नेभिगेसन मेनु

८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-02 12:46

thumb

काठमाडौँ — युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ । २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । 

परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ । ‘जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो,’ बुधबार जारी सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’ यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचितसमेत गरेको छ ।

‘नतिजामा प्रश्न उठेका परीक्षार्थीलाई मात्रै सूचित’ गरिएको बताइए पनि नेपालबाट सहभागी सबैको नतिजा रद्द गरिएको आशंका गरिएको छ । ‘कसैको स्टेप ३, कसैको स्टेप २ र कसैको स्टेप १ मात्र रद्द गरिएको छ । कसैको त तीन वटै रद्द गरिएको छ,’ यूएसएमएलईको तयारी गरिरहेका एक चिकित्सकले भने, ‘परीक्षा दिएका कुनै पनि साथी खुलेर बोल्न चाहिरहेका छैनन्, सबै अन्योलमा छन् ।’

परीक्षामा सामेल भएकाहरू भने अघिल्ला वर्षका प्रश्न संकलन गरेर त्यसैका आधारमा तयारी गरेर परीक्षा दिएकै कारण शंकास्पद देखिएको दाबी गरिरहेका छन् । परीक्षामा सामेल एक चिकित्सकका अनुसार उनको स्टेप २ को परीक्षा नतिजा रद्द भएको इमेल आएको छ । त्यसमा उनको उत्तर र सोही समयमा, सोही परीक्षा केन्द्रमा सहभागी भएका अन्य परीक्षार्थीसँग हुबहु मिलेको आरोप लगाइएको छ । पहिलेकै प्रश्नपत्र यस पटक दोहोरिएको र प्रायः नेपालीले समूहमा अध्ययन गरेका कारण यो समस्या आएको ती चिकित्सकको भनाइ छ । ‘हामीलाई दोष लगाइएको छ, जुन हुँदै होइन,’ उनले भने, ‘हामीले यसअघि आएका प्रश्नलाई आधार मानेर तयारी गरेका थियौं, तिनै प्रश्न आयो भने हाम्रो दोष कसरी भयो ?’

यूएसएमएलईले भने पूर्वपरीक्षाका प्रश्न वा सामग्री कुनै पनि तरिकामा प्रयोग गर्नुलाई ‘गलत क्रियाकलाप’ को संज्ञा दिएको छ । ‘पहिलेका प्रश्नपत्र वा परीक्षा सामग्री खोजी गर्नु, अनलाइन वा व्यक्तिगत रूपमा प्राप्त गर्ने प्रयास गर्नु गलत हो,’ संस्थाले भनेको छ । ‘परीक्षाको समयमा वा परीक्षा सकिएपछि पनि औपचारिक/अनौपचारिक रूपमा परीक्षामा आएका प्रश्नबारे छलफल गर्नु वा सामाजिक सञ्जालबाट साझा गर्नु गलत हो,’ संस्थाले भनेको छ ।

२०१५/१६ मा अमेरिकी लाइसेन्सिङ परीक्षामा सहभागी भएर ३०० मा २४० अंक प्राप्त गरेका एक चिकित्सक भने नेपाली परीक्षार्थीले पहिलेको प्रश्नपत्रबाट मात्रै नभएर ठूलै गडबड गरेको बताउँछन् । नेपालका परीक्षा केन्द्रबाट प्रश्नपत्रको स्क्रिनसट तथा तस्बिर पनि बाहिरिएको उनको दाबी छ । ‘२०१९ भन्दा अगाडि यूएसएमएलई क्लियर गर्न कठिन थियो तर २०२० यता भने तीन–चार महिना पढेर नै साथीहरूले राम्रो अंक ल्याउन थाले । यस पटक त एक जनाले ३०० मा २८९–९० नै ल्याएको सुनेको छु,’ उनले भने, ‘परीक्षामा पाएको अंकअनुसार अस्पतालमा कार्यक्षमता देखाउन नसकेपछि पनि शंकाको ठाउँ बनेको हो ।’

अमेरिकामा कार्यरत एक नेपाली चिकित्सकका अनुसार यो घटना सार्वजनिक भएसँगै यस वर्षको रेसिडेन्सीको म्याचिङ नै रद्द गर्नुपर्ने आवाज उठिरहेको छ । ‘अस्वाभाविक अंक ल्याउनेहरूका कारण यो वर्षको म्याचिङ खारेज गरेर अर्को निकाल्नुपर्ने माग म्याचिङ कुरेर बसिरहेकाहरूको छ,’ उनले भने, ‘यो सानो घटना होइन, यसले दीर्घकालीन असर गर्छ । अमेरिकामा राम्रो गरिरहेका नेपाली चिकित्सकहरूको मनोबलमा यसले ठेस पुर्‍याएको छ ।’ नेपालमा भइरहेको शंकास्पद गतिविधिलाई पत्ता लगाउनकै लागि यूएसएमएलईले यस पटक सोहीअनुसारको प्रश्नपत्र बनाएको हुन सक्ने उनी बताउँछन् । ‘अमेरिकामा अन्य परीक्षामा हुने अनियमितता पत्ता लगाउन यस्तो प्रक्रिया अपनाइन्छ,’ उनले भने, ‘गडबड भएको शंका लागेर त्यसलाई यकिन गर्न नेपालकै लागि भनेर यो पटक विशेष प्रश्नपत्र बनाएको मेरो अनुमान छ ।’

अमेरिकामा चिकित्सकका रूपमा काम गर्न वा अध्ययन गर्न जाने विदेशी विद्यार्थीलाई नियमन गर्ने संस्था ‘एजुकेसनल कमिसन फर फरेन मेडिकल ग्राजुएट्स (ईसीएफएमजी)’ ले स्टेप २ वा स्टेप १ रद्द भएका विद्यार्थीको ईसीएफएमजी प्रमाणपत्र पनि स्वतः रद्द हुने बताएको छ । यसअघि अमेरिकाको रेसिडेन्सी कार्यक्रमका लागि योग्य ठहर भएकाहरू यो निर्णयसँगै अयोग्य हुने भएका छन् । ईसीएफएमजीले यसअघि रेसिडेन्सी कार्यक्रमका साथै रोजगारदाता, अमेरिकी मेडिकल बोर्ड तथा अन्य सम्बन्धित संस्थालाई ‘योग्य’ भनी पठाएको सूचनालाई रद्द गरिएको जानकारीसमेत दिने भएको छ । यसले ईसीएफएफजी प्रमाणपत्रका आधारमा अमेरिकामा जे–१ भिसा प्राप्त गरेकाहरूको भिसा स्टेटसमा प्रभाव पर्नेछ । तर, यूएसएमएलईको स्टेप ३ परीक्षाको मात्रै नतिजा रद्द भएकाको ईसीएफएफजी प्रमाणपत्र भने कायम नै रहने बताइएको छ ।

यूएसएमएलई दिनेहरूका लागि तयारी कक्षा सञ्चालन गर्न डा. कोनार्ड फिसरले यस विषयमा नेपाल सरकार र अमेरिकी सरकारले मिलेर अनुसन्धान गर्नुपर्ने सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर