महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्यो । टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्या आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गर्यो ।
सञ्जयले आफूले नै भाउजूको हत्या गरेको मात्र स्वीकार गरेनन्, समाजलाई झस्काउने सोच सार्वजनिक गरे । शिलाले दिएको केरा खाँदा आफ्नी श्रीमतीको गर्भमा रहेको बच्चा तुहिएको र धामीलाई देखाउँदा ‘तिम्री भाउजू बोक्सी’ बताएपछि हत्या गरेको बयान दिएका थिए ।
प्रहरीले घटनाको प्रतिवेदनमा समेत बोक्सी आरोपमा भाउजूको हत्या गरेको भनेर उल्लेख गरे पनि मृतक शिलाका छोरा राहुलकुमार झालाई भने कर्तव्य ज्यान मुद्दामा मात्र जाहेरी दिन लगाइयो । प्रहरीले यो घटनामा धामीलाई अनुसन्धानमा तानेन ।
मुद्दामा प्रहरीको प्रतिवेदन, आरोपीको बयानलगायतका विभिन्न सबुत हुँदाहुँदै ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’ शीर्षकमा मात्र मुद्दा विचाराधीन छ । जिल्ला अदालत महोत्तरीले २२ जेठ ०८० मा साक्षी बुझ्ने आदेश दिएको छ । अदालतले मुद्दालाई हालसम्म तीनपटक पेसी र ६ पटक तारेखमा राखिसकेको छ ।
शिलाको हत्या भएकै दिन २८ असोज बिहीबार साँझ औरही नगरपालिका–९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई मलमूत्र खुवाएर कुटपिट गरियो । स्थानीय रामकलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाएर कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपाट कसुरमा किटानी जाहेरी दिए । तर, प्रहरीले अगलेसराकी रामशिलादेवी मण्डललाई तत्काल पक्राउ गरे पनि थप आरोपी रामतलेवर मण्डल, अकवर बैठा, सोनेलाल मण्डल, रामउदय मण्डल भन्ने रामउदेश मण्डल, हासिम बैठा, शान्ति मण्डल, दुखनी मण्डल र कृष्णा मण्डल फरार भए ।
प्रहरीले जाहेरीका आधारमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर ग¥यो । मुद्दा अदालतमा पुगेपछि आरोपीहरू हाजिर हुँदै धरौटीमा छुट्दै गए । अझै अदालतले मुद्दालाई तारेखमा राखेको छ । पीडक पक्षबाट धम्की आइरहेको र बोक्सीको आरोपमा मानसिक तनाव दिइरहेको पीडित झवसी ठाकुर बताउँछन् । ‘तिमीले हामीलाई जेलमा हाल्ने ? मुद्दा किनारा लागेपछि तिमीसँग हिसाब गर्छौँ’ भनेर धम्की दिने गरेको झवसीले बताए ।
तत्कालीन सिमरदही गाउँ पञ्चायत– २ (हालको मटिहानी नगरपालिका– ९) निवासी रामलखन साहकी श्रीमती मरनीदेवीको चर्चित बोक्सी काण्डपछि सरकारले ६ असार ०५८ मा बोक्सी आरोपमा चरम यातनाविरुद्ध कानुन बनाएर कार्यान्वयनमा त ल्यायो । तर, बोक्सी आरोपमा कुटपिट, यातना, मलमूत्र खुवाउनेदेखि हत्यासम्मका घटना अझै कायमै छन् ।
बोक्सी आरोपका घटना बढेपछि सरकारले पछिल्लोपटक अझ कडा कानुनी व्यवस्था लागू गरेको छ । बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ ।
पाँच वर्षमा बोक्सी आरोपका दुई सय ३३ उजुरी दर्ता भएका छन् । यी घटनामा दुई सय ६२ पीडित छन् भने सात सय ७६ पीडक छन् । यो नेपाल प्रहरीको आव ०७५/७६ देखि ०७९/८० सम्मको तथ्यांक हो ।
सबैभन्दा बढी घटना मधेसमा भएका छन् । मधेसमा पाँच वर्षमा बोक्सी आरोपका एक सय २३ मुद्दा दर्ता भएका छन् जुन देशभरको ५२ प्रतिशत हो । यही अवधिमा मधेसमा बोक्सी आरोपमा एक सय ३४ पीडित भएका छन्, जसमा एक बालिका, एक सय २७ महिला र ६ पुरुष छन् ।
अधिवक्ता रिंकुकुमारी यादव विभिन्न बहानामा महिलालाई लक्षित गरेर यातना दिने काम भइरहेको बताउँछिन् । ‘सरकारले कानुन त ल्याएको छ, तर परिपालना भएको छैन,’ उनले भनिन् ।