नेभिगेसन मेनु

बेहुली भृकुटीलाई अन्माउँदा दिइएका आर्शिवादहरु
सम्पादक:南亚网络电视
समय:2025-04-05 12:54

bhrikuti

एस् ए टी भी २३ चैत्र, काठमाडौँः (व)स्रोङ(व)त्सन(स) गमपोले वि.सं. ६८९ (सन् ६३२) सम्ममा ल्हासाको करिब करिब आधारशीला खडा गरी शक्तिशाली तिब्बत (ट्युवो) अधिराज्यको स्थापना गर्नुभयो। त्यही वर्ष दक्षिण (नेपाल) का राजाकी छोरी र चीनका राजाकी छोरीसँग कूटनीतिक पारिवारिक विवाह गर्ने इच्छाको सुन्दर योजना बनाउनु भयो। सर्वप्रथम नेपाल (खोपासी क्षेत्र) का राजा उदयदेव (ह्वेशार गोचा) र रानी भद्रावतीको गर्भबाट वि.सं. ६८१ (सन् ६२४) मक्कर संक्रान्ति (माघ वदी १) मा जन्मिनु भएकी ९ वर्षीया छोरी भृकुटी (ल्हाच्ह्गि ठ्रित्सुन) लाई विहे गरी रानी बनाउने निर्णय लिनुभयो (शिवाकोटी, प्रा.डा.गोपाल, वि.सं. २०७५, अन्तर्वार्ता)। त्यसै कामका लागि तिब्बती मन्त्रीका अङ्गरक्षकहरु, राजाका तीनवटा सन्देश–पत्रहरु, दोभासेसहित मन्त्रीद्वय गार तोङ्सेन युलसुङ् र थोनमी सम्भोटालाई भृकुटी जन्मस्थल खोपासी (कुर्पासी) तर्फ पठाउनु भयो। मन्त्रीद्वय केरुङ्को बाटो भएर खोपासी आउने तयारीस्वरुप वि.सं. ६८९ को आश्विन अन्तिम हप्ता (तिब्बती पात्रोअनुसार अटम महिनाको ८) तिर ल्हासाबाट हिँडे। यो विवाह प्रतिनिधिमण्डल वि.सं. ६८९ मंसिरको तेस्रो हप्ता तद्अनुसार सन् ६३२ को डिसेम्बर अन्तिमतिर केरुङ–रसुवागढीहुँदै नेपाल आइपुगेको देखिन्छ (थापा शैलेन्द्रबहादुर, ‘सिपाही वार्षिक’ वर्ष ५७ (५८), वि.सं. २०८१ : ५)।

shailendra bahadur thapa

(व)स्रोङ(व)त्सन(स) गमपोद्वारा लिखित ‘मणि काबुम भोलुम क’ सँग सम्बद्ध आवश्यक विषयवस्तुलाई तिब्बती अनुवादक बुरिङ चेनद्वारा नेपालीमा गरिएको अनुवाद सुनौं : (व)स्रोङ(व)त्सन(स) गमपोले मन्त्री गार तोङसेन युलसुङमार्फत भृकुटीको लागि सुरक्षा कवच उपहार पठाउनु भएको छ। तथापि भृकुटीका बुवा उदयदेवले दस कुशल धर्मको देश नेपालका राजाको छोरी भएको नाताले तिब्बतमा पनि धर्मको प्रचार भएको छ भने तिब्बती राजालाई भृकुटी दिन सक्छु अन्यथा दिन सक्तिन भन्नु हुन्छ। नेपाल–तिब्बतबीचको भौगोलिक दूरी टाडा भएकाले आउन जान कठिन हुने बुझी तिब्बती मन्त्रीले आफ्नो राजाका तीनवटा सन्देश–पत्रहरु एकैपटक साथमा बोकेर आउनु भएको थियो। जसमध्ये पहिलो स्वर्णाक्षरको सन्देश–पत्रले यदी भृकुटीलाई तिब्बती राजासँग विवाह गराउन तिब्बत पठाइदिनु हुन्छ भने तिब्बती राजाले नेपालमा जस्तै भोट तिब्बतमा पनि “दस कुशल धर्म” र “बुद्ध धर्म संघ” स्थापना गरी फैलाइदिन्छु भन्नुहुन्छ (गमपो, ‘मणि कावुम भोलुम क’ : पृ. एक्स १५–१८)। “दस (१०) कुशल धर्म (शिल)” चिनौं :

शरीरबाट निस्कने ३ शिलहरु : हत्या, हिंशा नगर्ने। चोरी नगर्ने। परपुरुष–परस्त्री गमन नगर्ने।

मुखबाट निस्कने ४ शिलहरु : झुठो नबोल्ने। सानो कुरालाई ठूलो बनाएर नबोल्ने अर्थात नभाँड्ने, नबिगार्ने, द्वेष नफैलाउने। अपब्याख्या, अपशब्द नबोल्ने। अनावश्यक कुरा, फजुल गफ वा व्ययभिचारी नगर्ने।

मनबाट निस्कने ३ शिलहरु : मनमा नराम्रो नसोच्ने। लोभ, लालच, मोलाहिजा नगर्ने। कर्मा अर्थात् बुद्धको सिद्धान्त विपरित नसोच्ने (थापा, ‘भृकुटी’, वि.सं. २०७८ : ३९)।

रजताक्षरको दोस्रो सन्देश–पत्रले यदी भृकुटीलाई रानी बनाउन पाएँ भने तिब्बतमा ५ हजार बुद्ध मूर्ति बनाउने, भृकुटीको माइती देश दक्षिण नेपालपट्टि ढोका फर्काई १०८ विहारहरु स्थापना गर्ने खबर लेखी पठाउनु भएको छ। यो खबरले उदयदेवलाई तिब्बती राजा प्रतापी रहेछन् भन्ने बोध गराउँछ। प्रत्युत्तरमा उदयदेवले पनि तिब्बती मन्त्रिहरुलाई आफ्नो देशमा कश्यप बुद्धका पालादेखि अविच्छिन्नरुपले चलीआएको रीतिस्थिति, वंशपरम्पराको गौरव सुनाउँदै पञ्चेन्द्रिय तृप्तिका लागि ५ कामना पूर्ण पार्ने धन प्रशस्त भएकाले यदी तिब्बतमा पनि यस्तै हुन सक्छ भने भृकुटी दिन सक्छु, नभए नदिने भन्नु हुन्छ।

तिब्बती मन्त्री गार तोङ्सेनले दिएको आफ्ना राजाको तेस्रो–सन्देश पत्रले यदी भृकुटीलाई तिब्बतकी रानी बनाउन पाएँ भने अन्य देश–देशान्तरका राजाहरुलाई पनि पुग्ने प्रशस्त सुन, चाँदी र विविध रत्नका खानीहरु तिब्बतमा खोलिदिनेछु भन्ने प्रतिज्ञा पढेपछि उदयदेवलाई भोटका यी राजा सिद्धपुरुष, निर्माणकाय रहेछन् भन्ने लाग्छ। त्यसपछि राजा उदयदेवले आफ्नी छोरी भृकुटीलाई तिब्बतका राजा (व)स्रोङ(व)त्सन(स) गमपोकी रानी बन्न जानको लागि सम्झाई बुझाई गर्नुहुन्छ। तर भृकुटीले बुवालाई भोटदेशको अनभिज्ञ परिस्थितिको बोध गराउँदै म कसरी जाउँ ? प्रश्न गरेपछि जवाफमा बुवाले छोरी भोटदेशका राजा ठूलाबडा, सिद्ध भएकाले वहाँलाई चिढाउनु हुन्न, तिमी शान्तपूर्वक राजीखुशीले जानु भनी सम्झाउनु हुन्छ।

भृकुटीले बुवाको आग्रहलाई नकार्न सक्नु भएन। तर तिब्बत जानका लागि अक्षोम्य (इष्टदेव महाकरुणामय स्वयम्भू शाक्य बुद्ध मूर्ति), धर्मचक्रप्रवर्त मैत्रेय बुद्ध र चन्दनको आर्यताराको मूर्ति, रत्न, न्याना वस्त्रकपडा, कश्यप बुद्धद्वारा प्रतिष्ठापित धर्मचक्रप्रवर्त, मैत्रेय चन्दनघोषिका तारा र देवराज इन्द्रले पूजिएका स्वयम्भू बोधिभद्र शाक्यमुनिका मूर्तिहरु साथमा लिएर जान राजी हुनुभयो। बुवा पनि सहमत हुनुभयो (गमपो : पृ. एक्स १५–१८)। यसरी छोरीको तिब्बती राजासँग विहे गर्ने इच्छा भईसकेपछि भृकुटीलाई अन्माउनु पुर्व बुवा राजा उदयदेवले यस्तो उपदेश दिनुहुन्छ, जुन आज पनि हाम्रा महान एशियाली विवाहित नारीहरुका लागि अमूल्य वरदान सावित हुन सक्छन्। आज पनि आ–आफ्ना सौभाग्यवती छोरीहरुलाई विवाहमा अनमाउने बेलामा भृकुटीले पाउनु भएका यी नैतिक आचार, विचार, व्यवहार हस्तान्तरण गर्ने परिपाटी, रीतिस्थितिको विकास गर्न सकियो भने गृहस्थ जीवन गुणधर्म कल्याणकारी, नीतिसंगत, न्यायसंगत हुन सक्छ।

छोरी भृकुटीलाई बुवा उदयदेवले आर्शिवादको रुपमा दिनुभएका उदयोपदेशहरु यस्ता छन् : छोरी तिमीले हेर्ने दृष्टिकोण आकाशभन्दा खुला राख्नु। कहिल्यै नहड्बढाउनु, हतार नगर्नु। आफ्नो सिद्धान्तपूर्ण उद्देश्यलाई हिमालभन्दा उँचो राख्नु। हाँस्दा कमलको फूल खुलेजस्तो गरी हाँस्नु, तिम्रो कार्य कपटरहित कमल जस्तो स्वच्छ रहोस्। मानव जीवनलाई सार्थक बनाउने काम गरे। उठ्दा, बस्दा आफ्नो शरीरलाई कुप्रो नपारी (गर्धन, ढाड) सिधा राखे। तिम्रो चरित्र सुदृढ् वस्त्रग्रन्थि जस्तै नखुस्कने दृढ् रहोस्। तिम्रो स्वभाव मसीनो मलमल जस्तो कमलो होस्। मनलाई सेतोभन्दा सफा राखे, तिम्रो बुद्धि नैनसुत जस्तो स्वच्छ रहोस्। बोल्दाखेरी औषधीले काम गरे जस्तो गरी मीठो, मसिनो बोल्नु। मौरीले जस्तै बचत गर्ने बानी बसाल्नु। आफ्नो श्रीमानसँग मनलाई उज्यालो बादल जस्तो सफा राख्नु। छोरी तिमीले सिक्ने, सुन्ने आफ्नो वल, बुद्धीमानीपूर्ण क्षमतालाई सागरभन्दा गहिरो विशाल क्षमता राख्नु। हात कमलको फूलभन्दा

सफा राखे, ती हातहरु वैद्यराजको झोला झैं जे चाह्यो त्यो दिन सक्ने परोपकारी रहुन्। आफूभन्दा सानालाई छोराछोरी जस्तो माया गर्नु, दीन दुःखीजनप्रति छोराछोरीलाई जस्तो कल्याण गर्नु। असल मान्छेहरुलाई देवता समान मान्नु। खाना खाने बेलामा औषधि खाएको जस्तो गरी ठिक ठिक मात्रा मिलाएर खानु। औषधीले जस्तो अरुको कल्याण गर्नु। सूर्य चाँद जस्तो उज्यालो सफा व्यवहार गर्नु। धार्मिक, नैतिक विधि–व्यवहारको पालना गर्नु (गमपो : पृ. एक्स १९ र २०)। पृथ्वी जस्तो (सहनशील) क्षमाशील हुनु। तिम्रो पढाइ लेखाइ बिजुली चम्के जस्तो तेजिलो रहोस्। आफ्ना साथीसंगीलाई समादर, सत्कार गर्नु। सज्जनहरुमा स्वामीलाई जस्तैगरी मान राख्नु। प्राणी मात्रमा मातृत्व व्यवहार गर्नु। पापकर्मलाई विष जस्तो गरी त्यागिदिनु। कुशल कर्ममा बाबुले झैं (चाँडै) लाग्नु। पाश्र्ववर्तीजनसँग विवाद नगर्नु। आफ्ना दाजुभाई बन्धु सबैको प्रिय बन्नु। परोपकारमा लागिरहनु (नेपाल ज्ञानमणि, ‘नेपाल–भोटचीनसम्बन्धका केही साँस्कृतिक पक्ष’, वि.सं. २०४५ : ११-१२)। त्यसपछि बेहुली भृकुटीलाई वि.सं. ६८९ चैत्रको तेस्रो हप्ता ताका नेपाल (खोपासी) बाट अन्माइन्छ। वि.सं. ६९० असारको तेस्रो हप्ता तदअनुसार सन् ६३३ को जून÷जुलाइ ताका भृकुटीलाई ल्हासा पु¥याएको अध्ययनबाट देखिन्छ (थापा, ‘भृकुटी’ : ३३)। नेपालकी राजकुमारी तिब्बतकी महारानी भृकुटीले बुवाका यी आर्शिवादहरुलाई उच्चशी-मा राखी भोट, तिब्बतमा आफ्ना प्यारा राजासँग मिलेर जीवनभरि गृहस्थ राजकीय धर्म सम्पादन गरिलिनु भएको इतिहास एशियाली नेपाल–चीन (तिब्बत) सामु साक्षी, विश्वसामु चीरपरिचित रहँदैआएको स्मृति भुल्न सकिदैन।

निष्कर्ष : यसरी हाम्रो वर्तमान १३९१ वर्ष अगाडिको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक संगठनको गहिरो शक्तिशाली जगमाथि उभिएको छ। त्यसकारण नेपाल–भोट (चीन) सम्बन्धको सेतु कमजोर छैन। एशियाली सभ्यताको विजारोपणलाई समयक्रमसँगै मलजल गरी अगाडि बढ्दैछौं। त्यसकारण एशियाली नर–नारीहरु विश्वको जुनसुकै देशमा रहेतापनि यी हाम्रा गौरवशाली नैतिक कल्याणकारी आर्शिवादमुलक उदयोपदेशहरुलाई मन, वचन, कर्ममा राख्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा बसेर विश्वशान्तिको कामना गरिरहेका छौं। यसरी बुद्ध, भृकुटीदेवी जन्मभूमि नेपालका नेपाली मूल्य, मान्यता, विश्वास प्रणाली ब्रम्हाण्डभरि गुञ्जयमान छन्।

(लेखक भृकुटी स्मृति प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता हुनुहुन्छ।)

राष्ट्रिय अभिलेखालयमा सुरक्षित (व)स्रोङ(व)त्सन(स) गमपोद्वारा लिखित ‘मणि काबुम भोलुम क’ का केही सान्दर्भिक पेचाहरु प्रस्तुत छन्, जसमा (व)स्रोङ(व)त्सन(स) गमपो र भृकुटीसँग सम्बन्धित तथ्य तथ्यांकहरु भेटिएका छन :

bhrikuti 1

bhrikuti 2

bhrikuti 3

bhrikuti 4

bhrikuti 5

bhrikuti 6

bhrikuti 7

bhrikuti 8

bhrikuti 9

bhrikuti 10

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर