नेभिगेसन मेनु

शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-24 14:13

_DSC3959-Cover

माघ १० गते । सहिद सप्ताहको पहिलो दिन आज (बुधबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, मचलीमा स्मृति सभा आयोजना गरियो । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।

स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भन्नुभयो, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरूले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठुलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।’’ सहिदहरूको बलिदानका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको उहाँको भनाइ थियो । 

बोलेको कसुरमा प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको बलिदानीको सम्मानमा धेरै काम गर्न बाँकी छन् । कार्यक्रममा वडा नं. १२ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, एक दिन कार्यक्रम आयोजना गरेर नपुग्ने धारणा राख्नुभयो ।

महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममाहरुमा सहभागी हुन निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले आग्रह गर्नुभयो । 

कार्यक्रम आयोजना गरिएको स्थानलाई वि। सं। २०३५ सालमा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदहरूको योगदान स्मरण गर्दै, उहाँहरूको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस वर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको  स्थानमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदहरूको पूर्ण कदको सालिक उहाँहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको सालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको सालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।

यस वर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । सङ्घीय मन्त्री तथा प्रदेश मन्त्रीहरू, सांसदसहित उच्च पदस्थ पदाधिकारीहरू प्रभातफेरीमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सिधै सहिद पार्कमा जानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।

शास्त्रीको संक्षिप्त चिनारी

शुक्रराजको जन्म वि। सं। १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपालीभाषीबिच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नुभएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभयो । यस समितिको सदस्यमा गङ्गालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको विरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रूपमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर