
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ विनयी खोला पुल नजिकै हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकै परिवारका अरु तीन जना घाइते भएका छन् ।
काठमाडौबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०१-००३० च ८१६७ नम्बरको गाडि चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १५/२० मिटर टाढा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ का ३६ वर्षीया दीपिका तिमिल्सिनाको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
गाडीका चालक उहाँका श्रीमान् ३७ वर्षका गणेश तिमिल्सिना, १५ वर्षीया छोरी प्रवेशा र छोरा १२ वर्षीय रयास घाइते हुनु भएको छ । घाइतेमध्ये गणेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।


















