नेभिगेसन मेनु

साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-21 11:58

Untitled-1

मङ्सिर ५ गते । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।

‘एक घर एक धारा’ अवधारणा अनुसार २०५ घरलाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका सबै विद्यालय, सामुदायिक संस्था र व्यक्तिगत गरी २२१ वटा धारा जडान गर्ने योजना रहेको छ ।

दिगो विकास लक्ष्यको बुँदा नम्बर ६ सँग आधारित भई ‘एक घर एक धारा’ अभियान अन्तर्गत आयोजना निर्माण सुरु भएको भन्दै सूचना अधिकारी भुजेलले साझेदारीमा खानेपानी योजना निर्माण सम्पन्नपश्चात् थाहा नगरपालिकामा हस्तान्तरण हुने बताउनुभयो । 

अधिकांश तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा आयोजना सञ्चालन हुन लागेको हो । लिती, नयाँ बस्तीलगायत वडा नं. १२ का बासिन्दा लाभान्वित हुने गरी निर्माणाधीन आयोजनाको निर्माण लागत थाहा नगरपालिका, च्वाइस नेपाल र स्थानीय जन श्रमदान गरी दुई करोड ५९ लाख ९० हजार ५०८ रुपियाँ रहेको छ । दुई आर्थिक वर्षमा थाहा नगरपालिकाको कुल ६० लाख रुपियाँ लागत साझेदारी रहने भएको छ ।

च्वाइस नेपालको थाहा नगरपालिकास्थित साइट कार्यालयका व्यवस्थापक प्रताप घिमिरेका अनुसार लिती खानेपानी आयोजनाका लागि स्थानीय मेल खोलानजिक रहेको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिने छ । उहाँले आयोजनाबाट स्वास्थ्य संस्था र विद्यालयमा समेत खानेपानी धारा जडान गरिने बताउँदै लिती, आधामार, नयाँ घरटोललगायतका क्षेत्रमा वितरण गरिने खानेपानी आयोजनामा थप धारा जडानका लागि माग आएकाले अहिले प्रस्तावितभन्दा धारा जडान सङ्ख्या थपिन सक्ने बताउनुभयो । नागदहमा खानेपानी सङ्कलन गर्ने गरी ट्याङ्की निर्माण सुरु भएको छ ।

च्वाइस नेपालले नगरपालिकासँगको सहकार्यमा धादिङ जिल्लाको सिमाना थाहा–१२, सलमपुरस्थित खानेपानी आयोजनाबाट १८ घरधुरी, वडा नं. ६ मा तिनाल खानेपाली आयोजनाबाट १५१ घरधुरी र वडा नं. ८ दामगाँडेस्थित खानेपानी आयोजनाबाट १६५ घर लाभान्वित हुने गरी खानेपानी योजना निर्माणको काम 

गरिरहेको छ ।

थाहा नगरपालिकाको सलमपुरस्थित खानेपानी आयोजनामा १५ लाख, तिनाल खानेपाली आयोजनामा १० लाख र दामगाँडेस्थित खानेपानी आयोजना ६० लाख रुपियाँ लागत सहभागिता रहेको छ ।

च्वाइस नेपालले थाहा नगरपालिकाको ५० लाख रुपियाँको लागत सहभागितामा थाहा नगरको चित्लाङमा स्वास्थ्य चौकी निर्माण गरिरहेको छ ।

च्वाइस नेपालको साइट कार्यालयका व्यवस्थापक घिमिरेले खानेपानी आयोजनामा यातायातको सुविधा नभएको स्थानमा उपभोक्ताले खानेपानी आयोजनाका पाइपलगायतका सामग्री ओसार्ने, पाइप गाड्ने, खन्ने, पुर्नेलगायतका कार्यमा स्थानीयले श्रमदान गर्नुपर्ने गरी आयोजनाको प्रारूप तयार भएको र स्थानीय श्रमदानमा जुट्ने गरेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर