काठमाडौं, दक्षिणकाली नगरपालिका, वडा नं. ३ सोखेलका डा.शेखरकुमार श्रेष्ठले नेपाली साहित्यमा बहुविधामा कलम चलाएका छन्। उनका सगरपुर, पूर्णिमाको राती, सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत, धन्यवादका पात्र, कमिलाको जन्ती, हिमाल मुन्तिर, मृत्यु उत्सव होस् गरी एक दर्जन जति कृति प्रकाशित छन्।
डा. श्रेष्ठ आफू मात्रै लेख्दैनन्, नयाँ स्रष्टाहरूलाई लेख्न उत्तिकै हौस्याउँछन्। प्रेरणाका स्रोत श्रेष्ठले आफ्नो क्षेत्र काठमाडौंको दक्षिणी भेकलाई साहित्यिक फूलबारी बनाउन सबैलाई अभिप्रेरित गर्छन्।
नेपाली साहित्यमा विद्यावारिधि गरेका श्रेष्ठका दुई लघुकथासंग्रह ‘छाता’ र ‘बोकाको खुसी’ एकैसाथ प्रकाशित भएको छ। उक्त कृति पढेपछि मनमा लागेका केही कुरा लेख्दै छु।
श्रेष्ठको लघुकथासंग्रह ‘छाता’ मा सङ्गृहीत पहिलो कथा नातिनी हो। यसले सम्रग समाजको सामाजिक चरित्र उतारेको छ। त्यस्तै पछुतो लघुकथाले ‘नजिकको तीर्थ हेला भने’झैं घरको देवता नचिन्ने स्वार्थी सन्तानलाई झापट हानेको छ।
पूर्णिमाको रातमा प्रेम, समर्पण र विश्वासको प्रतिविम्ब पाइन्छ भने धत् लघुकथामा भ्रष्टाचार विरुद्घको क्रन्दन छ। आफन्तको मृत्युमा पनि कमिसन खोज्ने समाजसेवीहरूको कम नभएको कुरा कमिसनमा छ भने रोग, शोक र भोकमा पनि भ्रष्टाचार गर्ने प्रवृत्तिलाई मुसा लघुकथाले देखाएको छ।
त्यस्तै रात रहे अग्राख पलाउँछ भनेझैं ज्यान जोगाउन गाउँ आएका शहरमुखीहरूको औकात स्वागत लघुकथामा आएको छ। मान्छे सबैभन्दा विवेकशील भएर पनि पतुर बन्छ भन्दै मानिसको अहंकार र घमन्डले मानिसलाई नाश गरेको कुरा मान्छे लघुकथामा अभिव्यक्त छ।
त्यसैगरी आँसुमा माल पाएर चाल नपाएका साधनले सुविधाभन्दा दुविधा बढाउँछ भन्ने ज्ञान देखाइएको छ। राहत सामानले भने मानवीय सेवा देखावटी र खोक्रो प्रचारबाजी भएको कुरा दर्शाएको छ।
उनको वरदान लघुकथाले भगवानसँग वरदान माग्दा पनि मान्छे कतिसम्म एकलकाँटे हुन्छ र आफ्नो स्वार्थपूर्तिमा केन्द्रित रहन्छ भन्ने कुरा देखाएको छ। सुझाउले कोरोनाकालीन परदेशीको पीडा मार्मिक ढंगले उजागर गरेको छ भने यस्तोचाहिं नहोस्, यात्रा जस्ता लघुकथाहरू सामाजिक घटनामा बुनिएका छन्।
त्यस्तै जिन्दगीको कथामा एउटी नारीको पूर्ण जीवनयात्रा प्रस्तुत गरेको छ। उनको ‘किसान’मा वर्तमान किसानको व्यथा देखाइएको छ भने अश्वत्थामाचाहिं पौराणिक विषय छ। यसमा पुराणले वर्तमान विज्ञानलाई गरेको हस्तक्षेप आएको छ।
उनको छाता लघुकथामा प्रेम हुन परिचित हुनुपर्छ भन्ने छैन भन्दै प्रेम विपरीतलिंगतर्फ भएको आकर्षण भएको कुरा आएको छ। उनका दुई कृतिमा धेरै लघुकथा छन्। यी लघुकथाहरूले सामाजिक दायित्व र कर्तव्य उजागर गरेका छन्। बोकाको खुसी लघुकथाले खुसी हुन नजान्ने मान्छेको प्रवृत्तिमाथि दरो झटारो हानेको छ।
खासगरी श्रेष्ठका यी दुई कृतिले डा. श्रेष्ठको बौद्घिक क्षमता, कल्पनाशीलता मात्र उजागर गरेको छैन, यी लघुकथाहरूमा लेखकले समयको महत्त्व बुझेर लेखेका छन्। उनले कोरोनाकालीन अस्तव्यस्त समयलाई लघुकथा लेखनमा सदुपयोग गरी साहित्यको श्रीवृद्घिमा लगाएका छन्।
लघुकथा लेखन मेरो विधा होइन। यसको प्राविधिक बुनोट पनि मलाई थाहा छैन। तर,श्रेष्ठका यी दुई कृति पढेपछि लघुकथा लेखन गम्भीर हुँदो रहेछ भन्ने बुझें। लघुकथा लेखन र मुक्तक लेखनको शिल्प अझ भनूँ घटना/विषय उठान र बैठान उस्तै हुने लाग्यो। मुक्तकले झैं लघुकथाले झट्का दिए मात्र पूर्ण लघुकथा बन्ने कुराको ज्ञान म जस्ता सिकारु लेखकलाई प्राप्त भयो।
कथाकार श्रेष्ठका लघुकथाका पात्रहरू निर्बल, निरीह, निर्दोष र यथार्थ धरातलबाट लिइएका छन्। उनका लघुकथाहरूले भविष्यप्रति आशावादी सोच राखी उज्ज्वल भविष्यप्रति इमानदारीपन देखाएको छ। स्थानीय कला, संस्कृति, हावापानी, आफू जन्मेको स्थानको महत्त्वलाई सरल र सरस ढंगले उनका लघुकथाहरूमा अभिव्यक्त भएको देखिन्छ। यसले लेखकमा आफ्नो स्थानप्रति अपनत्व रहेको देखिन्छ। पुस्तकको आवरण चित्र र लेआउटको हिसाबले पनि कृतिले नामसँग सामीप्य राखेको देखिन्छ।
अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई!