रुतिअनुसार यहाँ पहिला अन्न भण्डार भएको हुन सक्छ । अर्को अनुमानअनुसार प्राचीनकालमा यहाँ ठूलो धार्मिक यज्ञ भएको पनि हुन सक्छ । यसलाई कालो चामल पनि भनिन्छ ।
कोतवाली : सिमरौनगढ बजारबाट तीन कि.मि. उत्तर–पश्चिमतर्फ लक्ष्मीपुर गाउँ; जसलाई पहिले कोतवाली गाउँ पनि भन्ने गरिन्थ्यो किनभने यहाँ कर्णाटवंशीय राजाहरूको कोतवाल बस्ने गर्दथे । करिब तीन बिघा क्षेत्रफल ओगटेको माटोको ढिस्को आज पनि हेर्न सकिन्छ । यसै माटोको थुम्कोमाथि कोतवालहरू बसेर सुरक्षाको काम गर्ने गर्दथे भनिन्छ । यहाँबाट सिमरौनगढको सबै भाग सजिलैसित हेर्न सकिन्छ ।
खजानी : जनश्रुतिअनुसार यहाँ कर्णाटवंशीय राजाहरूको खजाना राख्ने गरिएको हुनाले यसलाई खजानी भन्ने गरिएको हो भनिन्छ । यहाँ समय–समयमा विभिन्न बहुमूल्य वस्तु भेटिन्छन् । जस्तै– कौडी, सुनका भाँडाकुँडा तथा मूर्तिहरू । भनिन्छ, यहाँ एकचोटि एउटा किसानले एक झ्याँगा (तामाको ठूलो ताउलो)भरि सुन भेटेका थिए । तसर्थ पुरातात्त्विक दृष्टिकोणले यो ठाउँ पनि महìवपूर्ण हुन सक्छ ।
सन्दुक क्षेत्र : यो पनि ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणबाट महत्वपूर्ण ठाउँ भएकाले दर्शनीय छ । यसलाई तिजोरी पनि भनिन्छ । चतुष्कोण आकारको यो सन्दुकमा कलात्मक बुट्टा कुँदिएका छन् । यसमा बहुमूल्य वस्तु हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
झरोखर पोखरी : यसको क्षेत्रफल पहिला ५२० बिघा थियो भने अहिले २८ बिघामा सीमित भएको छ । यो भारत र नेपालको दसगजानजिक परे पनि नेपाल सीमाभित्र पर्छ । यस पोखरीको चारैतिर सिमलका ठूला–ठूला रुख छन् । यहाँ इस्वी सन्को नयाँ वर्षको दिनमा भारत, विहारका मानिस वनभोजका लागि आउँछन् ।
सिमरौनगढलाई एउटा पर्यटन स्थलका रूपमा परिणत गर्न सकिन्छ । राष्ट्रिय निकुञ्ज जाने पर्यटकलाई यहाँ लैजान सकिन्छ । हेटौँडाको भुटनदेवी र मनकामना देवी, वीरगञ्जको गहवा माई र विन्ध्यवासिनी देवी, सिमरौनगढको बाटामा पर्ने बरियापुरस्थित गढीमाई र सिमरौनगढको कङ्काली माईलाई धार्मिक पर्यटनस्थलको एउटा ‘पर्यटन प्याकेज’का रूपमा एक दिनमा भ्रमण गर्न सकिन्छ । यसबाहेक पर्सा वन्यजन्तु आरक्ष र हेटौँडाको शहीद पार्क तथा वीरगञ्जमा नवनिर्मित घडीअर्वा पोखरी तथा शङ्कराचार्य द्वारलाई पनि यस प्याकेजमा सम्मिलित गरेर दुई दिनको भ्रमण कार्यक्रम राख्न सकिन्छ । दिनभरिमा गढीमाई र कलङ्की माईको दर्शन गरेर राति वीरगञ्जस्थित पर्यटकीय स्तरका होटलमा विदशी पर्यटकलाई बसोबासको व्यवस्था गर्न सकिन्छ । वीरगञ्जदेखि सिमरौनगढसम्म दैनिक बस सेवाको व्यवस्था पनि छ । आगमनको सुविधा भएकाले सिमरौनगढसम्म आवत–जावत गर्नमा कुनै किसिमको असुुविधा हुने कुरो छैन । जाडोको याममा पर्यटकका लागि यो गन्तव्य स्थल हुन सक्छ ।
सिमरौनगढ एउटा किला नै किला भएको सहर थियो र मिथिलाको कर्णाटकालीन राजधानी पनि । यसलाई सिमरावगढ पनि भनिन्थ्यो र यसको स्थापना कर्णाटवंशीय राजा नान्यदेवद्वारा सन् १०९७ मा भएको थियो । यो सहर अहिले भग्नावशेषका रूपमा परिणत भएको छ । यसको जीर्णोद्धारमा न सङ्घीय सरकार न प्रदेश सरकार न स्थानीय सरकार कसैले पनि रुचि राखेको पाइँदैन, जुन दुःखद कुरो हो ।
यस मृत सहरलाई युनेस्कोले नै सञ्जीवनी प्रदान गर्न सक्छ र यसलाई सिर्जनात्मक सहर बनाउन सक्छ । यसका बारेमा प्रशस्त साहित्य पनि पाइँदैन । नेपाल प्रज्ञा–प्रतिष्ठानले दुई दशकअघि ‘सिमरौनगढ’ भन्ने पुस्तक प्रकाशित गरेको थियो तर यो संस्करण पाइँदैन । दोस्रो संस्करण प्रकाशनमा पनि रुचि लिएको देखिँदैन ।
सिमरौनगढका बारेमा अहिलेसम्म लिखितमध्ये पुरातत्वविद् मोहन खनालको पुस्तक ‘सिमरौनगढको इतिहास’लाई प्रामाणिक मान्न सकिन्छ । यसबाहेक अङ्ग्रेजी भाषामा केही फाट्टफुट्ट लेख स्वदेशी र विदेशी विद्वानुहरूको पनि पढ्न पाइन्छ तर अहिलेका इतिहासविद् केही मौलिक काम गर्नका लागि उत्साहित भएको देखिँदैन किनभने कुनै पनि प्राज्ञिक संस्थाको अभिरुचि यसमा देखा पर्दैन र यसको अध्ययन तथा अनुसन्धानका लागि कुनै बजेटको व्यवस्था भएको पाइँदैन । हालसालै लन्डनको एउटा विश्वविद्यालयबाट टोली आएर यसको उत्खनन त ग¥यो तर स्थानीयवासीहरूले कुनै वास्ता गरेनन्, जसले गर्दा यो उत्खननको काम तत्कालका लागि स्थगित गरेर विदेशी टोली स्वदेश फर्केको छ । यहाँ अहिलेसम्म कुनै सुविधासम्पन्न अतिथि गृह अथवा होटलको व्यवस्था हुन सकेको छैन । सिमरौनगढ नगरपालिकासित बजेटको अभाव नभए पनि सिमरौनगढको जीर्णोद्धारका लागि बजेटको व्यवस्था गरिएको छैन । मधेश प्रदेश सरकारले पनि यसको जीर्णोद्धारका लागि कुनै बजेट छुट्याएको छैन ।
“रामसिंह देवको शासनकालमा सिमरौनगढ आएको तिब्बती बौद्धयात्री ‘धर्मस्वामीको जीवनी’बाट के थाहा हुन्छ भने यो राजधानी सहर सिमरौनगढमा भव्य राजप्रासाद, राजाको शोभा यात्रा, सुरक्षा प्रबन्ध, तिरहुतका मानिसको तरबारबाजी उल्लेख भएको पाइन्छ । यस राजवंशको तीनवटा महाप्रतापी राजन्यमा नान्यदेव, रामसिंहदेव र हरिसिंहदेव अत्यन्त चतुर र विद्वान्, कूटनीतिज्ञ एवं राज्यरक्षामा समर्थ थिए ।” –मिथिलाका कर्णाटवंशीय राजा रामसिंह देव, सयपत्री (मैथिली विशेषाङ्क) नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान २०५५ ।
भक्तपुरको राजप्रासादको जलद्रोणी चोकमा अवस्थित झ्यालको तल्लो भागमा लामबद्ध नान्यदेव, गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव आदि कर्णाटहरूका नामसहित काठका मूर्तिहरूका ऐतिहासिक महìव छन् । –पुरुषोत्तम लोचन श्रेष्ठ, जरह चोकका कलाकृतिहरू (भक्तपुर मासिक माघ २०५५ वि.सं.)