सामाजिक प्राणी भएका मानिस घर परिवार र समाजसँग मिलेर बसेको हुन्छ।
कहिलेकाहीँ समय, परिस्थिति र बाध्यताले मानिस आफूले गर्नुपर्ने कर्तव्य चाहेर पनि निभाउन सकिरहेको हुन्न।
केहीले आफ्नो जिम्मेवारी पूरा गर्दैनन् भने कोही सम्बन्ध जोगाउन ठूलो त्याग गरिरहेका हुन्छन्। कोही–कोही सम्बन्ध टुटाउनकै लागि जालझेल र विश्वासघात गरिरहेका हुन्छन्।
कुनै सम्बन्ध यस्ता हुन्छन् जसलाई कसैले छुटाउँदा छुटिए पनि मन कहिल्यै छुटिएका हुन्नन्। कोहीले आफ्नो भन्दा सन्तानका लागि सम्बन्धलाई जवरजस्ती जोगाइरहेका हुन्छन्। कोही जोगिएका सम्बन्ध बिगारेर टाढिन्छन्।
केही वर्ष पहिले एक नेपाली महिला भन्नुहुन्थो, ‘म यो मान्छेसँग एक रती बस्न मन छैन तर के गर्नू बालबच्चाको लागि बाध्य भएर बस्नु परेको छ। नत्र कहाँ बस्थेँ र!
यस्ता उदाहरण प्रवासमा प्रसस्तै भेटिन्छन्। कोही कोही एक आपसमा राम्रोसँग नबोले पनि मा समाजमा देखाउन बोलेजस्तो गर्छन्। भित्री माया नभए पनि बाहिर बालबालिका लागि बाध्यताले देखावटि गर्छन्। मन विच्छेद भए पनि सम्बन्धमै रहिरहेका कयौं उदाहरण हामीकहाँ प्रसस्तै भेटिन्छ।
केही सम्बन्ध यस्ता हुन्छन् जसको साच्चिकै सम्बन्धविच्छेद हुँदा पनि मन कहिल्यै बिच्छेद भएको हुन्न। एक अर्कामा हुने सम्मान र मायामा कुनै कमि हुन्न।
यस्तै एक जोही हुन् लिजवनका- जो ज्वाओ र सोफिया।
पोर्चुगल बसाईको क्रममा ज्वाओ र हामी छिमेकी भयौं। बाटोमा हाई-हेलो गर्दा गर्दै असल छिमेकी नै भएँ। सन् २०१४ को अन्तिमबाट ज्वाओसँग मेरो मित्रता भएको थियो।
नेपाल र नेपालीलाई माया गर्ने उनी हिमाल भनेपछि हुरूक्कै हुन्छन्। नेपाली राष्ट्रिय खाना दाल भात तरकारी उनलाई औधि मन पर्थ्यो।
पेशले इन्जिनीयर ज्वाओ हामीसँग नजिक हुँदै गर्दा सन् २०१५ मा उनले आफ्नो श्रीमती सोफिया, छोरी लारालगायतसँग परिचय गराए।
उनकी श्रीमती सोफिया सुरूमा त कस्ती कस्ती लागेको थियो। बिस्तारै संगत गर्दै जाँदा उनी एक परिपक्क व्यवहारिक र सहयोगी महिला भएको पायौं।
हामी २ परिवार प्रत्येक १५ दिनमा एक पटक भेट्ने गर्थ्यौं। नेपाली खाना खान्थ्यौं, नेपालको प्रकृति र हिमालबारे कुरा गर्थ्यौं। हामीले आ-आफ्ना फोटा सामाजिक सञ्जालमा नराख्ने सहमति गरेका थियौं।
किनकि सोफियाको एक पटक सामाजिक सञ्जालमा फोटो मिसयुज भएको रहेछ। हाम्रो करिब ८ वर्षे मित्रताको अन्तरालमा आजसम्म एक अर्काको फोटो सामाजिक सञ्जालमा राखेका छैनौं। तर हाम्रो आत्मीयता अझ गहिरो हुँदै गएको छ।
ज्वाओ एक सफल इन्जीनियर हुन्। उनको आफ्नै कम्पनी छ। उनले २ दर्जन बढीलाई रोजगारी दिएका छन्।
सोफिया एक अस्पतालमा जागिरे छन् भने छोरी मेधावी छन् पढ़ाईमा अब्बल छिन्। अतिरिक्त क्रियालपामा उनी सधै पहिलो हुन्छिन्। बाबु आमाले छोरीलाई असल संकार सिकाएका छन्। लारामा हरेक संकारको विकास भएको छ। आफूभन्दा ठूलोलाई आदर र सम्मान गर्ने अनि आफूभन्दा सानालाई माया गर्ने उनको संकार लोभलाग्दो छ।
न ज्वाओले कहिल्यै सोफियालाई नराम्रो बचन बोल्छन् न त सोफियाले ज्वाओलाई नै बचन लगाउँछिन्।
एक अर्कामा अति आत्मीयता, घनिष्टता अनि विश्वास छ।
ज्वाओ, सोफिया र छोरी लारा कहीँ जादा ज्वाओले गाडी चलाउँथे। हुस्कीप्रेमी ज्वाओ साझमा हुस्की लिएको बेला सोफियाले गाडी चलाउँथिन्। यसरी नै उनीहरूको दैनिकी चलिहरेको थियो।
सन् २०२० को पहिलो महिना लाराको जन्म दिन थियो। लारा अब १८ वर्ष पूरा भइन्। उनी अब आफूले रोजेको केटालाई व्याइफ्रेन्ड बनाउन सक्छिन् भने चाहेको बेलामा छुट्टै बस्न पनि सक्छिन्।
लाराको जम्मदिन भव्य भयो। करिब १०० भन्दा बढी आगन्तुक खुसी थिए। सबै जना लाराको जन्मदिन मनाएर आ-आफ्नो घर फर्किए।
त्यसको केही सातापछि ज्वाओसँग भेट भयो। ज्वाओले भने- हेर मेरो र सोफियाको डिभोर्स भयो, म अहिले अलि टाढा बस्छु। अव म र सोफियाबीच कुनै दाम्पत्य सम्बन्ध छैन।
उनका कुरा पत्यार नै लागेन। हिजोसम्म चखेवाको जस्तो जोडी आज एक्कासी कसरी भिन्न हुनसक्छ भनेर पत्यार नै लागेन।
बुझ्दै जाँदा यो कुरा वास्तविक रहेछ। उनीहरूको लागि सामान्य भए पनि हाम्रा लागि उनीहरूको पछिल्लो क्रियाकलापले दुःखी बनाएको थियो।
एक दिन ज्वाओले भने, ‘तिमीहरु सोफियासँग पनि संगत गर। उसलाई बोलाउ, उनीसँग नजिक बन केही फरक पर्दैन। कहीँ पार्टी भोज भतेरमा उसलाई पनि बोलाऊ।’
सोफियासँग पनि उनीहरूको सम्बन्धबारे बुझ्यौं। सोफियाले भनिन्, ‘हामी पहिल्यै डिभोर्स गर्न चाहेको थियौं तर छोरी लारा १८ वर्ष पुगेपछि मात्र हामी छुटिने सहमति गरेका थियौं, छोरी १८ वर्ष पुगेपछि हामी सहमति अनुसार नै अलग भयौं।’
उनले अगाडि भनिन्, ‘किनकी, हाम्रो सन्तानको उमेर कलिलै छ। हामी डिभोर्स भएपछि कहिले बाबु, कहिले आमासँग हुँदा उसले पाउने संकार र उचित वृद्धिविकास हुँदैन त्यसैले हामी हाम्रो सन्तानकै लागि सँगै बसेको हौं। तर छुट्टिने सहमति पहिल्यै भएको थियो।’
उनको कुराले हामीलाई आश्चर्यमा पार्यो। सँगै एक अभिभावकले आफ्ना सन्तानप्रतिको जिम्मेवारीबारे उचित पाठ पनि सिकियो।
हामीले बोलाउने पारिवारिक भेटघाटमा उनीहरू नआए पनि धेरै जना उपस्थित हुने पार्टी हरूमा उनीहरू आउँथे। ज्वाओ आफ्नी नयाँ प्रेमीकासँग आदँदा सोफिया छोरीलाई लिएर आउथिन्।
कहिलेकाँही दुई जनालाई नै हामी जिस्काउँथौं। ‘तिमीहरू २ जस्तो त अरू कोही सुहाउँदैन। तिमीले पनि ज्वाओ जस्तो पाउँदैनौ अनि ज्वाओले पनि सोफिया जस्तो पाउँदैनौं,’ यसो भन्दा उनीहरू मन्द मुस्कान छोड्थे।
ज्वाओ ४९ वर्षको भए पनि उनको व्यवहार केटाकेटी जस्तै थियो। तर ४५ वर्षिया सोफिया एक परिपक्क महिला थिइन्।
उनले गरेको निर्णय र कुरा सही भए पनि केही कुरा ज्वाओको आमा, हज़ुरआमा, मान्लालाई मन पर्दैथियो।
केही महिना अगाडि ज्वाओको हजुरबा बिते। सोफिया आईन् उनले सबैसँग अंकमाल गरिन् तर ज्वाओ र उनकी नयाँ गर्लफ़्रेन्डसँग सामान्य बोलचाल मात्र गरिन्।
हामीलाई यी सबै क्रियाकलाप देख्दा अचम्म लागे पनि उनीहरूको लागि सामान्य थियो।
केही समयअघि ज्वाओले गुनासो गरे, ‘सोफिया ठिकै थिई तर आमा, हजुरबा, सानीआमालाई खै किन मन परेन।’
ज्वाओको अहिलेकी गर्लफ्रेण्ड पनि अरू कसैसँग डिभोर्स भएर २ बालबच्चाकी आमा हुन्। उनी पनि व्यवहारिक छन्। परिवारको कुरा बढी सुन्ने भएर उनी सबैकी प्यारी छन्।
उनीहरू हरेक आईतबार परिवारका सबै सदस्य बसेर खाना खान्छन्। त्यहाँ ज्वाओको ती नयाँ गर्लफ्रेन्डलाई सबैले मन पराउँछन्।
ज्वाओलाई सोफियाले स्वतन्त्र छोडिदिएकी थिईन् तर नयाँ गर्लफ़्रेण्डले सबै कुरामा कन्ट्रोल गर्न खोजेपछि उनी अलि विच्कीएका छन्।
सन् २०२३ को जनवरीतिर ज्वाओले आफूसँग कतै जान आग्रह गरे, मैले सहमति जनाएँ।
‘उनले सेल्फी खिचे अनि हाम्रो सेल्फी उनले आफ्नो नयाँ गर्लफ्रेन्डलाई पठाए। ‘आज म ऊ सँग छु,’ भने। उनी ढुक्क भइन्।
केही समयको ड्राईभपछि हामी एउटा घर पुग्यौ। त्यो घर ज्वाओले छोरीलाई किनिदिएका रहेछन्। त्यहाँ छोरी लारा र सोफिया बस्दारहेछन्।
घरको किचन बिग्रिएपछि सोफियाले कोही टेक्निसियन पठाईदिनू भनेर उनलाई कल गरेकी रहिछन्। तर ज्वाओ आफैं गए। म छक्क परेँ। सम्बन्धविच्छेद गरेकी श्रीमती र श्रीमान यसरी फेरि सौहार्द रूपमा भेट हुँदा मैले अचम्म माने।
ज्वाओले कारबाट मेसिन निकाले र बिग्रिएका सबै मिलाए। त्यसपछि सोफियाले हामीलाई आफ्नो पुरा घर देखाइन्। उनले आफूहरूको पहिलाको पुरानो फोटोदेखि छोरीको पढ्ने कोठा, काम गर्ने कोठा, आफ्नो कोठा र भित्तामा सजाइएका सबै फोटाहरू देखाइन्। ‘उ त्यो फोटो म र ज्वाओ डिभोर्स गर्ने दिनको हो। अनि यो फोटो चै हामीले बिहे गर्दाको फोटो हो’, उनी एक एक गर्दै फोटो देखाउँदै गइन् म भने उनीहरूको फोटो हेरेर भावुक भएँ।
ज्वाओले वियर खान खोजे। सोफियाले वियर निकालेर दिइन्। यी २ को दृश्य हेर्दा हामी गाउँमा विहे गर्न केटी माग्न जाँदा केटीले चिया दिँदा केटाले हेरेको नजर जस्तै देखिन्थ्यो।
म अचम्म मान्दै थिएँ। मनमनै खुसी पनि थिए। छुट्टिने बेलामा सोफियाले ज्वाओलाई सोधिन्, ‘खै त मेरो लागि केही खानेकुरा ल्याएनौ?’ भनिन्।
ज्वाओले के खाने हो र भन्दै उनले भनेको खानेकुरा छोरीलाई पठाईदिने भनेर छोरी लिएर हिँडे।
हिँड्ने बेलामा उनीहरूले अंकमाल गरेनन्। भर्खर प्रेम गरेको प्रेमिल जोड़ी छुट्ने बेला जस्तै गरी वाई मात्र भने।
अलिक अगाडि पुगेपछि फेरि ज्वाओले हाम्रो सेल्फी खिच्यो अनि आफ्नो परिवारलाई पठायो। मैले किन भनेर सोधेँ। उसले जवाफ दियो-हामी सँगै छौ भन्ने होस्।
बाटोमा मैले उसलाई सोधेँ- सोफिया कस्ती छन्।
उसले भन्यो- सोफिया झन राम्री भएकी रहिछन्। तर म अब उनीसँग डिभोर्स भएको छु। मेरो अहिले गर्लफ़्रेण्ड छ। म सोफियालाई श्रीमतीको रूपमा फेरि कहिल्यै अपनाउन सक्दिनँ। तर उनीप्रतिको माया सद्भाव र सम्मान सधैं रहनेछ। उनको र मेरो मायाँको चिनो छोरी लारा हुन्। म सोफिया प्रति कहिल्यै नराम्रो हुनेछैन।
भोलिपल्ट सोफिया हाम्रो घरमा आईन्। मैले जिस्काएँ, ‘तिमीहरु त हिजो प्रेमीप्रेमिका जस्तै थियौं। दुवैले कर्के नजर जुधाउँदै गफ गर्दै थियौ, मलाई औधि खुसी लाग्यो।’
सोफियाले ‘ओ मालुको’ भन्दै हाँस्दै जवाफ दिइन्। ‘होइन तिमीले हामीलाई मात्र हेरेर बसेका थियौं र मसँग डिभोर्स भए पनि उसले आफ्नै घरमा बस भनेको छ। म छोरीसँग बसेको छु। म सँग केही कुरामा आपत्ती भयो होला तर उसको खुसीका लागि मैले छुट्टिने निर्णय गरेँ। मेरो चाहना उ खुसी होस् उ सुखी होस् भन्ने मात्र हो। उ जे भए पनि लाराको बाबु हो।’
उनले अगाडि भनिन्, ‘उसको र मेरो मायाको चिनो छोरी छ हामी २ किनार भए पनि हाम्री छोरीले पुल बनेर हामीलाई सधै नजिक बनाउने छिन्। अब उ मेरो श्रीमान कहिल्यै हुँदैन। तर म सधै उसलाई माया र सम्मान गर्छु। तिमीहरूले पनि ज्वाओलाई बोलाईराख्नु ऊ असल मान्छे हो।’
ज्वाओ र सोफियाको सम्बन्ध देखेपछि लाग्यो हरेक सम्बन्ध छोडपत्रले नचुडिने रहेछ। म मनमनै कामना गर्छु सम्बन्धविच्छेद भए पनि मन व्यवहार सवैको सोफिया र ज्वाओको जस्तो होस्।