माघ २३ गते । रिलमा कलाकार बन्ने सपना बोकेका धनबहादुर शाही रियल अर्थात् वास्तविक जीवनमा भने सडक छाप बन्न पुगे । उहाँलाई सात कक्षा पढ्दै गर्दा नै कलाकार बन्ने भूत चढ्यो । बुवा काम गर्न कार्यालय गएका बेला बुवाकै ८५ हजार रुपियाँ पैसा लिएर काठमाडौं हानिएका धनबहादुरलाई त्यो बेला लाग्थ्यो, ‘कलाकार त जसरी पनि बनिन्छ, बन्छु नै ।’
हाँसखेल, घुमफिर गर्दै जाँदा चार महिना सहचालकको काम गर्नुभयो । साथीभाइसँग चिनापरिचय बढ्दै गयो । चलचित्र क्षेत्रमा कलाकार बन्ने आशामा सुटिङ प्राविधिकको रुपमा काम गर्नुभयो ।
कुराकानीका क्रममा उहाँले लोक गीतको एक टुक्का गाएर सुनाउनुभयो, “हे..यो मायालाई दुई दिन भेट नहुँदा, डाँडाकाँडा रसायो मन रुँदा, तोरी हरियो....माया लाउनाले बिच परियो....”
ठूलो कलाकार बन्ने सपना सजाउँदै तिनै कलाकारले खाएका जुठो भाँडा उठाउने, सरसफाइ गर्ने काम गरेका तितामिठा अनुभव धेरै छ शाहीसँग ।
उहाँले भन्नुभयो, “सबैले काठमाडौं जाउँ, काठमाडौं जाउँ भने । काठमाडौं जान्छु भन्ने लाग्यो । यतै बस्दा–बस्दा हुर्कियो, काठमाडौंमै मेरो जीवन बित्यो । अहिले त मेरो गाउँभन्दा बढी काठमाडौंकै माया लाग्छ ।” उहाँले छ वर्ष जति मौसम र सिजन अनुसारको ट्रेकिङ क्षेत्रमा पनि काम गरेको बताउनुभयो ।
५६ वर्षीय शाहीको दिन अचेल काठमाडौंस्थित मानव सेवा आश्रममा धूप बत्ती काट्ने जस्ता आफूले जानेको काम गरेर बित्छ । आमा बुवाले संसार छाड्नुभएपछि आफन्त कोही पनि नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बुवा आमा स्वर्गीय हुनुभयो । घरमा सानो बुवा हुनुहुन्छ । कान्छा बाउका छोराहरु छन् । पोखरा जान्छु भन्दा बाटोमा बस दुर्घटना भयो । अनि आश्रमका मान्छेहरुले मलाई उद्धार गरेका रहेछन् । प्रहरीले आश्रममा लिएर आउनुभयो । बास पनि यही छ औषधी पनि लिइरहेको छु ।”