बिरामीको उपचार सहज बनाउन निजामती कर्मचारी (सिभिल) अस्पतालले करोडौँमा खरिद गरेका उपकरण वर्षौँदेखि स्टोरमै थन्क्याएको छ । सात महिनाअघि ६ करोडमा खरिद गरेको इन्टेरोस्कोपी मेसिनदेखि शिशुको उपचारका लागि तीन वर्षअघि एक करोड ८० लाखमा ल्याइएका भेन्टिलेटर प्रयोगविहीन छन् ।
भटाभट उपकरण खरिद गर्ने, तर प्रयोग नगर्ने बेथिति मात्रै होइन सिभिलमा खरिद गरिएका उपकरणमा पनि आर्थिक चलखेल भएको आशंकामा छानबिन चलिरहेको छ । एक महिनाअघि २२ करोडमा किनेको एमआरआई मेसिन ‘सेकेन्डह्यान्ड’ रहेको आशंकामा छानबिन थालिएको हो । नयाँ एमआरआई मेसिन खरिदका लागि टेन्डर भएको थियो । त्यति मात्रै होइन, डेढ वर्षअघि पाँच करोडमा निर्मित कोभिड वार्ड भवन पनि अलपत्र परेको छ । हतारमा निर्माण गरिएको सो भवन कमसल रहेको भन्दै अस्पतालले त्यहाँ अन्य वार्ड सञ्चालन नगरेको हो ।
नयाँ सामान नै कबाडी बनाउँदै लगेको अस्पतालले परिसरमा वर्षौँदेखि थन्किएका कबाडी सामानको व्यवस्थापन पनि गरेको छैन । अस्पतालपरिसरभित्र १५ वर्षदेखि कबाडी सामान थन्किएका छन् ।
सिभिलले नवजात शिशुको उपचारका लागि एनआइसियू (नवजात सघन हेरचाह इकाइ) बेड सञ्चालन गर्न तीन वर्षअघि एक करोड ८० लाखमा तीनवटा भेन्टिलेटर मेसिन खरिद गरेको थियो । स्टोरमा मेसिन थन्किँदा डेलिभरी केस जटिल भएर जन्मिएका नवजात शिशुलाई उपचारका लागि अन्यत्रै लैजानुपर्ने बाध्यता छ । हाल अस्पतालमा एनआइसियू र पिआइसियू (बाल चिकित्सा सघन हेरचाह इकाइ) कक्ष नै छैन । सामान्यतया एक महिनाभित्रका नवजात शिशुलाई नवजात सघन हेरचाह इकाइ र एक महिनादेखि १८ वर्षसम्मका बालबालिकालाई बाल चिकित्सक सघन हेरचाह इकाइमा उपचार गरिन्छ । डेलिभरी सुविधा भएका अस्पतालमा शिशुको उपचार कक्ष पनि हुनुपर्छ । तर, निजामती अस्तालमा यस प्रकारको सुविधा छैन ।
निजामती अस्पतालमा डेलिभरीका लागि दैनिक १०–१२ जना पुग्छन् । तर, डेलिभरी भइसकेपछि शिशुको स्वास्थ्यमा समस्या आएमा उपचारका लागि ठाउँ छैन । अस्पतालले तीन वर्षअघि खरिद गरेको मेसिन थन्क्याएर राख्दा नवजात शिशुको उपचारमा समस्या भइरहेको निजामती कर्मचारी अस्पताल कर्मचारी टे«ड युनियनका अध्यक्ष सन्तोष धिमालले बताए । उनले अस्पताल प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि त्यसबारे चासो नदिएको बताए । ‘अस्पतालमा सबैखाले उपचार हुने सुविधा करिब–करिब छ, तर बच्चाको उपचार सुविधा निकै साँघुरो छ,’ उनले भने, ‘करोडौँमा खरिद गरिएका उपकरण थन्क्याएर राखिएको छ ।’
मेसिन खरिद गरेर सञ्चालनमा नल्याएको भन्दै दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । तर, हालसम्म अख्तियारले छानबिन अघि बढाएको छैन । अस्पतालका निर्देशक विधाननिधि पौडेलले ठाउँ नभएका कारण मेसिन राख्न समस्या भएको बताए । उनले सो मेसिन आफू आउनुअघि नै खरिद गरेको बताउँदै त्यसलाई सिफ्ट गर्ने तयारी भएको दाबी गरे । ‘हामीकहाँ डेलिभरी सुविधा छ, तर शिशुको उपचारका लागि एनआइसियू र पिआइसियू कक्ष छैन, अब दुवै कक्षमा पाँच–पाँचवटा भेन्टिलेटरसहित पिआइसियू र एनआइसियू सेवा सुरु गर्छौँ,’ उनले भने ।
वरिष्ठ बाल छातीरोग विशेषज्ञ जगतजीवन घिमिरेले अन्य उमेर समूहका मानिसको उपचारमा केही सहजता भए पनि शिशुको उपचारमा अस्पतालहरूले हेलचेक्र्याइँ गर्दै आइरहेको बताए । शिशुको उपचारका लागि उपकरण खरिद गर्ने, तर पिआइसियू र एनआइसियू कक्ष नराख्दा उपचारमा समस्या हुने गरेको उनले बताए । ‘एनआइसियू नभएको ठाउँमा डेलिभरी गर्न पाइँदैन, यसो गर्नु अपराध हो,’ उनले भने, ‘बालबालिका र नवजात शिशुको उपचारसँग सम्बन्धित हाम्रो स्वास्थ्य संरचना निकै कम छ ।’
६ करोडमा सात महिनाअघि किनिएको इन्टेरोस्कोपी मेसिन पनि अलपत्र
सानो आन्द्राको विशेष इन्डोस्कोपी गरिने इन्टेरोस्कोपी मेसिन पनि अस्पतालको स्टोरमै छ । ६ करोडमा खरिद गरिएको उक्त मेसिनका लागि चाहिने अन्य सामान आइनपुगेकाले प्रयोग गर्न नसकिएको अस्पतालको दाबी छ ।
अस्पताल निर्देशक पौडेलका अनुसार खरिदका क्रममा ल्याइएका चारमध्ये तीन मेसिन सञ्चालनमै रहेको, तर इन्टेरोस्कोपीका लागि चाहिने अन्य सामान भने नआइपुगेकाले प्रयोग गर्न नसकिएको बताए । ‘मेसिन खरिद गर्दा हामीलाई अन्य पार्टहरू पनि चाहिन्छन् भन्ने विषयमा सप्लायर्सले केही भनेको थिएन । यो मेसिनसँगै एनेस्थेसिया र अन्य मेसिनहरू पनि आवश्यक हुन्छ भन्ने पछि मात्रै थाहा भयो । नेपालमा स्पाइरल इन्टेरोस्कोपी मेसिन एकदमै कम मात्रै प्रयोगमा आउने भएकाले त्यसबारे धेरै जानकारी नभएको हो । थाहा भएपछि भने थप मेसिन खरिदका लागि हामीसँग बजेट नभएकाले कम्पनीसँग अनुदानका लागि आग्रह गरेर ल्याउने तयारी गरेका छौँ,’ उनले भने । आवश्यक थप मेसिन आगामी अप्रिलसम्म आइपुग्ने उनको दाबी छ ।
मेसिन सञ्चालनमा ल्याए पनि यसको प्रयोग कम हुन सक्ने उनले बताए । ‘यो मेसिनबाट गरिने सानो आन्द्राको जाँच एकदमै महँगो छ । निजी अस्पतालहरूले यो जाँचका लागि एक लाख २५ हजारदेखि एक लाख ३० हजारसम्म शुल्क लिइरहेका छन्,’ उनले भने, ‘हाम्रोमा सञ्चालनमा ल्याएपछि कति शुल्क राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
चीनले चिरिच्याट्ट पारिदियो, सञ्चालनमा हेलचेक्र्याइँ
निजामती अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । ०६४ मा पहिलोपटक दुईवटा ब्लक निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको चीनले पछि उसकै आर्थिक र प्राविधिक सहयोगमा बाँकी संरचना निर्माण गरिदिएको थियो । हाल नयाँ एउटा र पुराना दुईवटा भवनको मर्मत सकिएको छ । तीनवटै भवनमा नयाँ बेड र सबैखाले सामान जडान गरिएको छ ।
आफ्नै लागत र प्राविधिक खर्चमा चीनले चिरिच्याट्ट पारिदिएको अस्पतालको उचित मर्मतसम्भार र रेखदेख नहुँदा बिग्रिँदै गएको छ । यसपटक पनि चाइनाले पुनः अस्पताल मर्मत गरिदिएको छ । नयाँ बेड र बिरामी राख्ने कक्षमा आवश्यक पर्ने सबैजसो सामग्री जडान गरिदिएको छ । तर, अस्पतालले सञ्चालनमा ध्यान नदिँदा संरचना बिग्रने समस्या देखिएको निजामती कर्मचारी अस्पताल ट्रेड युनियनका संयोजक सन्तोष धिमालले बताए । ‘अस्पताल अहिले चिटिक्क बनेको छ, तर यसको सञ्चालन र सदुपयोगमा अस्पताल प्रशासन जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘विगतमा चासो नदिँदा अस्पतालमा सामानहरू टुटफुट भएका छन् ।’
१५ वर्षदेखि थन्किएका पुराना सामान लिलामी नगर्दा भद्रगोल
१५ वर्षदेखि थन्किएका पुराना सामानको व्यवस्थापन नगर्दा अस्पतालको बाहिरी भाग नै अव्यवस्थित बनेको छ । पुराना उपकरण तथा प्रयोग भएर काम नलाग्ने अवस्थामा पुगेका सामान जथाभावी फाल्दा अस्पतालबाहिरै कबाडी सामान छरिएका छन् ।
पुराना एक्सरे मेसिन, बेड, कुर्सी, पंखालगायतका सामान छरपस्ट छाडिएको छ । पुराना र मर्मत नगरी अस्पतालको बाहिरपट्टि फालिएका उपकरण लिलाम गर्नेबारे अस्पतालले प्रक्रिया अघि बढाएको छैन । अस्पताल निर्देशक पौडेलले १५ वर्षदेखिका कबाडी सामान लिलाम गर्न झन्झट भएकाले थन्किएको जवाफ दिए ।
तीन भेन्टिलेटर गोदाममा, नवजात शिशुलाई उपचारका लागि अन्यत्रै लैजानुपर्ने बाध्यता
सिभिलले नवजात शिशुको उपचारका लागि एनआइसियू (नवजात सघन हेरचाह इकाइ) बेड सञ्चालन गर्न तीन वर्षअघि एक करोड ८० लाखमा तीन भेन्टिलेटर मेसिन खरिद गरेको थियो । स्टोरमा मेसिन थन्किँदा डेलिभरी केस जटिल भएर जन्मिएका नवजात शिशुलाई उपचारका लागि अन्यत्रै लैजानुपर्ने बाध्यता छ ।
हाल अस्पतालमा एनआइसियू र पिआइसियू (बाल चिकित्सा सघन हेरचाह इकाइ) कक्ष नै छैन । तर, अस्पतालमा डेलिभरीका लागि दैनिक १०–१२ जना पुग्छन् । डेलिभरी सुविधा भएका अस्पतालमा शिशुको उपचार कक्ष पनि हुनुपर्छ । तर, निजामती अस्पतालमा यस प्रकारको सुविधा छैन । सामान्यतया एक महिनाभित्रका नवजात शिशुलाई नवजात सघन हेरचाह इकाइ र एक महिनादेखि १८ वर्षसम्मका बालबालिकालाई बाल चिकित्सक सघन हेरचाह इकाइमा उपचार गरिन्छ । तर, डेलिभरी भइसकेपछि शिशुको स्वास्थ्यमा समस्या आएमा उपचारका लागि ठाउँ छैन । मेसिन खरिद गरेर सञ्चालनमा नल्याएको भन्दै दुई महिनाअघि अख्तियारमा उजुरीसमेत परेको छ । अस्पतालले भएका मेसिनसमेत प्रयोगमा नल्याउँदा नवजात शिशुको उपचारमा समस्या भइरहेको अस्पतालको कर्मचारी टे«ड युनियनका अध्यक्ष सन्तोष धिमालले बताए ।
तर, अस्पतालका निर्देशक विधाननिधि पौडेल भन्छन्–मेसिन म आउनुअघि नै खरिद गरिएको हो, त्यसलाई सिफ्ट गर्ने तयारी थालेका छौँ । हामीकहाँ डेलिभरी सुविधा छ, तर शिशुको उपचारका लागि एनआइसियू र पिआइसियू कक्ष छैन, अब दुवै कक्षमा पाँच–पाँचवटा भेन्टिलेटरसहित पिआइसियू र एनआइसियू सेवा सुरु गर्छौँ ।
२२ करोडमा किनिएको एमआरआई मेसिन ‘सेकेन्डह्यान्ड’ भएको आशंकामा छानबिन सुरु
सिभिल अस्पतालले पुरानो मेसिन बिग्रिएको भन्दै एक महिनाअघि २२ करोडमा खरिद गरेको एमआरआई मेसिन सेकेन्डह्यान्ड भएको आशंका गर्दै प्राविधिक जाँच र छानबिन थालिएको छ । जर्मनीबाट ल्याइएको सो मेसिन नयाँ नभएको प्राविधिकले बताएपछि अस्पताल प्रशासनले ल्याब टेक्निसियन र इन्जिनियरको टोलीलाई अध्ययन र छानबिन गर्न लगाएको हो । एक महिनाअघि काठमाडौं मेडिकल कलेज, नोबल अस्पताल र निजामती अस्पतालले एकै चरणमा एमआरआई मेसिन खरिद गरेका थिए । ‘हामीले ठेकेदारलाई पूरा भुक्तानी गरेका छैनौँ, छानबिन र मूल्यांकन सकिएपछि मात्रै रकम भुक्तानी गर्छौँ,’ अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले भने, ‘पुरानो मेसिन रहेछ भने भुक्तानी दिँदैनौँ, मेसिन फिर्ता गरिदिन्छौँ ।’ खरिद गरिएको उक्त मेसिन सिमिन्स कम्पनीको हो ।
पाँच करोडमा निर्मित कोभिड भवन पनि कमजोर रहेको भन्दै प्रयोग गरिएन, अख्तियारमा उजुरी
सिभिलले कोभिडका बिरामीको उपचार गर्न डेढ वर्षअघि पाँच करोडमा बनाएको भवन पनि अलपत्र परेको छ । बेसमेन्ट र जग निर्माणविनै हतारमा ठड्याइएको भवन कमजोर रहेको भन्दै अस्पतालले त्यहाँबाट कुनै सेवा सञ्चालन गरेको छैन । कोभिडको संक्रमणदर कम हुँदै गएको वेला ०७८ वैशाखदेखि भवन निर्माण सुरु गरेर भदौभित्र पाँच महिनामै तयार पारिएको थियो । तर, त्यतिवेला भवन बनाउँदा सरकारी प्रक्रिया पूरा नगरेको र अनियमितता भएको भन्दै एक महिनाअघि अस्पतालकै कर्मचारीले अख्तियारमा उजुरी पनि गरेका छन् । अस्पताल निर्देशक पौडेलले हतारमा निर्माण गर्दा त्रुटि भएको हुन सक्ने बताए । ‘हामीले कोभिड संक्रमणदर बढेको वेला सो भवन निर्माण गरेका हौँ, त्यतिवेला कसरी बिरामीको सहज उपचार गर्ने भन्नेमा ध्यान थियो, भवन निर्माणमा त्रुटि भएको हुन सक्छ,’ उनले भने । तर, सो भवन चाइनाले मर्मत गरिदिने सहमति जनाएको उनको दाबी छ ।